३६ वर्षपछि विश्वकपमा फर्किएको पेरुले उपाधि होडमा रहेको फ्रान्सलाई रोक्ला त ?

 असार ७, २०७५ बिहिबार १४:५३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको उपाधि दावेदारमध्येको एक फ्रान्सले समूह बीको आफ्नो दोस्रो खेलमा आज दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पेरुसँग खेल्दैछ ।

अष्ट्रेलियालाई हराएर सुखद सुरुवात गरेको फ्रान्स पेरुविरुद्ध जित हासिल गरी नकआउट चरणमा पुग्ने बाटो सहज बनाउन चाहन्छ । यता सुरुवाति खेलमा पेनाल्टी मिस गरेपछि डेनमार्कसँग हार्न पुगेको पेरु पहिलो जितको खोजीमा हुनेछ ।
 
डिफेन्डर रफायल भारानेका अनुसार अष्ट्रेलियाविरुद्धको सहज जितका कारण उत्साही रहेको फ्रान्स दोस्रो खेलमा पेरुको सामना गर्न तयार छ ।
 
गत साता काजान एरिनामा अष्ट्रेलियाविरुद्ध २–१ गोलको जितका बाबजुद विश्वकपकै दावेदार टोलीका रुपमा हेरिएको फ्रान्सको प्रदर्शन वाह... भन्ने खालको चाहिँ देखिएन ।
 
सन्तुलित अष्ट्रेलियाली टोलीविरुद्धको फ्रान्सको प्रदर्शन सुस्त थियो । सौभाग्यवश भिडियो असिस्टेन्ट रेफ्रीले दिएको पेनाल्टीमा एन्टोइन ग्रिजम्यानले गोल गरे र खेलको अन्त्यतिर आत्मघाती गोल उपहार पायो ।
 
जितका बाबजुद पनि फ्रान्सेली टोलीको प्रदर्शनमा प्रश्न उठेको हो । फ्रान्सेली सेन्टरब्याक रफायल भारानेले भनेका छन् कि डिडियर डेसच्याम्पको टोलीले पेरुविरुद्ध इकाटिनवर्ग एरिनामा उत्कृष्ट प्रदर्शन गर्नुपर्नेछ ।
 
‘हाम्रो पहिलो खेलमा केही कुराहरु राम्रो भएको थिएन ।’ भारानेले पत्रकार सम्मेलनमा भने, ‘हामीले आफ्नो तीव्रतामा सुधार गर्नुपर्छ र सामूहिक भावनामा । हामी प्रतियोगिताको सुरुवाति अवस्थामै छौँ, हामीले परिस्थितिलाई नाटकीय बनाउनु जरुरी छैन र, हामी यी कुराहरुमा सजग रहनुपर्छ जुन अघिल्लो खेलमा त्यति राम्रोसँग भएको थिएन ।’
 
‘हामीले आफ्नो आकलन गरेका छौँ, हामीले खेलाडीहरुबीच कुराकानी गरेका छौँ, प्रशिक्षकसँग कुराकानी गरेका छौं । हामीले जानेका छौं कि अघिल्लो म्याचका लागि के गर्नुपर्छ ।’
 
फ्रान्सका अर्का डिफेन्डर बेन्जामिन पाभार्डले टिमको प्रदर्शनप्रतिका चिन्ता हल गर्ने प्रयास गरे । फिफा डट कमसँगको कुराकानीमा उनले भने, ‘हामीसँग कुनै विशेष दबाब छैन । उनीहरुले आफ्नो पहिलो खेल गुमाएका छन्, त्यसैले हामीभन्दा उनीहरु बढी दबाबमा हुनेछन् ।’
 
पेरु ३६ वर्षसम्मको असफलतापछि विश्वकपमा फर्किएको थियो र पहिलो खेलमा उसले डेनमार्कसँग १–० को पराजय ब्यहोरेको थियो । पहिलो हाफमा पेनाल्टी अवसर खेर फालेको दक्षिण अमेरिकी टोली पेरुले त्यसको सजाय तुरुन्तै पायो र डेनिस टोलीबाट १–० को पराजय ब्यहोर्यो ।
 
विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता सुरु हुनुअघि रिकार्डो ग्यारिकाको टोली पेरुको कुनै आदर्श योजना थिएन । यद्यपि उसका लेफ्ट ब्याक मिगुयल ट्राउकोका अनुसार उनको टोली दुनियाँकै सर्वश्रेष्ठ टोलीलाई हराउने क्षमता राख्छ ।
 
उनले भने, ‘हामीले ती पक्षहरुलाई सुधार गर्नुपर्छ जसले हामीलाई नोक्सान गर्नेछ । हाम्रो सबैभन्दा ठूलो विश्वास के हो भने हामी राम्रो फुटबल खेल्छौं र जुनसुकै टोलीसँग कम्पिट गर्ने सामथ्र्य राख्छौं ।’

म्याच फ्याक्ट्स

–  पेरु र फ्रान्स यसअघि मात्र एक पटक आमने सामने भएका छन् । सन् १९८२ मा भएको मैत्रीपूर्ण खेलमा पेरुले फ्रान्सलाई १–० ले हराएको थियो ।
 
– सन् १९७८ मा अर्जेन्टिनासँग पराजित भएयता फ्रान्सले अहिलेसम्म विश्वकपमा दक्षिण अमेरिकी टोलीसँग पराजित हुनु परेको छैन । ३ जित र चार बराबरी खेलेको छ ।
 
– पेरुले विश्वकपका पछिल्ला ७ खेलमा जित हासिल गर्न सकेको छैन । २ बराबरी र ५ हार ब्यहोरेको छ ।
 
– फ्रान्सले विश्वकप र युरोकप अन्तर्गतका खेलमा गरेको पछिल्ला १३ गोलमध्ये ९ गोलमा एन्टोइन ग्रिजम्यानको संलग्नता छ । ७ गोल उनी आफैंले गरेका छन् भने २ गोलमा पास उपलब्ध गराएका छन् ।

प्लेयर्स टू वाच

केलियन एमबाप्पे - फ्रान्स
 
पेरिस सेन्ट जर्मेइनका उदाउँदा सुपरस्टार केलियन एमबाप्पे अष्ट्रेलियाविरुद्धको खेलमा त्यति प्रभावकारी देखिएनन् । यद्यपि खेलमा संघर्ष गर्ने उनी एक्ला फ्रान्सेली थिएनन् ।
 
तीव्र गतिमा आफ्नो पहिचान बनाएको पेरुलाई रोक्न र गोल गर्न यी १९ वर्षीय युवालाई अझै धेरै स्पेसको आवश्यकता छ ।
 
एक वर्षअघि फ्रान्सको राष्ट्रिय टोलीबाट डेब्यू गरेका एमबाप्पेले १६ खेलमा ४ गोल गरेका छन् ।

पाओलो गुएरेरो - पेरु

डोपिङ प्रकरणबाट सफाइ पाएपछि रुसमा खेल्न योग्य हुँदाहुँदै पनि पाउलो गुएरेरोलाई आश्चर्यजनक रुपमा डेनमार्कविरुद्धको खेलमा बेञ्चमा राखियो । पेरुका सर्वकालीन सर्वाधिक गोलकर्तालाई ६२औं मिनेटमा मैदान छिराइयो, र उनले तत्काल प्रभाव पारे । यद्यपि उनले गोल गर्न सकेनन् र पेरु पराजित भयो ।
 
उपाधि दावेदार फ्रान्सविरुद्धको खेलका लागि उनी सुरुवाती एघारमा पर्ने अपेक्षा गरिन्छ ।
 
३४ वर्षीय यी स्ट्राइकरले सन् २००४ मा पेरुको टिमबाट डेब्यू गरेयता ८९ खेलमा ३४ गोल गरेका छन् ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया