११ बुँदे सहमतिसँगै २४ दिनपछि काममा फर्किए राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी

 माघ २६, २०७५ शनिबार ८:१९:३४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र आन्दोलनरत साविक उपक्षेत्रीय अस्पताल विकास समितिका कर्मचारीहरुबीच शुक्रबार बेलुकी ११ बुँदे सहमति भएको छ । 

सहमतिसँगै आन्दोलनरत कर्मचारी २४ दिनपछि काममा फर्किएका छन् ।  कर्मचारी आन्दोलन निकै लामो बन्दै गएपछि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको नेतृत्वमा विवाद समाधानका लागि टोली  घोराहीमा आएको थियो ।

आन्दोलनरत कर्मचारी, प्रतिष्ठान, स्थानीय सरकार, जिल्ला प्रशासन, नागरिक समाज र प्रतिष्ठान सरोकार समितिका पदाधिकारीहरुसँग छलफलपछि राज्यमन्त्री यादवसहितको टोलीले कर्मचारी र प्रतिष्ठानबीच ११ बुँदे सहमति गराएपछि कर्मचारीहरुले आन्दोलन फिर्ता लिएका छन् ।

साविकको राप्ती उपक्षेत्रीय अस्पताल विकास समितिका सबै कर्मचारीहरुलाई प्रतिष्ठानको समानस्तर र तहको पदमा शर्त, बन्देज र सेवा सुबिधा लागु हुनेगरी प्रतिष्ठानमा समायोजन गर्ने पहिलो बुँदामा सहमति भएको छ ।

त्यसैगरी, प्रतिष्ठानकै ऐन नियमअनुसार करार सम्झौता हुने, हालसम्म भुक्तानी हुन बाँकी तलबभत्ता यथाशिघ्र प्रतिष्ठानले भुक्तानी गर्ने, प्रतिष्ठानको लोक सेवा आयोगबाट स्थायी पदपूर्तिपश्चात श्रेणीविहीन कर्मचारीबाहेकका अवकाश हुने कर्मचारीले कुनै माग र आन्दोलन गर्न नपाउने सहमति भएको छ ।

साथै श्रेणिविहीन र ज्यालादारी कर्मचारीहरुको सेवाअवधि तेस्रो पक्षबाट नल्याएसम्म र ल्याउनु र्ने देखिए हालकै कर्मचारीहरुलाई राख्ने, प्रतिष्ठानले आगामी असार मसान्तसम्म स्थायी पदपूर्तिको प्रक्रिया अघि बढाउने र हाल कार्यरत कर्मचारीहरुलाई एक महिनाको सूचना दिई प्रतिष्ठानले अवकाश दिने सहमति पत्रमा उल्लेख छ ।

त्यसैगरी प्रतिष्ठानले करार तथा ज्यालादारी कर्मचारीलाई आवश्यकताअनुसार काममा खटाउने, सेवाबाट बर्खास्तमा परेका हिमराज गौतमलाई हाल तीन महिना र ठगुराम भण्डारीलाई एक महिनाको करार म्याद थप गर्ने र ज्यालादारी कर्मचारीको हकमा मासिक ज्यालादारीको सम्झौता गर्ने सहमति भएको छ ।

प्रतिष्ठान र कर्मचारीहरुबीच सहमति भएपछि शुक्रबारदेखि कर्मचारी काममा फर्किएका छन् । तर गएको पुस मसान्तमा करार सम्झौता सकिएका नेपाल सरकारका विभिन्न तहका २४ कर्मचारीहरुको माग भने केन्द्रबाट सम्बोधन हुने भएकाले कुनै सहमति भएको छैन् ।

सहमति पत्रमा प्रतिष्ठानका उपकुलपति डा. संगिता भण्डारी, आन्दोलनरत कर्मचारीहरुका तर्फबाट संघर्ष समितिका संयोजक हिमलाल गौतम, रोहबरमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र कानुन मन्त्रालयका उपसचिव विनोदकुमार भट्टराईले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिष्ठानमा साविक उपक्षेत्रीय अस्पताल विकास समितिका ६२ बढी कर्मचारीहरुले पेशागत सुरक्षा र तलबभत्ताको माग गर्दै पुस ३० गतेदेखि काम रोकेर आन्दोलनमा उत्रिँदा उपचार सेवा प्रभावित भएको थियो ।

कर्मचारीको आन्दोलन लम्बिँदै जाँदा उपचार सेवा अवरुद्ध भएपछि राज्यमन्त्री यादवको नेतृत्वमा विशिष्ट श्रेणीका प्रमुख विशेषज्ञ डा. सुशील प्याकुरेल, सहसचिव मधुसुदन बुर्लाकोटी र कानुन मन्त्रालयका उपसचिव विनोदकुमार भट्टराई दाङ आउनुभएको हो ।
 

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया