काठमाण्डौको बालाजु बाइसधारामा आजदेखि पाँच दिने मेला
बैशाख ११, २०८१ मंगलबार
रुकुम पूर्व – एक वर्षदेखि जारी रुकुम पूर्वको सदरमुकामसम्बन्धीको विवाद संवैधानिक इजलासमा पठाइएको छ । सर्वोच्च अदालतको आजको पूर्ण इजलासले त्यो मुद्दालाई संवैधानिक इजलासमा पठाउने फैसला गरेको हो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशमान सिंह राउतको आजको पूर्ण इजलासले सदुरमुकामसम्बन्धीको मुद्धालाई संवैधानिक इजलासमा पठाउने फैसला गरेको हो ।
मुद्दा संवैधानिक इजलासमा पठाइए पनि संवैधानिक इजलासले पेशी भने तोकेको छैन । भोलि ११ बजे संवैधानिक इजलासले पक्ष र विपक्षलाई बोलाएको छ । संवैधानिक इजलासले भोलि नै पेशी तोक्ने छ । २०७४ माघ १७ गते परेको रिटमाथि छलफल गर्नका लागि आज १७औं पेशी तोकिएको थियो ।
यस मुद्दामा अब संवैधानिक इजलासले फैसला गर्ने छ । सरकारले निर्णय गरिसकेको र त्यो निर्णय खारेजको मागसहित परेको मुद्दामा सर्वोच्चले लामो समय बहस गर्दै अन्ततः सर्वोच्च अदालत मातहतको संवैधानिक इजलासमा पठाएको हो ।
रुकुम पूर्वको अस्थायी सदरमुकाम रुकुमकोटमा रहेको बेला गत वर्षको माघ ११ गते तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा नेतृत्वको सरकारले पुथा उत्तरगंगा गाउँपालिकाको वडा नं. १२ गोलखाडामा तोक्ने निर्णय गरेको थियो ।
त्यसको विरुद्धमा अधिवक्ता गणेश हमाल, स्थानीय कृष्ण रेग्मी र दत्तवहादुर बस्नेतले गत वर्षको माघ १७गते सरकारलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । त्यसपछि सर्वोच्चले त्यस रिट माथि छलफलका लागि पटकपटक पेशी तोक्दै आएको थियो ।
एक सातादेखि रुकुमकोटमा निषेधाज्ञा कायमै
सदरमुकामसम्बन्धीको विवाद बढ्दै जाँदा रुकुमकोटमा एक साता अघिदेखि जारी गरिएको निषेधाज्ञा कायमै रहेको छ । सदरमुकाम रुकुमकोट हुनुपर्ने र गोलखाडामा हुनुपर्ने मागसहित दुई पक्ष आन्दोलनमा उत्रिएपछि जिल्ला प्रशाशन कार्यालयले गएको आइतबार रातिदेखि रुकुमकोटमा निषेधाज्ञा जारी गरेको हो ।
सरकारले गोलखाडामा सदरमुकाम तोक्ने निर्णय गरेकै दिनदेखि जिल्लाको रुकुमकोटवासी आन्दोलनमा छन् । पछिल्लो समय तत्कालीन सरकारको निर्णय कार्यान्वयनको माग गर्दै गोलखाडा पक्षधर पनि आन्दोलनमा उत्रिएका छन् ।