संखुवासभा हङकङ प्रतिभा पुरस्कारबाट तीन जना पुरस्कृत

 माघ २७, २०७५ आइतबार १५:५२:४७ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानबाट यो वर्ष संखुवासभाका तीन जना पुरस्कृत भएका छन् । पुरस्कृत हुनेहरुमा सिर्जना राई, उमङ्ग लामा र भविन ढुङगाना रहेका छन् ।

आइतबार श्रीपञ्चमी तिथिको दिन पारेर सदरमुकाम खाँदबारीमा रहेको बरुण बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रमहरुमा उहाँहरुलाई पुरस्कार वितरण गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले सम्मानपत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । कार्यक्रममा भविन ढुङगाना भने अनुपस्थित रहनुभएको थियो । उहाँको सम्मानपत्र आमा लक्ष्मी ढुङगानाले लिनुभएको थियो । 

संखुवासभा जिल्लामा नै जन्मिएर जिल्लाको नाम देशविदेश सम्म फैलाउन महत्वपूर्ण योगदान पुर्‍याएको भन्र्दै उहाँहरुलाई सम्मान गरिएको संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानका अध्यक्ष टिकाराम गुरुङले बताउनुभयो ।

उहाँका अनुसार, खेल प्रतिभातर्फ सिर्जना राई, लोकगायन प्रतिभामा उमङ्ग लामा र गायन तथा संगित प्रतिभाको रुपमा भविन ढुङगानालाई जनही नगद १५ हजार र सम्मानपत्रद्वारा सम्मानित गरिएको हो । 

संखुवासभा हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठान संखुवासभा जिल्लाबाट प्रवास हङकङमा बसोबास गरिरहेका संखुवासभालीहरुले स्थापना गरेको संस्था हो । उक्त प्रतिष्ठानले बर्सेनि जिल्लाको नाम चिनाउन योगदान पुर्‍याएको प्रतिभाहरुको छनौट गरेर सम्मान गर्दै आएको छ । गएको बर्ष साहित्यकार ताराबहादुर बुढाथोकी र मूर्तिकार चन्द्रमान लिंखालाई सम्मान गरिएको थियो । 

धाविका सिर्जनालाई बधाई र सम्मानको ओइरो

संखुवासभा सभापोखरी–२ धुपू घरभएकी सिर्जना राई बरुण बहुमुखी क्याम्पसमा स्नातक पहिलो वर्षमा अध्ययनरत हुनुहुन्छ । राई सानैदेखि खेलप्रति रुची राख्ने गरेको बताउनुहुन्छ  । उहाँलाई चारवर्षे स्नातक तह अध्ययनका लागि बरुण बहुमुखी क्याम्पसका पूर्वप्रमुख तथा हाल हङकङमा बसोबास गर्ने साहित्यकार दाजु गुरुङले सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गर्नुभएको छ ।

पहिलो बर्षअन्तर्गत २५ हजार रुपैयाँको चेक समेत सोही कार्यक्रममा क्याम्पस प्रशासनलाई हस्तान्तरण गरियो । कार्यक्रममा धाविका राईलाई स्वतन्त्र विद्यार्थी यूनियन र नेपाल विद्यार्थी संघले बेग्ला—बेग्लै सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । यस्तै व्यक्तिगत बधाई र शुभकामना दिनेहरुको भिड लागेको थियो ।

धाविका राईले लामो दूरीको दौडमा स्वदेश तथा विदेशमा समेत महत्वपूर्ण स्थान हासिल गरिसक्नु भएको छ । गएको पुस २८ गते हङकङमा आयोजित क्युनेट गोर्खा ट्रैलब्लेजरमा नेपालको तर्फबाट १८ देखि २४ वर्ष उमेर समूहको २६ किलोमिटर दूरीमा उपाधि हात पार्नुभएको थियो ।

त्यसैगरी खुला महिलातर्फको प्रतियोगितामा उहाँले छैठौं स्थान हासिल गर्नुभएको थियो । प्रतियोगितामा ३१ देशका ४ सय प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।

सिर्जना अन्नपूर्ण ट्रेल (५० किलोमिटर), पोखरा ट्रेल (५५ किलोमिटर), उर्लाबारी म्याराथन दौड (२० किलोमिटर), धरान म्याराथन दौडमा (२१ किलोमिटर) लगायतमा उपाधि हासिल गरिसक्नु भएको छ । 
 

अन्तिम अपडेट: चैत १२, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया