धनगढी प्रिमियर लिगको उद्घाटन, प्रदेश सरकारले लिग र मैदानलाई सहयाेग गर्ने

 माघ २६, २०७५ शनिबार १८:१६:४९ | निर्मला खडायत
unn.prixa.net

कैलाली - धनगढी प्रिमियर लिगको तेस्रो संस्करणको शुक्रबार उद्घाटन गरिएको छ । 

धनगढी क्रिकेट एकेडेमीले विगत तीन वर्षदेखि आयोजना गर्दै आएको प्रतियोगिताको तेस्रो संस्करणको उद्घाटन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्नुभएको हो । 

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम सरकारले लिग र फाप्लाका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयाे । उहाँले प्रतियोगितालाई र फाप्लालाई अन्तराष्ट्रिय मैदान बनाउनका लागि प्रदेश सरकार गम्भीर भएको भन्दै यसलाई प्रदेशको गौरवको आयोजनाका रुपमा अगाडि बढाउने बताउनुभयाे । 

प्रतियोगिता उद्घाटन भए पनि वर्षाका कारण खेलहरु भने सोमबारदेखि मात्रै सुरु हुने बताइएको छ । लगातारको वर्षाले फाप्ला मैदान हिलाम्मे भएपछि खेल दुई दिनपछि सारिएको हो । 

दुई दिन खेल सारेसँगै नयाँ खेल तालिका पनि निकालिएको छ । सोमबारदेखि दैनिक दुई खेल हुनेछन् । पहिलो खेलमा धनगढी स्टार्स र काठमाडौं गोल्डेन्स भिड्नेछन् । यस्तै, दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्स र महेन्द्रनगर युनाइटेड खेल्नेछन् । 

प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले एक आपसमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन् । त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ । त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ । 

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया