‘सोल्टी वेस्टेण्ड प्रिमियर’ हाेटललाई पाँचतारेको मान्यता

 माघ २७, २०७५ आइतबार १३:५५:५६ | रासस
unn.prixa.net

काठमाण्डाै –  नेपालगञ्जमा सञ्चालित ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ होटलले पाँच तारे होटलको मान्यता पाएको छ । 

वासुदेवपुरमा एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट हालै पाँचतारे स्तरको प्रमाणपत्र पाएको हो । विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको हाेटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले जानकारी दिनुभयो । 

सरकारले काठमाण्डाै बाहिरका होटलका लागि मापदण्ड हेरफेर गरेपछि अहिलेकै पूर्वाधारमा होटलले पाँचतारेका लागि आवेदन दिएको थियो । नेपालकै पहिलो हरित (ग्रिन) होटल दाबी गरिएको याे होटलले प्रयोगमा ल्याएको सम्पूर्ण प्रविधि पूर्ण वातावरणमैत्री छ ।

सोल्टी वेस्टेण्ड प्रिमियर कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गर्ने र कम ऊर्जा खपत गर्ने नेपालकै पहिलो होटल मानिएको छ । 



खड्काका अनुसार बीएमएक (बिल्डिङ म्यानेजमेन्ट सिस्टम), जिरो कार्बनफुटप्रिन्ट, वातावरण अनुकूलनका लागि रेडियन्ट टेक्नोलोजीको प्रयोग, होटलबाट निस्कने फोहरलाई प्रशोधन, तरल पदार्थलाई पानीका रुपमा ट्वाइलेटको फलस, बगैँचा र चिलर प्लान्टलाई कुलिङ गर्नका लागि प्रयोग गरिनुका साथै ठोस वस्तुलाई प्राङ्गारिक मलका रुपमा प्रयोग गर्नु होटलको विशेषता हो । 

काठमाण्डाैको होटेल सोल्टी क्राउन प्लाजा लिमिटेडकै भगिनी संस्थाका रुपमा नेपालगञ्जमा सोल्टी वेस्टेण्ड सञ्चालनमा आएको छ । पाँचतारे होटलको मान्यता पाएपछि सोल्टी वेस्टेण्डमा अब लाइभ क्यासिनो सञ्चालनमा आउनेछ ।

अहिले मिनी क्यासिनो चलाइरहेको होटलमा काठमाण्डाैको सोल्टीमा क्यासिनो चलाइरहेको महाजनले नै चलाउने बताइएको छ । नेपालमा लाइभ क्यासिनो चलाउनका लागि पाँचतारेस्तरको होटल तथा रिसोर्ट हुनुपर्छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया