चेल्सीको पोस्टमा म्यानचेस्टर सिटीको आधा दर्जन गोल, सिटी शीर्ष स्थानमा फर्कियो

एग्युरोको कीर्तिमान

 माघ २८, २०७५ सोमबार ६:५०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

चेल्सीलाई ६–० गोलले हराउँदै म्यानचेस्टर सिटी पुनः इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

घरेलु मैदान इथिहाड रंगशालामा सर्जियो एग्युरो प्रेरित सिटीले चेल्सीलाई लज्जास्पद हार चखायो । एग्युरोले प्रिमियर लिगमा ११ ह्याट्रिकको कीर्तिमान बराबरी गर्दा रहिम स्टिर्लिंगले २ र गुण्डोगानले १ गोल गरे ।

जितपछि सिटीको २७ खेलबाट ६५  अंक भएको छ र उसले शीर्ष स्थानमा पुनरागमन गरेको छ । एक खेल कम खेलेको लिभरपुलको पनि समान अंक छ । गोलअन्तरमा लिभरपुल सिटीभन्दा पछि छ ।  

यो हार चेल्सीका लागि भने महंगो परेको छ । उसले चौथो स्थानमा उक्लने अवसर गुमाएको छ । पाँचौं स्थानमा रहेको चेल्सीको २६ खेलबाट ५० अंक छ । समान खेलबाट चौथो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५१ र छैटौं स्थानमा रहेको आर्सनलको ५० अंक नै छ ।  

चौथो मिनेटमै स्टर्लिंगले सिटीका लागि गोलको खाता खोलेका थिए । एग्युरोले ६ मिनेटको अन्तरमा २ गोल गरेपछि सुरुआती २० मिनेटभित्रै चेल्सी ३–० ले पछि परेको थियो । उनले १३औं र १९औं मिनेटमा गोल गरेका थिए ।

२५औं मिनेटमा गुन्डोगानले गोल गरी पहिलो हाफमा सिटीको अग्रता ४–० मा पुर्‍याए । दोस्रो हाफमा सिटीले २ गोल थप्यो । एग्युरोले ५६औं मिनेटमा पेनाल्टीमार्फत गोल गरी प्रिमियर लिगमा ११औं ह्याट्रिकसहित कीर्तिमान बराबरी गरे ।

यसअघि प्रिमियर लिगमा ह्याट्रिकको कीर्तिमान एलन सेररको नाममा थियो । उनले सन् १९८८ देखि २००६ सम्म साउथह्याम्प्टन, ब्ल्याकबर्न रोभर्स र न्युकाशल युनाइटेडबाट खेल्दा यो उपलप्धि हासिल गरेका थिए  ।

८० औं मिनेटमा स्टर्लिंगले व्यक्तिगत दोस्रो गोल गर्दा सिटीले ६–० को जित निकाल्यो । यो प्रिमियर लिगमा सन् १९९१ यता चेल्सीको सबैभन्दा खराब नतिजा हो ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया