किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गरिदिए हुन्छ : त्रिपाठी

 माघ २५, २०७५ शुक्रबार १२:१७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सांसद हृदयश त्रिपाठीले किसानको हितमा काम नगर्ने कृषि मन्त्रालय खारेज गर्नु माग गर्नुभएको छ ।  

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्न सुरु गरेका त्रिपाठीले बिचौलियाकै पक्षमा काम गर्ने मन्त्रालयको आवश्यकता नरहेको बताउनुभयो ।   

उखु उत्पादक किसानले अझैसम्म भुक्तानि पाउन नसकेको भन्दै उहाँले सरकार जसको भए पनि देशका किसानहरु राज्यबाट सँधै उपेक्षित हुँदै आउनुपरेको बताउनुभयो । 

सरकारले गएको वर्ष उखु खरिद समर्थन मूल्य तोकेर किसानले त्यसै अनुरुप चिनी मिललाई उखु विक्रि गरेको भए पनि मिलहरुले अझैसम्म पनि भुक्तानि नदिएर समस्यामा पारेको बताउनुभयो ।  

सरकार र चिनी उद्योगीको लडाइँमा उखु उत्पादक किसानहरु मर्कामा परेको भन्दै त्रिपाठीले यो लडाइले झण्डै ७० प्रतिशत उखु किसानहरुले गएको वर्षको भुक्तानि पाउन नसकेको उल्लेख गर्नुभयो । 

सरकारको कारण यस वर्ष चिनी मिलहरु १ महिना ढिला गरी चलेको भन्दै यो ढिलाइले आगामी जेठ असारमा चिनीको अभाव देखिने उहाँले दाबी गर्नुभयो । चिनीको अभाव देखाएर फेरि पनि आयात गर्ने चलखेलमा सरकार र व्यवसायी नै लाग्ने र किसान सधैँ मर्कामा परिरहने उहाँको जिकिर थियो । 

सरकारले सँधै बिचौलियाहरुको पक्ष पोषण गरेको र त्यो क्रम अहिले पनि जारी रहेको भन्दै उहाँले उखु उत्पादकहरु हैरान र बिचौलियाहरु भने मालामाल हुँदै गएको बताउनुभयो । 

राजनीतिक दलको पनि ध्यान त्यसतर्फ जान नसकेको भन्दै उहाँले कांग्रेस  मध्यमवर्गीयहरुको पार्टी र नेपाल कम्युनिष्ट पार्टी सर्वहाराहरुको भएकाले किसानको समस्यामा कसैको ध्यान जान नसकेको होला भन्दै व्यङ्ग्य गर्नुभयो ।  
 

अन्तिम अपडेट: चैत २६, २०८०

तपाईको प्रतिक्रिया