सरकारको कामप्रति नेकपाका वरिष्ठ नेता नेपालको असन्तुष्टि

 माघ २७, २०७५ आइतबार १८:६:२० | उज्यालो सहकर्मी
unn.prixa.net

मकवानपुर – सत्तारुढ दल नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारको कामप्रति असन्तुष्टि जनाउनु भएको छ ।

वरिष्ठ नेता नेपालले नागरिकको असन्तुष्टिलाई सुनेर तत्काल सम्बोधन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । आइतबार हेटौंडामा स्थानीय सञ्चारकर्मीमाझ उहाँले नागरिकको चाहनाअनुसार सरकारले आफ्नो काममा सुधार गर्दै लैजानुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।

वरिष्ठ नेता नेपालले पार्टी संगठनहरुको एकीकरणमा धेरै ढिला भएकाले पार्टी भित्र निराशा र असन्तुष्टि बढेको उल्लेख गर्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउनुभयो । फरक प्रसंगमा नेता नेपालले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बिनाएजेन्डा आन्दोलन सुरु गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले आफ्नो नेताले भ्रष्टाचार गरेको भए ढाकछोप गर्ने नियत राखेर कांग्रेसले आन्दोलन सुरु गरेको उल्लेख गर्दै त्यसलाई नागरिकले सकारात्मक रुपमा लिन नसक्ने दाबी पनि गर्नुभयो ।

वरिष्ठ नेता नेपालले कांग्रेसलाई भ्रष्टाचार नियन्त्रण र देशको सुशासनका लागि सरकारलाई सचेत गराउने अभियानमा लाग्न पनि आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया