बेलायतले गोर्खा सैनिकमाथि गरेको विभेद अन्त्यका लागि सरकारले पहल गरोस् : भट्टराई

 माघ २५, २०७५ शुक्रबार ११:५९:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद योगेशकुमार भट्टराईले बेलायत सरकारले गोर्खा सैनिकमाथि गरेको विभेद अन्त्य गर्न तत्काल पहल गर्न सरकारसँग माग गर्नु भएको छ । 

सांसद भट्टराईले गोर्खा सैनिकलाई दिने तलब, भत्तालगायतको सुविधामा समेत बेलायत सरकारले विभेद गरिरहेको उल्लेख गर्दै तत्काल त्यो समस्या समाधान गर्न सरकारसँग माग गर्नु भएको हो । 

शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उहाँले बेलायती सेनामा भर्ना भएका गोर्खा सैनिकहरुमाथि भएको विभेद अन्त्यका लागि तत्काल उच्चस्तरीय वार्ता समिति गठन गरी द्विपक्षीय वार्ता गरेर त्यो समस्या समाधान गर्न पनि सरकारलाई सचेत गराउनुभयो । 

सन् १९९३ अघि गोर्खा सैनिकमा भर्ना भएका र सन् १९९७ अघि ब्रिटिस सेनाबाट सेवा निवृत्त भएकाहरुलाई बेलायत सरकारले पेन्सनलगायतका सुविधामा पनि विभेद गरेकाले त्यसको अन्त्यका लागि सरकारले उच्चस्तरीय वार्ता समिति गठन गरी समस्या समाधानका लागि पहल गर्नुपर्ने सांसद भट्टराईको भनाई छ ।

सांसद भट्टराईले ब्रिटिस सेनामा रहेका गोर्खा सैनिकहरुको समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पहल गर्दै आए पनि त्यो पर्याप्त नभएको पनि स्मरण गराउनुभयो । 

उहाँले बेलायती सेनामा नेपाली महिलालाई पनि भर्ना गर्ने लगायतका विषयमा पनि आवश्यक छलफल गरी बेलायत सरकारसँग समझदारी गर्न पनि सरकारलाई सुझाव दिनुभयो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया