पुनर्स्थापना गर्न सरकारले ढिलो गरेको भन्दै बर्दियाका मुक्त कमैयाले बुझाए ज्ञापनपत्र

 असार ७, २०७५ बिहिबार १८:४७:१२ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाका मुक्त कमैयाले पुनःस्थापना गर्न ढिलाई भएको भन्दै बर्दिया जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा १२ बुँदे मागसहित ज्ञापनपत्र पेश गरेका छन् ।

मुक्त कमैयाको क्षेत्रमा काम गर्ने संस्था कमासु दिगो विकास समाज, बर्दिया र मुक्त कमैया समाजको नेतृत्वमा हजारौ संख्यामा मुक्त कमैया तथा परिवारहरु बर्दिया सदरमुकाम गुलरियामा आएर ज्ञापनपत्र बुझाएका हुन् । मुक्तकमैयाहरु सदरमुकाम गुलरियामा भेला भएर मादल बजाउँदै र्यालीसहित ज्ञापनपत्र बुझाउन पुगेका थिए ।

सुतेको सरकारलाई सांकेतिक रुपमा उठाउनका लागि मादल बजाएर र्यालीसहित ज्ञापनपत्र बुझाइएको कमासु दिगो विकास संस्थाका अध्यक्ष बिन्तिराम थारुले जानकारी दिनुभयो । १८ वर्षअघि २०५७ साल साउन १ गते नेपाल सरकारले कमैयाहरुलाई मुक्त भएको घोषणा गरेको थियो । 

नेपाल सरकारले अर्थिक वर्ष २०५७/५८ सालदेखि नै प्रत्येक वर्ष मुक्त कमैयाहरुको पुनःस्थापना गर्ने नीति तथा कार्यक्रमहरु बनाउँदै आए पनि अझैसम्म पनि नेपाल सरकारले उचित व्यवस्थापन गर्न नसकेकाले राज्यको ध्यानार्कषण गर्नका लागि यो ज्ञापनपत्र पेश गरेको कमासु दिगो बिकास संस्थाका अध्यक्ष बिन्तिराम थारुले बताउनुभयो ।

नेपाल सरकारले मुक्तकमैयाहरुलाई पुनःस्थापना गर्नमा ढिलासुस्ती तथा फितलो तरिकाले गरिहेकोले मुक्तकमैयाको समस्या जटिल बन्दै गएको ज्ञापनपत्रमा उल्लेख छ । मुक्त कमैयाको पुनःस्थापना कार्य ज्ञापनपत्र बुझाएको ३० दिन भित्र काम सुरु नभएमा चरणबद्ध रुपमा आन्दोलन गर्ने समेत अध्यक्ष चौधरीले बताउनुभयो । 

अन्तिम अपडेट: फागुन २९, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया