सीके राउत समूहका ९ कार्यकर्तालाई राज्यविरुद्धको मुद्धा

 माघ २५, २०७५ शुक्रबार १७:५२:३४ | गोविन्द शर्मा

बाँके – प्रहरीले राष्ट्रिय एकतामा खलल पुर्‍याउने गतिविधि गरेको भन्दै सीके राउत समूहका ९ जनालाई राज्यविरुद्धको अपराधमा मुद्धा चलाएको छ ।  

उनीहरुलाई माघ २१ गते पक्राउ गरिएको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी रमेशबहादुर सिंहका अनुसार उनीहरुलाई माघ २१ गते बाँकेको जानकी गाउँपालिका ६ कपासीका राममनोहर यादवको श्रद्धाञ्जली सभाबाट पक्राउ गरिएको थियो । सभामा गएर सीके राउतका कार्यकर्ताले राष्ट्रिय अखण्डताविरुद्ध मन्तव्य राखेपछि पक्राउ गरिएको सिंहले बताउनुभयो । 

गएको भदौ ७ गते उपप्रधानमन्त्री उपेन्द्र यादवको प्रमुख आतिथ्यमा बर्दियामा भएको कार्यक्रममा कालो झण्डा देखाएको भन्दै यादवसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । 

बर्दियामा हिरासतमा रहेको अवस्थामा यादव बिरामी भएपछि भेरी अञ्चल अस्पताल हुँदै राजधानीको शिक्षण अस्पतालमा उपचार भइरहँदा यादवको भदौ १५ गते निधन भएको थियो ।

पछिल्लो समय स्वतन्त्र मधेस गठबन्धनले शवयात्रासहित अन्तिम संस्कार गर्ने माग राखेपछि स्थानीय प्रशासनले परम्पराअनुसार श्रद्धाञ्जलीसभा सहित दाहसंस्कारको अनुमति दिएको थियो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सिंहले विखण्डनकारी नाराबाजीसहित प्रदर्शन भएको र सिके राउतको फेसबुक पेजमा लाइभ समेत भएपछि प्रहरीले केही  व्यक्तिलाई नियन्त्रणमा लिएको  बताउनुभयो । 

सिंहका अनुसार सो घटनामा २१ जना पक्राउ परेकोमा छानबिनपछि अन्यलाई रिहा गरी वीरेन्द्र शाहसहित माथिल्लो तहका ९ जना नेता कार्यकर्तालाई मुद्धा चलाइएको हो ।

प्रहरीले सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय एकतामा खलल पुर्‍याउने ती व्यक्तिहरुको साथबाट  स्वतन्त्र मधेस लेखेको झण्डा, पर्चा, जनसेवक सुरक्षा कार्ड, सीके राउतको पुस्तक ‘वीर मधेसी’ लगायतका सामाग्री पनि नियन्त्रणमा लिइएको जनाएको छ । 

अन्तिम अपडेट: फागुन २८, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया