मलेसियामा अवैधानिक हुँदा नाम थर नै फेरियो

 माघ २७, २०७५ आइतबार १७:९:२ | मेरो कथा मेरो भोगाई

केशव पाख्रिन/फुलासी, रामेछाप ।

गाउँमा हर्बो इन्टरनेशलन कम्पनीमा काम गर्थें । त्यो कम्पनीलाई ठगी गरेको आरोप लगेपछि बन्द भयो । कम्पनी बन्द भएपछि गाउँमै काम गरिरहेको मैले पनि विकल्प खोज्नुपर्‍यो । त्यतिबेला अरु विकल्प देखिनँ । विदेश जाने सोचें । 

२०६८ सालको सुरुतिर घरमा विदेश जाने भन्ने सल्लाह गरें । दाइको ससुरालीतिरका आफन्तले म्यानपावर चलाउँदा रहेछन् । उनीहरुले मलाई विदेश पठाइदिने भए । काठमाण्डौ गएपछि मलाई मलेसियाको एयरपोर्टमा लगेज एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम हो भनेर एक लाख ५० हजार रुपैयाँ लिएर पठाए । 

तर त्यहाँ मैले ट्रली ब्वाइको काम गर्नुपर्‍यो । भनेको काम त पाइएन नै यहाँ भनेको तलब पनि पाइएन । मलाई महिनाको १३ सय रिंगिट हुन्छ भनेको थियो । तर त्यहाँ ५ सय ४५ रिंगिट मात्रै दियो । 

धेरै पैसा तिरेर आइसकेकाले त्यति तलबले केही हुने अवस्था थिएन । त्यसैले पठाउने एजेण्टलाई आफूलाई भनेकै काम र तलब हुुनुपर्ने बताएँ । उसले मसँगै १२/१३ जना साथीको पासपोर्ट एजेण्ट लगाएर हाम्रो हातमा हाल्दियो ।

उसले हामीलाई कामको लागि मैले कुरा गरिदिएको छु केही दिनमा त्यहाँ काम गर्न जानु भनेर भाग्यो । ऊ नेपाल नै फर्किएछ । तर उसले भन्दिएको रहेनछ । भनेर हुने पनि त थिएन । ऊ भागिसकेकाले जे गर्नु हामीले नै गर्नुपर्ने थियो ।

त्यही भएर साथीहरु पनि भागेर अन्तै गए । म पनि मलेसिया पुगेको झण्डै डेढ महिनापछि भागेर सेक्युरिटी गार्डको काम गर्न थालें । त्यहाँ हामीभन्दा माथिल्लो तहमा नेपाली नै भएकाले काम गर्न सजिलै भयो ।  

नाम नै फेर्नुपर्‍यो  

अवैधानिक भएर काम गर्दा आफ्नो नाम हुँदो रहेनछ । त्यहाँ काम गरेको कुनै पुरानो मान्छेको नामको कागजात बनाइदिँदो रहेछ । मलाई आशकुमार राई भनेर कागज दियो । 

म त्यही कागज लिएर काम गर्थें । काम गर्ने ठाउँबाट बाहिर सेक्युरिटी गार्डको लुगा लगाएर जान दिँदैनथ्यो । गाडीमा लिएर जान्थ्यो अनि काम सकेपछि गाडीमै कोठामा पुर्‍याइदिन्थ्यो ।

त्यहाँ मलाई १३ सय रिंगिट तलब दिन्थ्यो । त्यहाँ काम गर्न थालेको ९ महिनामा दुर्घटनामा परें । ७ दिन त होस नै आएनछ । झण्डै १० दिन उपचार गरेर कोठामा फर्किएँ । तीन महिना आराम गरेपछि भ्याकुम क्लिनर बनाउने कम्पनीमा काम गरें ।

त्यहाँ पनि १३ सय रिंगिट नै दिन्थ्यो । मैले सेक्युरिटीमा काम गर्न थालेदेखि नै एक हजार रिंगिट जति पैसा बचाउँथें । त्यसरी नै मैले भ्याकुम बनाउने कम्पनीमा ७ महिना जति काम गरें । बाहिर हिँडडुल गर्दादेखि जे गर्न पनि डराउनुपर्ने । त्यही भएर नेपाल फर्किने सोच बनाएँ ।

तर त्यहाँ पनि दलाललाई पैसा खुवाउनुपर्‍यो । त्यो दलाललाई ३८ सय रिंगिट बुझाएर म झण्डै डेढ वर्षमा नेपाल फर्किएँ । त्यहाँ दुर्घटनामा पर्दा, नाम नै फेरेर काम गर्नुपर्दा, जे गर्दा पनि लुकेरै हिँड्नुपर्दा त बाँचेर फर्किउँला जस्तो लागेको थिएन । तर फर्किन पाएँ । त्यसमै चित्त बुझाएको छु । 
 

अन्तिम अपडेट: फागुन ८, २०७५

तपाईको प्रतिक्रिया