भलिबलसित मेरो प्रेम छ : कुमार राई

 माघ २७, २०७५ आइतबार १७:१३:५५ | दीपा तिमल्सिना
unn.prixa.net

काठमाण्डाै – बुवा ब्रिटिस आर्मी । जेठा दाजु इण्डियन आर्मी । अनि माइला दाजु नेपाली सेनाका कार्यरत । उहाँ काइलो छोरो । सम्भवतः हुनपर्ने बुवाजस्तै, नभए पनि दुइ दाजुजस्तो त पक्कै, हुनैपर्ने गुणले पनि  । तर भइएन । हुन पनि चाहनु भएन । 

प्रसंग हो कुमार राईको । जो महिला भलिबलको प्रशिक्षक हुनुहुन्छ । उहाँलाई चिन्ने जान्नेले कुशल प्रशिक्षक, शिक्षक र सामाजिक अभियन्ता गायत विभिन्न रुपमा चिन्छन् । 

संखुवासभा सविकको पाङमा गाविस मालबासेमा जन्म भयो । ब्रिटिश आर्मीको जागिरपछि बुवा जन्मथलो नै फर्किनुभयो । 

तर त्यहाँ बस्दा छोराछोरीले अरु भाषा नजान्लान् भनेर अरु जातका समूदाय पनि बस्ने संखुवासभाकै माल्टामा बसाइँ सर्नुभयो । माल्टामा बसाइँ सरेपछि कुमार राई विद्यालय जान थाल्नुभयो । 

घरमै थ्रोत्रा–थाङना पोको पारेर बल खेल्ने उहाँले कक्षा ६ मा पुगेपछि साँच्चिकै भकुण्डो फेला पार्नुभयो । त्यसपछि त्यहिँबाट औपचारिक रुपमा सुरु भयो–भलिबलको खेल ।

दुःखमै बित्यो बाल्यकाल 

‘ब्रिटिश आर्मी भएर के गर्नु बुवा हलो समाएपछि मात्रै खुशी हुने’, उहाँ पुरानो दिन सम्झदै भन्नुहुन्छ, ‘जति धेरै खेतबारी जोत्यो त्यति धेरै स्याबासी । यसो किताब कापी समात्यो, नपढिदिए हुन्थ्यो भन्ने ।’

फेरि पानीको पनि औधी दुःख, आफ्नै लवजमा राई भन्नुहुन्छ, ‘एक किलोमिटर दौडेर पो पानी लिन जानुपर्ने । यसो समय मिलाएर एकै छिन भए नि भकुण्डो खेलौँ भन्यो बुवा इत्रो मुख लाउने, ‘खाली भकुण्डो मात्रै उफार्छस्’ भन्ने । बुवाको गालीपछि आमाले भने मेरै पक्षमा बोलिदिनुहुन्थ्यो –  ‘खेलोस् न त । आफूले उ बेला चाहिँ खेल्दा हुने ।’ पहिला बुवाले नि भलिबल खेल्नु हुँदो रहेछ, त्यतिबेला थाहा पाएँ ।’

बिहान उठ्यो, दौडेर पानी लिन गयो,  आयो, घाँस दाउरा गर्यो । यसैगरी बित्यो  उहाँको बाल्यकाल । 

हलो जोतेरै एसएलसी पास

सात कक्षासम्म जेनतेन पढ्नुभयो । थप अध्ययन गर्ने रहर रहरमै सिमित रह्याे । बुवाआमाले  पढाइ भन्दा खेतीपातीमा काम गरेको रुचाउने । 
जसोतसो गरेर घरबाट अलि परको विद्यालयमा भर्ना हनुभयाे । तर त्यहाँका एक गुरु होमकुमार ढुंगानाले त्यो विद्यालय भन्दा खाँदबारीमा पढ्न सुझाउनुभयो ।

 
गुरुले आफ्नै पछि लगाएर खाँदबारीको स्कूल पुर्‍याउनुभयो ।  राम्रो पढेपछि राईले विद्यालयमा छात्रवृत्तिमा पढ्न पाउनुभयो । तर खाँदबारी घरबाट झण्डै २० किलोमिटर टाढा भएकाले स्कुल जान आउन चुनौती पनि उत्तिकै थियो । एकातिर स्कूल पुग्नै चुनौती । अर्कोतिर घरको काम नगरी स्कूल नै जान नपाइने । 

‘बिहान सबेरै उठ्यो । चार बजेतिर गोरुलाई घाँस पानी दिएर अघायो । अनि ५ बजेतिर त खेतबारी मै गोरु नार्न लग्यो । सात बजेसम्म जोत्यो, त्यसपछि दौडेर घर आयो । हतारहतार हातखुट्टा धोयो । पाँच मिनेटमै भात खायो । अनि दौडियो स्कूल । यति दौडन्थ्ये, कुरै छाडौँ । त्यतिबेला दौडने नि प्रतियोगिता हुन्छ भन्ने थाहा पाउन पाएको भए मैले म्यारथन नै जित्थेँ होला ।’

चैतमा एसएलसी सकेपछि फुर्सदै भयो । बुवालाई खुशी पार्न राईले खेतबारीमा मरिमेटेर काम गर्नुभयो । 

धान रोप्ने चटारोकाबीच परीक्षाफल आयो । उहाँ पास हुनुभयो । भित्रभित्रै उच्च शिक्षाको चाहले गाज्ँयो ।

तर घरमा भन्ने हिम्मत नै थिएन । तर उहाँले वर्षामा यसरी काम गर्नुभयो, बुवाले खुशी भएर उपहार नै दिनुभयो । 

‘खेतबारीमा जोतिएर काम गरेको स्याब्बासीस्वरुप बुवाले एक हजारको नोट हातमा थमाइदिँदै भन्नुभयो, “राम्रो लुगा लगाएस् ।”, तर मलाई लुगाभन्दा पढ्न मन । लुगा हाल्न भनेर हिँडे काठमाण्डौसम्म आउन हवाई  टिकट भाडा २४५ रुपैयाँ लाग्थ्यो । टिकट काटेँ । भागेर काठमाण्डौ आएँ’, राईले भन्नुभयो । 

बुवासँग सँधैजसो विवाद

सधैँ बिहानदेखि साँझसम्म हलो र माटोसँग खेल्नु पर्ने । कहिल्यै फुर्सद नपाइने । रातदिन खटिएर गरेको दुःखले भने वर्ष दिनलाई नि खान नपुग्ने । राईलाई हरेक दिनको यो रुखो दुःखले दिक्क पारेको थियो । एक त पढ्ने इच्छामा कामको तगारो अर्को दुःखअनुसारको फल नहुने । 

एकदिन त मुखै फोरेरे उहाँले बुवालाई जवाफ लाउनुभयो, ‘तपाईँ केको ब्रिटिस आर्मी । ब्रिटिस आर्मीले त तराई–मधेस, धरानतिर पो जग्गा जमिन जोड्छन् । यस्ता रुखो जमिनमा आएर बस्ने नि के ब्रिटिस आर्मी ?’

‘त्यतिबेला रिसको झोकमा भने अहिले किन भनेछु भन्ने लाग्छ’, राई भन्नुहुन्छ, यतिबेला बुवा भइदिएको भए मेरो काम, लगाव देखेर औधी खुशी हुनुहुन्थ्यो होला । अहिले उहाँ यो धरतीमै हुनुहुन्न ।’

उच्च शिक्षा भन्दा राजनीतिको भारी ठूलो भयो 

संखुवासभादेखि उच्च शिक्षाको सपना देखेर काठमाण्डौ आएको । त्यसकै लागि प्रदर्शनी मार्गको रत्नराज्य लक्ष्मी क्याम्पसमा भर्ना पनि हुनुभयो राई । तर पढाइभन्दा राजनीतिको हावाले छोयो । झोला बोक्यो विद्यार्थी नेताको पछि लाग्यो  । राजनीतिक कार्यक्रमका विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रममा झोला बोक्यो दौडियो । त्यसै गरी बित्यो केही वर्ष । 

राजनीतिक कार्यक्रमकै लागि एक पटक गृह जिल्ला जानु पर्ने भयो । जानु पनि भयो । त्यहाँ बुवासँग भेट भयो । बुवालाई छोराले राजनीतिको झोला बोकेर हिँडेको ठीक लागेन, पटक्कै मन नै परेन ।  झपार्नु भयो । राईलाई पनि बुवाले भनेजस्तै हो झैँ लाग्यो । त्यहाँको कार्यक्रम सकेर काठमाण्डौ आउनुभयो । अनि राजनीतिको झोला थपक्क एउटा कुनामा राखेर, सुरु गर्नुभयो मनले चाहेको काम ।

पढाइसँगै उहाँले पढाउने पेशालाई पनि अघि बढाउनुभयो । कुनै एउटा निजी विद्यालयमा पढाउँदा पढाउँदै उहाँलाई आफैँले केही गर्नुपर्दछ भन्ने लाग्यो । 
अनि आफैंँले एउटा विद्यालयको परकल्पण्ना गर्नुभयो । जहाँ शिक्षासँगै खेलकुद पनि होस् ।  नामाकरण गरियो : न्यू डाइमण्ड एकेडेमी । 

उहाँले आफ्नो विद्यालयमा पढाइसँगै खेलकुदलाई पनि प्राथमिकता दिनुभयो । तर अभिभावकको चित्त बुझाउन सोचेजति सजिलो भने थिएन । 
भलिबल खेलाउन बिन्ती बिसाउनु पर्ने त्यो क्षण

पुरुष फुटबल, क्रिकेटको जताजतै चर्चा । तर भलिबलमा महिलाको सहभागिता र प्रतियोगिता कतै खासै नहुने । सानै बेलादेखिको रुची भलिबलमा । तर खेल खेलाउन छात्रा नै नहुने । 

‘बल्लतल्ल आमाबुवालाई सम्झाइ–बुझाइ गर्यो । दुई चार घण्टासम्म बसेर अभिभावकलाई त खेल्न छोरी पठाउँछु भन्ने पारेर आयो । भोलिपल्ट स्कूलमा अर्को रमिता हुने । फकाइफुलाइ गरी छोरी बिगार्ने भन्दै हप्काउन काका, मामा आइपुग्थे । कति बेला त किन सुरु गरेछु यो खेल भनेर कन्पारो तातिन्थ्यो ।’ उहाँले विगत कोट्याउँदै संघर्षका कथा सुनाउनुभयो । 

‘सबैतिर दौडधुप । नानीहरुको भविष्य बनाउँ भनेर सोच्यो, उल्टै गाली खाइने । यो भलिबलसित मेरो प्रेम छ, योसँग म अधुरो प्रेम लगाउँदिन । जतिसुकै कठिनाइ भए पनि संघर्ष गरेँ, गर्दैछु र गरिरहन्छु ।’

राईले उतिबेलाका सबै दुःखलाई चुनौतीको रुपमा लिनुभयो । जसको फलस्वरुप महिला भलिबलको प्रशिक्षण दिन थालेको एक दशक बित्यो । यो अवधिमा उहाँले रमिला तण्डुकारदेखि प्रतिभा मालीजस्ता राष्ट्रिय खेलाडी जन्माउनुभयो, जन्माउँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: फागुन ३, २०७५

दीपा तिमल्सिना

दीपा तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया