हजुरबाले नातिलाई सुनाए : लभलेटरको आत्मकथा

 माघ २६, २०७५ शनिबार ८:३५:५१ | मिलन तिमिल्सिना
unn.prixa.net

स्कुलबाट फर्कनेबित्तिकै नाति केटो सधैंझैँ फोनमा झुण्डियो । ‘आहा रोज डे मा के लेखेर पठाउने होला’ मोबाइलको स्क्रिन तलमाथि पार्दै केटो आफ्नै सुरमा बोल्यो । 

‘ओइ बाबु के डे रे ? कसलाई के पठाउने भनेको ?’ सँगै रहेका हजुरबाले सोधे ।

‘केही होइन हजुरबा, होमवर्कको कुरा गरेको ?’ नातिले हजुरबालाई ढाँट्न खोज्यो ।

‘हुन्छ होमवर्क बजिया, भन् त के हो ?’ हजुरबाले जोड गरेपछि नातिले सहजै जवाफ दियो, ‘भ्यालेन्टाइन डे आउन लाग्यो क्या हजुरबा, आज रोज डे हो, रोज डे मा केटी साथीलाई के लेखेर पठाउने भनेर गुगल हेर्दैछु ।’

‘के हो नि यो भालेटाइम डे भनेको ?’ हजुरबाले भ्यालेन्टाइनलाई भालेटाइम भनेको सुनेर नाति मुर्छा परेर हाँस्न थाल्यो ।

‘किन हाँसेको बजिया ? मैले जानेरै भालेटाइम भनेको हो’ हजुरबा बुढा नातिलाई जितौंलाझैँ गरी रौसिन खोजे ।

‘आ हजुरबा एकछिन चुप लाग्नुहोस्, मलाई यहाँ डिस्टर्ब हुन्छ’ मोबाइल हेर्दै गरेको नातिले हजुरबाबाट छुटकारा पाउन खोजे ।

‘अनि रोज डे भनेको चाहिँ के हो र ?’ भ्यालेन्टाइन सिजनमा रमाउन थालेको नातिसँग हजुरबाले पनि आनन्द लिन खोजे ।

हजुरबाले ज्यान जाला छाड्दैनन् भन्ने बुझेपछि नातिले भन्यो, ‘भ्यालेन्टाइन डेसम्म पुग्न अरु खुड्किला पनि पार गर्नुपर्छ क्या हजुरबा’ हजुरबालाई बुझाउने गरी नातिले आफ्नै पारामा भन्यो, ‘पहिले रोज डे, त्यसपछि प्रपोज डे, अनि चकलेट डे, टेडी डे, प्रमिस डे, हग डे, किस डे, अनि भ्यालेन्टाइन डे ।’

‘चकलेट दिएर फकाउनेदेखि किस गर्नेसम्मको कुरा पहिल्यै सिध्याएपछि भ्यालेन्टाइन डेमा चाहिँ के गर्ने नि ?’ नातिको मुख रातै पार्नेगरी हजुरबा बोले ।

‘हैट हजुरबा पनि क्या साह्रो हो’ नातिले लाज मानेझैँ गर्‍यो ।

‘किन लजाएझैँ गरेको नि बजिया ? तिमीहरु आजकलका ठिटाठिटीका सबै कुरा थाहा छ हामीलाई । तन बुढो भए पनि हाम्रो पनि मन तन्नेरी नै छ नि । तर हेर तिमीहरुका भन्दा हाम्रै पालाको लभ सजिलो थियो । न भ्यालेन्टाइनसम्म कुर्नुपथ्र्यो, न त्यसअघिका नानाथरी डे । मन मिल्यो, माया बस्यो’ हजुरबाले सबै खुलाए ।

‘त्योबेला कसरी पर्दथ्यो त लभ हजुरबा ?’ मोबाइल हेरिरहेको नाति केटोले हजुरबाको मुखबाट अझै धेरै कुरा सुन्न खोज्यो । 

नातिले कर गरेपछि हजुरबाले पनि पहिलेको कुरा सम्झिए – 

पहिले पहिले गाउँमा मेलापात, जात्रामात्रा, गोठालो जाँदा लभ पर्दथ्यो । छिमेकका सँगसँगै गोठालो जाँदा कहिले यसको बाख्रा हराउँथ्यो, कहिले उसको गाई हराउँथ्यो ।

हराएका गाईबाख्रा खोज्न सहयोग गर्नुपर्दथ्यो । तल्लो घरकी च्यान्टी वनमा घाँस काट्न जाँदा रुख चढ्न सक्दिन थिई । माथ्लाघरे प्यान्टेले घाँस झारिदिन्थ्यो । घाँसदाउरा, गाईगोठालो र वनपाखा जाँदाजाँदै प्यान्टे र च्यान्टीको माया पिरिम झाँगियो ।

स्कुलमा राम र सिता एउटै कक्षामा पढ्थे । रामलाई सीता मन पर्ने, सीता वास्ता नगर्ने । एकदिन अर्धवार्षिक परीक्षामा जाँच दिंदादिंदै सीताको डटपेनमा मसी सकियो । रामले काम दिन्छ भनेर एउटा छुट्टै डटपेन बोकिरहन्थ्यो । त्यो दिन सीतालाई आपद पर्यो भन्ने उसले थाहा पायो । हत्तपत्त डटपेन दियो । अरुलाई चाहिएको भए किन दिन्थ्यो र ? आपदमा सहयोग गरेको मान्छे, त्यसपछि सीताले रामलाई मन पराउन थाली दुवैको लभ पर्यो ।

लभ पर्न केही न केही त जुर्नुपर्यो । कि मन मिल्नुपर्यो । दुवैले दुवैलाई मन पराउनुपर्यो । तर दुवैलाई दुवैलाई मन पराउने दोहोरो भन्दा एकोहोरो लभ धेरै हुन्छ । आफूलाई उ मन परेको हुन्छ । तर उसले बालमतलव दिने होइन । उसलाई पट्याउन, उनलाई फकाउन मरिहत्ते गरेर लाग्यो । कहिले बाटोमा कुरेर बस्यो । कहिले पँधेरामा सँगै गयो । कहिले किताब माग्यो, कहिले नोट माग्यो । कहिले कलम दियो, कहिले कलम माग्यो । कहिले खाजा दियो, तै पनि बालमतलब दिने होइन । तर कसरी कसरी कोहीसँग लभ चाहिँ परिहाल्छ ।

लभ पर्दैन भन्दा पनि कहिलेकाहीँ लभ पर्छ । कहिले चाहिँ लभ परोस् भनेर अनेका जुक्ति लगायो तै पनि पर्दैन ।

उबेला हाम्रो जमाना अर्कै थियो । कक्षाभित्र केटाकेटी एउटै बेन्चमा बस्न पाईंदैनथियो । केटाका लागि छुट्टै बेञ्च । केटीका लागि छुट्टै बेञ्च । कहिलेकाहीँ छुस्स छोइहाल्यो भने पनि झस्कनुपर्ने । हात मिलाउन त के छुन समेत पाईंदैनथियो । स्वास्थ्य पढाउने सरले प्रजनन स्वास्थ्यको कुरा पढाउँदैनथिए ।

घरमा आफैं पढ्नु भन्थे । केटाले केटीलाई र केटीले केटालाई हेर्न समेत पाईंदैन थियो । गोठालो जाँदा मन परेको छिमेकीसँग यसो कुरा गरेको वल्लोघरे पल्लो घरेले देखे भने पनि पँधेरोमा कुरा काट्ने मसला बनाउँथे ।

आफ्नो पालाको कुरा सम्झेर हजुरबाले खुइय सुस्केरा हाले । अनि फेरि अहिलेको कुरा सम्झिए –

अहिले त ठिटाठिटी मोबाइलमै लभ गर्छन् । मोबाइलबाट फोन र एसएमएस गर्छन्, च्याट गर्छन् । कसैले त अनुहार नै नदेखि एसएमएस र फोन गरेर लभ गर्छन् । मोबाइलबाट गफ गर्दासम्म निकै राम्रो । उजस्तो सन्सारमा अरु कोही छैन जस्तो लाग्ने । जब भेट्न गयो, त्यसपछि छाँगाबाट खसेजस्तो । के सोचें पहिले के भयो अहिले । के देखें पहिले, के देखियो अहिले । देख्दै नदेखी मोवाइल लभ गरेपछि परिंदैन त फन्दामा ।

पहिले पहिलेको लभ पो यथार्थ लभ । मान्छे प्रत्यक्ष देखेपछि मन पर्न थाल्थ्यो । अनि फ्याट्टै कुरा गर्न नसक्दा लभ लेटर लेखिन्थ्यो । चिल्लो कागजको पानामा फूलबुट्टा भरेर, साहित्य सृजना गरेर तौली तौली अक्षर कोर्दै लभ लेटर लेख्नु र पठाउनुको मज्जा बेग्लै हुन्थ्यो । 

हिले त आई एल यू । मिस यू । डार्लिङ...भनेर छोटोछोटो लेख्छन् । केटीहरुका लुगा छोटिएझैँ लभ गर्ने वाक्य र शब्द छोटिन थाल्यो ।

लभलेटर पाउनेलाई पनि उत्तिकै मज्जा । आहा क्या सुन्दर अक्षर । क्या मीठो भाषा र शैली । यस्तो अक्षर लेख्ने हात कस्तो होला ? यस्तो भाषा र शैली लेख्ने भावना कस्तो होला ? अन्त कतै नगई त्यही अक्षर हेरिरहुँ जस्तो, पढुरहुँजस्तो । सिरानमुनी, कुन्तुरमुनी, खाटमुनी लुकाइलुकाई बेलाबेला पल्टाएर हेरिरहुँ जस्तो लाग्ने लभलेटर । १० वर्ष, २० वर्ष, ४० वर्षअघिसम्ममा लभलेटर सुरक्षित गरेर राखेका हुन्छन् बुढाबुढीले समेत । त्यति धेरै महत्वको छ लभलेटर । 

यति धेरै महत्व बोक्ने लभलेटरलाई मोबाइलले खाइदियो । हिजोआज लभलेटर लेख्ने चलन नै हरायो । मोबाइलमा दुई अक्षरको हाइ, तीन शब्दको आइ लभ यू र सेम टु यु, बाबा, माया भन्ने बाहेक लेख्ने काम कता पुग्यो कता । मोवाइलबाट फेद न टुप्पोको संवाद भन्दा लभलेटरमा भाँती पुर्याई पुर्याई लेखिने अक्षर, शब्द र सायरी नै लोभलाग्दा हुन्थे । 

हजुरबाको कुरा सुनेर नाति तीन छक पर्यो । एकोहोरो कुरा सुन्दै गरेको नातिलाई हजुरबाले फेरि लभलेटरको आत्मकथा सुनाए –

लभलेटरको आत्मकथा 

     मेरो सौता मोबाइल, तिमीलाई धारे हातको सलाम ।

तिम्रो चुरीफुरीले मेरो अस्तित्व मेटियो । तिमी जबदेखि जाग्न थाल्यौ, तबदेखि मान्छे मदेखि भाग्न थाले । पहिले पहिले मान्छेहरु म भनेपछि हुरुक्कै हुन्थे । रगतले समेत लेख्थे । कति साहित्य मिसाउँथे, कति फूलबुट्टा भर्थे । 

सानो पन्ना भएपनि उबेला मेरो छुट्टै महत्व र अस्तित्व थियो । सुनचाँदी, गरगहना र धनसम्पत्ति भन्दा पनि मेरो भाउ महंगो थियो । मान्छेले जो पायो त्यसैलाई देखाउँदैनथिए । आफ्नै बाआमाले र दाजुदिदीले देखे भने त झन् बर्बाद । त्यसैलै कोठाको कुनै कुनामा एक्लै लुकेर मान्छेहरुलाई मलाई बनाउँथे । कोही रगत चुहाउँथे । कोही आँसु खसाल्थे । सरर कविता मिसाउँथे । आकाश, पाताल, समुद्र जोड्ने कल्पना उतार्थे । निकै मेहनत गरेर मलाई बनाउँथे ।

जसले मलाई बनाउँथ्यो, उसले अर्कोलाई सुम्पर्नुपर्ने । तर बनाउने मान्छेको हातबाट पाउने मान्छेको साथसम्म पुग्न मलाई निकै गाह्रो हुन्थ्यो । लुकाएर, निकै चनाखो भएर मलाई मान्छेले अर्कोको हातमा पुर्याउँथ्यो । अर्कोको हातमा पुगेपछि पाउने त्यो मान्छे युद्ध जितेझैँ फुरुँग हुन्थ्यो । मख्ख पथ्र्यो । हावामा उडेझैँ गथ्र्यो । मुख मिठ्याउँथ्यो । अनि कसैले देख्छन् कि भनेर एक्लै कुनामा गएर मलाई हेर्न थाल्थ्यो ।

हेर्दाहेर्दै अनुहार उज्यालो बनाउँथ्यो । कहिले चाहिँ आँसु झारौंलाझैँ गथ्र्यो । अनि सिरानीमा निकै जतन गरेर राख्थ्यो । बेलाबेला सिरानी पल्टाएर मलाई हेथ्र्यो । फेरि आफू पल्टेर मलाई सम्झन्थ्यो । अनि फेरि उसले पनि त्यसैगरी लभलेटर बनाउँथ्यो र पठाउँथ्यो ।

पानीले भिजेर पनि न मेटिन सक्ने । च्यातिन खोज्दा पनि न च्यातिएर जाने । न हेर्ने बित्तिकै फाल्ने । न थुक्क भन्दै थुक्ने । त्यस्तो केही नहुने वर्गका हामी लभलेटर थियौं । वर्षौं वर्षसम्म पनि हामीलाई मान्छेले जतन गरेर राख्थे । अर्कैसँग विवाह भएर छोराछोरी भैसक्दा पनि लभलेटर पठाउने अर्कैको सम्झनामा घरीघरी मलाई हेरेर टोलाउँथे । लौ हेर त कत्तिको भाउ थियो मेरो ।

तर सौता मोबाइल, तिम्रो चुरीफुरीले मेरो फूर्ति सेलायो । म विचरा भएँ । अहिले मबाट हुने काम तिमीबाट हुने गर्छ । म छँदासम्म मान्छेले जाँगर लगाएर लेख्थे । तर तिमी आएपछि लेख्ने मान्छेको जाँगर हरायो । लामो लेख्न छाडे । छोटकरी र अपुरो लेख्छन् । पहिले आई लभ यू माइ डिएर......आकाशको तारा झारिदिन्छु, आकाश र धरती जोडिदिन्छु भनेर कति भाँती पुर्‍याएर लम्बेतान लेख्थे । अहिले त आई एल यू । मिस यू । डार्लिङ...भनेर छोटोछोटो लेख्छन् । केटीहरुका लुगा छोटिएझैँ लभ गर्ने वाक्य र शब्द छोटिन थाल्यो ।

 

सौता मोबाइल तिमी बढ्दा हामी लभलेटरको अस्तित्व घट्यो । मान्छेको जाँगर घट्यो । शब्द र अक्षर घट्यो । लभको स्वाद घट्यो । पहिले मान्छे चिनजान र देखादेख भएपछि लभलेटर बन्थ्यो । अहिले त मान्छे नै चिनजान नहुँदै र नदेख्दै मोबाइलमा लभ पर्छ । अपुरो लभ, उतिखेरै भत्किन्छ । लभ मात्र होइन, कतिका त घर नै टुट्छ ।

त्यसैले सौता मोबाइल । तिमीले मान्छेको मन बिगार्यौ । घर भत्कायौ । लभको स्वाद बिगार्यौ । हाम्रो अस्तित्व मेटायौ । कुनै दिन हामी जागेर आयौं भने तिम्रो खैरत हुने छैन । होश गर ।

अन्तिम अपडेट: असार २९, २०७६

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया