नेपालमा कतारको लगानी : नेपालीको पसिनाको गुन कि व्यापारिक स्वार्थ मात्रै ?

 माघ २५, २०७५ शुक्रबार १३:५८:२३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्नको लागि कतारले ठूलाठूला रंगशाला बनाइरहेको छ । मर्मत र नयाँ बन्ने गरी १२ वटा रंगशालाको काम भैरहेको छ । धेरैजसो स्टेडियममा नेपाली कामदारले रातदिन काम गरिरहेका छन् । 

नेपाली कामदारको सुरक्षामा ध्यान नदिएको र कम पारिश्रमिकमा कतारले काम लगाइरहेको भनेर गएको वर्ष अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ संस्थाहरुले विरोध पनि गरेका थिए । 

त्यो घटनापछि नेपाल र कतारबीचको सम्बन्धमा असामान्य अवस्था देखिएको थियो । तर केही दिनमै समस्या समाधान भयो । कतारसँगको सम्बन्ध छिट्टै सुमधुर हुनुको एउटा कारण थियो, कतारले एउटा स्टेडियमका सामग्री नेपाललाई दिने प्रस्ताव । कतारको स्टेडियममा प्रयोग भएका ती सामग्री नेपाल ल्याएर अर्को स्टेडियम त बनाउन सकिने हो कि होइन थाहा छैन, तर नेपालीलाई कतारले केही समय खुशी हुने मौका चाहिँ दिएको छ ।

काम होस् या नहोस् तर त्यस्तै खुशी हुने मौका कतारको पक्षबाट फेरि पनि आउन थालेका छन् । निकै विवादमा गिजोलिएका नेपालका दुईवटा मुख्य ठूला विकास आयोजनाको बारेमा पछिल्लो हप्ता केही सुखद खबर सुनिए ।

दुई दशकभन्दा धेरै समय विदेशीले लिएको लाइसेन्समा मात्रै सीमित रहेको पश्चिम सेती जलविद्युत आयोजना र नेपालको पूर्वाधार विकासको लागि अत्यन्तै महत्वपूर्ण मानिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना बनाउन कतार सकारात्मक रहेको खबर सार्वजनिक भएका छन् ।

नेपालमा अहिलेसम्म खासै लगानी नगरेको कतारले एकैपटक दुई ठूला आयोजना निर्माणमा चासो दिएपछि यसलाई निकै महत्वका साथ हेरिएको छ । 

‘पश्चिम सेती कतारले बनाउन सक्छ’

२३ वर्षदेखि विदेशी कम्पनीको जिम्मामा परेर पनि निर्माण हुन नसकेको पश्चिम सेती जलविद्युत आयोजना कतारले बनाइदिने इच्छा जनाएको छ । केही दिनअघि लगानी बोर्डको एक टोली कतार भ्रमणमा गएको थियो । भ्रमणका क्रममा नेपाली टोलीले नेपालको प्राथमिकतामा रहेका विभिन्न जलविद्युत आयोजनाको विवरण कतारसमक्ष प्रस्तुत गरेको थियो । 

छलफलका क्रममा कतार सरकारको लगानी रहेको नेव्रास पावर कम्पनीले पश्चिम सेती बनाउन इच्छा देखाएको लगानी बोर्डका सहसचिव उत्तमभक्त वाग्लेले उज्यालोलाई जानकारी दिनुभयो । 

‘हामीले विभिन्न जलविद्युत आयोजनाहरुको सामान्य विवरण बतायौँ, डीपीआरसमेत भैसकेकोले उहाँहरुको चासो पश्चिम सेती जलविद्युत आयोजनामा थियो, उहाँहरुको जेस्चर हेर्दा लगानीको तयार रहेको जस्तो देखिन्थ्यो’, वाग्लेले भन्नुभयो । 

कतारमा रहेको नेपाली दूतावासको पहलमा भएको वार्ता निकै सकारात्मक भएको र यसबारेमा थप जानकारी लिन नेव्रास कम्पनीका प्राविधिक नेपाल आउने पनि उहाँले जानकारी दिनुभयो । 

आउँदो चैत १५ र १६ गते काठमाण्डौमा हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा यसबारेमा केही सम्झौता हुन सक्ने पनि उहाँले जानकारी दिनुभयो । पश्चिम सेती जलविद्युत आयोजना अष्ट्रेलियन कम्पनी स्मेकले १६ बर्षसम्म ओगटेर पनि काम गरेन ।

यस्तै चीनको थ्री गर्जेज कम्पनीले ७ वर्ष ओगटेपछि गएको असोजमा सम्झौता तोडेको थियो । त्यसपछि आयोजना कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्न अर्थमन्त्री युवराज खतिवडा, उर्जामन्त्री वर्षमान पुन र लगानीबोर्डका सीईओ महाप्रसाद अधिकारी सम्मिलित ३ सदस्यीय समिति गठन भएको थियो । समितिले अहिले खासै केही प्रगति गरेको छैन । 

अलमलमा परेको निजगढ विमानस्थलमा पनि कतारको चासो

निकै लामो विवादमा अल्झिएको नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ कतारले बनाइदिने सम्भावना बढेको छ । 

विमानस्थलको सबै चरणको काम पूरा गर्न ४ खर्ब र पहिलो चरणको काम पूरा गर्न डेढ खर्ब रुपैयाँ लाग्ने भएपछि नेपालले सहयोगी खोजी रहेको थियो । नेपालले सहयोगी खोजेकै बेलामा कतारले निजगढ विमानस्थल बनाउन इच्छा देखाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

गएको कात्तिकमा राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणका समयमा यो विषय उठे पनि औपचारिक रुपमा भने कतारले गएको महिना मात्रै विमानस्थल बनाउने इच्छासहित मन्त्रालयमा पत्राचार गरेको थियो ।

कतारले निजगढ विमानस्थल बनाउन इच्छा देखाएर जानकारी मागेपछि सरकारले विमानस्थल निर्माणको प्रगतिसहितका वितरण कतारस्थित नेपाली दूतावासमार्फत कतार सरकारलाई पठाएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

विमानस्थलको सम्भाव्यता अध्ययन गरेको कोरियन कम्पनी ल्याण्डमार्क वल्र्डवाइडको रिपोर्ट, विभिन्न समयका भएका अन्य अध्ययन, संसदीय समितिले गरेको प्रतिवेदनलगायतका प्रतिवेदन दूतावासमार्फत कतार पठाइएको पनि मन्त्रालय स्रोतले जानकारी दिएको छ । 

स्रोतका अनुसार विमानस्थल निर्माण मात्रै नभएर कतारले केही वर्षसम्म पनि चलाउने गरी नै सम्झौता गर्न खोजेको छ । ‘गभर्मेन्ट टू गभर्मेन्ट’ अर्थात ‘जी टू जी’ मोडलमा विमानस्थल बनाउनको लागि कतार इच्छुक देखिएको छ । 

‘अहिले नै वर्ष तोकिएको छैन, तर कतारले नै बनाउने र १०/१५ वर्षसम्म चलाउने खालको सामान्य अवधारणा बनेको छ, यो बारेमा धेरै चरणका कुरा हुन बाँकी छ’, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलाय स्रोतले उज्यालो अनलाइनलाई जानकारी दियो । कतारको प्रस्तावलाई उच्चस्तरीय तहमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी कतार जाने तयारी गर्नुभएको छ । 

भ्रममा नपरौँ, कतारले हामीलाई दया गरेको हैन : अर्थविद् पौडेल

नेपालीले कतारमा बगाएको पसिनाको गुन अब विभिन्न विकासका आयोजनामार्फत तिर्न लागेको हो त ? यो प्रश्नमा युवा अर्थविद् डाक्टर विश्व पौडेल अलिकति पनि सहमत हुनुहुन्न । 

उहाँ भन्नुहुन्छ, ‘यदि कतारले नेपाललाई चन्दा दिएको हुन्थ्यो भने हामीलाई माया गर्यो या हाम्रा नेपालीले बगाएको पसिनाको गुन तिर्यो भन्न हुन्थ्यो, तर अहिले प्रारम्भिक चरणमा कुरा भएको र त्यो पनि उसले आफ्नै पैसाले नबनाइदिने भएकाले यसलाई हामीले उसको व्यापारिक स्वार्थसँग जोडेर हेर्नुपर्छ ।’

लगानीपछिको प्रतिफल अर्थात ईआरआर नहेरी कतारले नेपालमा लगानी गर्ने सम्भावना नरहेको पनि उहाँले बताउनुभयो ।

‘उनीहरु अहिले नाकाबन्दीमा परेका छन्, नयाँ नयाँ घनिष्ट मित्र बनाउन चाहेका छन्, अलि दीगो हुने खालका परियोजनामा लगानी गर्न खोजेका छन्, तर कतारले अहिलेसम्म नेपालमा एक सुको पनि लगानी नगरेकाले अब अब परीक्षण गर्न खोजेका हुन सक्छन्, यसैलाई लिएर मख्ख पर्ने अवस्था म देख्दिनँ’, उहाँले भन्नुभयो । 


 

अन्तिम अपडेट: बैशाख २, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया