म्याग्दीको तातोपानी कुण्डमा ‘बाथटब’ (तस्बिरसहित)

 माघ २७, २०७५ आइतबार १३:१२:४१ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – प्राकृतिक चिकित्सालयको रुपमा चिनिएको म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गामा रहेको तातोपानी कुण्डमा ‘बाथटब’ र पोखरी सञ्चालन गरिएको छ । 

कुण्डमा स्नान गर्न आउने बिरामीको चापलाई मध्यनजर गरेर तीनवटा बाथटब क्याबिन र थप एउटा पोखरी निर्माण गरी सञ्चालन गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिले जनाएको छ । तातोपानी कुण्डको नजिकै बाथटब क्याबिन र कुण्डभन्दा बाहिर धारा नजिकै डुबुल्की मार्नका लागि एउटा पोखरीको निर्माण गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले बताउनुभयो । 

बाथटबमा एकपटकमा तीन जनाले नुहाउन सक्ने क्षमताको तीनवटा क्याबिन रहेका छन् । बाथटब क्याबिनमा नुहाउनका लागि समितिले एक घण्टाको दुई सय रुपैयाँ शुल्क तोकेको छ भने साबुन र टाबेलको व्यवस्था गरिएको कुण्ड व्यवस्थापन समितिका अध्यक्ष शाक्यले जानकारी दिनुभयो । तीनवटा बाथटब क्याबिन भित्र छुट्टाछुट्टै कोठामा बसेर एक्लै डुबुल्की मार्दै नुहाउन सकिन्छ । 

यसैगरी कुण्ड बन्द भैसकेपछि, कुण्डमा भीड भएमा, महिला र पुरुषको पालो छुट्टाछुट्टै परेमा, रिजर्भमा नुहाउन चाहेमा वा अध्ययन अवलोकन तथा भ्रमणमा आउने टोलीलाई लक्षित गरेर कुण्डभन्दा बाहिर स्नान पोखरी थपिएको छ । कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले दिनुभएको जानकारी अनुसार तातोपानी कुण्डको मुहानबाट पानी ल्याएर सङ्कलन गरी स्नान गर्ने व्यवस्था मिलाइएको यो पोखरी १२ मिटर लम्बाई र १२ मिटर चौडाइको छ । कुण्डमा अहिले दैनिक झण्डै ८ सय जनाले नुहाउने गरेका छन् । 

जम्मा पाँचलाख रुपैयाँको लागतमा निर्माणसम्पन्न गरिएको बाथटप र पोखरी निर्माणमा कुण्ड व्यवस्थापन समितिले तीनलाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै बाथटब क्याबिन तथा पोखरी निर्माणमा बेनीका क्याप्टेन केशवप्रसाद गौचनले एकलाख, रुपन्देही निवासी हिराबहादुर गौतमले ५० हजार एक सय र काठमाण्डाैका तेजिन्द्र खड्काले ५० हजार रुपैयाँ सहयोग गरेको कुण्डका अध्यक्ष शाक्यले बताउनुभयो ।

नेपालीका साथै विदेशी पर्यटक तथा बिरामीहरु पनि तातोपानी कुण्डमा स्नान गर्न आउने गरेका छन् । कुण्डभन्दा बाहिर रहेका तातोपानीका धाराहरु २४ सै घण्टा खुला राख्ने गरिएको छ । जमिन मूनिबाट ४८ डिग्री सेन्टीग्रेटको तापक्रममा बिरेनुनको स्वादसहित निस्कने तातोपानीको कुण्डमा डुबुल्की मारेपछि ग्यास्ट्रिक, बाथरोग, गानोगोला, युरिक एसिड, हाडजोर्नी दुख्ने, हड्डीको दुखाइ, सड्केको, मर्केकोसहित चिसोका कारणबाट उत्पन्न सबै प्रकारका रोगहरु निको हुने जनविश्वास रहेको छ । 

 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया