सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’

 माघ २८, २०७५ सोमबार ११:३८:३० | रासस
unn.prixa.net

सिरहा – सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले आइतबारदेखि प्रदेश नं २ मा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ ।

प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए/नभएको जानकारी दिने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएको हो । 

सप्तरीको शम्भुनाथ नगरपालिकास्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रदेश नं २ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक हरिबहादुर पालले उक्त एप्सको शुभारम्भ गर्नुभयोे । 

प्रहरी नायब महानिरीक्षक पालले लामो दूरीका सवारीसाधनमा एक मात्र चालक राख्दा निदाएर दुर्घटना भइरहेको भन्दै अब उप्रान्त सवारीसाधनले दुई चालक राख्नुपर्ने बताउनुभयो । 

दुई चालक राखे/नराखेको पत्ता लगाउनकै लागि यो एप्सको निर्माण गरिएको बताउनुहुँदै उहाँले यो एपमार्फत त्यो कुरा पत्ता लगाइने र एक मात्रै चालक राख्नेलाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो । 

लामो दूरीका सवारी चालक, बस नम्बर तथा प्रस्थान समय इन्टरनेटको सर्भरमा राखेपछि विभिन्न प्वाइन्टमा जाँचका क्रममा उही चालक भेटिएमा कारवाही गरिने व्यवस्था गरिएको प्रदेश नं २ का ट्राफिक प्रहरी प्रमुख किरण बर्जाचार्यले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया