पर्वतको उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात, कतै हर्ष कतै बिस्मात !

 माघ २६, २०७५ शनिबार १६:२९:२१ | सन्तोष थापा
unn.prixa.net

पर्वत – पर्वतका उच्च पहाडी भागहरु बाक्लो हिमपातका कारण सेताम्मे भएका छन् भने तल्लो क्षेत्रमा तीन दिनदेखिको बर्षाले जनजीवन प्रभावित बनेको छ । 
हिमपातले उच्च भूभागमा बसोबास गर्ने कृषकहरु भने हर्ष र विस्मातको दोसाँधमा छन् । 

हिउँदे बालीका रुपमा लगाइएका गहुँ, आलु, जौ लगायतका खेतीलाई हिमपातले फाइदा पुगेपनि तरकारी खेती, अलँैची खेती लगायतका बालीमा भने प्रत्यक्ष् ारुपमा असर परेको छ । 

यही सिजनमा दुई पटकसम्म हिमपात भएपछि कृषकहरु प्रभावित बनेका हुन् । 

पर्वतमा शुक्रबार साँझदेखि जलजला गााउँपालिकाको लेखफाँट, शालिजा, बाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरुमा तीन फिट बाक्लो हिउँ परेको छ । 

शनिबार बिहानसम्म नै हिमपात भैरहेको र धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । पञ्चासेमा आर्थरसम्म नै हिउँ परेको स्थानीय रामकृष्ण गुरुङ्गले जानकारी दिनुभयो । 

हिमपातका कारण केही बालीनालीहरुलाई फाइदा पुगेपनि तरकारी खेती र अलैची खेतीलाई बेफाइदा भएको जलजला ९ बनौका कृषक चक्रबहादुर पुनले बताउनुभयो । उहाँले अघिल्लो पटकको हिमपातले राम्रै फाइदा गरेपनि शुक्रबारदेखि परेको हिमपातले समस्या उत्पन्न गराएको दुखेसो गर्नुभयो । 

वर्षासँगै हिमपात भएकाले मानिसका साथै गाइवस्तुलाई समेत समस्या भएको छ । तीन दिनदेखिको वर्षाका कारण पर्वतको कुश्माबाट दक्षिण पर्वतको हुवास, रानीपानी, लुंखु, कार्किनेटा, डहरे लगायतका क्षेत्रमा चल्ने बस सेवा ठप्प भएको छ । 

छिटपुट रुपमा जीप भने चलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले बताउनुभयो । पातीचौर र डिमुवाबाट देउपुर, भूकदेउराली, बाजुङ्ग, क्याङ्ग, राम्जा, चित्रे चल्ने यातयातका सबै साधन ठप्प भएका छन । 

मिलनचोकबाट लेकफाँट, शालिजा, धाइरिङ्ग जाने जीपबाहेक अन्य सवारी साधन चल्न सकेका छैन । एक दुई दिन वर्षा नरोकिएमा कच्ची सडकमा जीप समेत चल्न नसक्ने अवस्था आएको छ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सन्तोष थापा

पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया