भारतसँगको सीमासम्बन्धी समस्या साढे ३ वर्षभित्र समाधान गर्ने सरकारको योजना

 माघ २७, २०७५ आइतबार १८:४७:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले साढे ३ वर्षभित्र भारतसँगको सीमासम्बन्धी समस्या समाधान गर्ने योजना अघि सारेको छ । 

परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले साढे ३ वर्षभित्र भारतसँगको सीमासम्बन्धी सबै समस्या समाधान गर्ने योजना अघि सार्नु भएको हो । 

आइतबार संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालको सीमा सुरक्षा व्यवस्थापन सम्बन्धमा भएको छलफलमा उहाँले सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी बढाउँदै लगेको पनि जानकारी दिनुभयो । हाल १ सय ४ वटा सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी रहेकोमा अब त्यसलाई बढाएर १ सय ७४ वटा पु¥याउने मन्त्री ज्ञवालीको योजना छ । 

सीमा सुरक्षा चौकीको विस्तार नेपालको भूमि कतैबाट पनि अतिक्रमण नहोस् भन्ने उद्धेश्यले गर्न लागिएको पनि मन्त्री ज्ञवालीले समितिलाई जानकारी गराउनुभयो ।

उहाँले नदीमार्फत् हुने सीमा अतिक्रमण रोक्नका लागि सीमा स्तम्भ बनाउनुपर्ने भएकाले त्यसका लागि सरकारले बजेट जुटाउने काम गरिरहेको पनि बताउनुभयो ।

बैठकमा समितिका सदस्यहरुले सीमा क्षेत्रका नागरिकको लालपूर्जासमेत खोसेर सीमा मिचिने गरेको भन्दै ती समस्या समाधानका लागि तत्काल पहल गर्न सरकारलाई सचेत गराएका थिए । सीमा सुरक्षाका लागि सुरक्षा चौकीहरु बनाउँदा नेपालले अन्तराष्ट्रिय कानुन अनुसार स्वाधिन राष्ट्रको हैसियतले बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याएका छन । समितिका सदस्य भीम रावलले नेपाली भूमिको सुरक्षा हुने व्यवस्थासहित सुरक्षा चौकीहरुको स्थापना गर्न सरकारलाई सचेत गराउनुभयो । उहाँले अन्तर्राष्ट्रिय कानुनले दिएको अधिकारको प्रयोग गरेर भारत र चीन दुवै देशबाट नेपालको सीमा अतिक्रमण हुन नदिने सुनिश्चित गर्न पनि सरकारसँग माग गर्नुभयो ।

समितिकी सदस्य उमा रेग्मीले सीमा क्षेत्रका नागरिकको लालपूर्जा नै खोसेर नेपालको सीमा मिचिएको उल्लेख गर्दैै त्यस्ता काम हुन नदिन सरकारलाई सचेत गराउनुभयो । उहाँले भारतसँग विगतमा गरिएका सबै असमान सन्धि, सम्झौता पुनरावलोकन गरेर भए पनि दुई देशबीचको सीमा समस्या समाधान गर्न ढिलाइ गर्न नहुनेतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

समितिका सदस्यहरुले विगतमा सरकारले चासो नदिएकाले नेपाल–भारत सीमा समस्या बढ्दै गएको पनि बताएका थिए ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया