‘किसानका उत्पादित वस्तुको जिम्मा सरकारले लिन्छ’

 माघ २७, २०७५ आइतबार ६:३७:३२ | रासस

स्याङ्जा – भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजारीकरणको जिम्मा सरकारले लिने बताउनुभएको छ । 

तुलसीभञ्ज्याङमा शनिबार साना किसान कृषि सहकारी संस्था लिमिटेडले गरेको साना किसान कृषि सहकारी संस्थाहरुको व्यवस्थापन हस्तान्तरण कार्यक्रममा उहाँले देशमा बढ्दो बेरोजगारी समस्या र गरिवी न्यूनीकरणका लागि सबै जनतालाई उत्पादनसँग जोड्नुपर्नेमा जोड दिनुभयो । 

उहाँले स्रोत र साधनको सही सदुपयोग गर्न नसके आत्मनिर्भर बन्न नसकिने बताउँदै यसका लागि गाउँगाउँबाट अभियान थाल्नुपर्ने बताउनुभयो । साना किसान सहकारीलाई ठूला उद्योग र हाइड्रोपावरमा लगानी गर्न उहाँले आग्रह गर्नुभयो । 

सरकार भूउपयोग नीति ल्याउने तयारीमा रहेको उल्लेख गर्दै उहाँले भूउपयोगसम्बन्धी स्पष्ट नीति नहुँदा खेतीयोग्य जमीन मासिँदै गएको र गाउँघरमा जमीन बाझो हुने क्रम बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । मन्त्री अर्यालले जनताको स्वामित्वमा रहेको जमीन सके सरकार आफैले भाडामा लिएर काम गर्ने र अरु कसैले चाहे भाडामा दिएर भए पनि खेतीयोग्य जमीनको सदुपयोग गर्नुपर्ने बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया