म्याग्दीमा जीप दुर्घटना : १२ जना घाइते, गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत पोखरा लगियो

 माघ २७, २०७५ आइतबार १८:३८:५६ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा आइतबार ग १ ज ५८९९ नम्बरको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

सदरमुकाम बेनीदेखि राखुका लागि छुटेको जीप गलेश्वरभन्दा माथि दुई घुम्तीमा पुगेर दुर्घटना हुँदा १२ जना घाइते र एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । 

जीपमा सवार रघुगंगा–३, राखुपिप्लेकी ३७ वर्षीया सरस्वती परियार गम्भीर घाइते हुनुभएको छ । गम्भीर घाइते परियारको बेनी अस्पताल म्याग्दीमा उपचारपश्चात् थप उपचारका लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो । उहाँको फोक्सोमा समस्या देखिएको, करङहरु भाँचिएको र ३२ देखि ३४ हप्ताको गर्भ रहेको हुँदा पोखरा रिफर गरिएको बेनी अस्पतालका क्लिनिकल कोअर्डिनेटर डाक्टर नवराज वस्ताकोटीले जानकारी दिनुभयो ।

घाइते हुनेहरुमा रघुगंगा–२, भगवतीका ५६ वर्षीय कर्णबहादुर कार्की, रघुगंगा–३, राखुपिप्लेका ३१ वर्षीया राजकुमारी मल्ल, उहाँकी ४ वर्षीया छोरी सजनी मल्ल, बेनी नगरपालिका–८, बेनीका ३५ वर्षीय दुर्गा पौडेल, रघुगंगा–२, राखुपिप्लेका ७५ वर्षीय गोविन्द शर्मा घाइते भएको बेनी अस्पतालका सूचना अधिकारी प्रकाश घिमिरेले बताउनुभयो ।

यसैगरी अन्य घाइतेहरुमा रघुगंगा–३, पिप्लेका १५ वर्षीय सरोज बस्याल, रघुगंगा–२, भगवतीका १५ वर्षीया आरुसी घर्ती, पिप्लेका ५३ वर्षीय दिलबहादुर सार्की, भगवतीका २९ वर्षीया सम्झना भण्डारी, जलजला गाउँपालिका पर्वत, मल्लाजका २२ वर्षीया सिर्जना जिसी र उहाँको एक वर्षीय छोरा आहान जिसी घाइते भएको सूचना अधिकारी घिमिरेले बताउनुभयो । 

घाइते भएका अधिकांशको टाउको, छाती, हातखुट्टा र अनुहारमा चोटपटक लागेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । घाइते सबैको अहिले बेनी अस्पताल म्याग्दीमा उपचार भैरहेको छ । 

सवारीचालक गोपी परियारलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भैरहेको बताएको छ । जीप सडकबाट झण्डै १ सय मिटर तल खसेको बताइएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया