सलमान रुस्दी भन्छन् : अब म लुक्न चाहन्नँ

 माघ २८, २०७५ सोमबार १६:२९:२५ | रासस
unn.prixa.net

इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहेका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थालेका छन् । 

पेरिस भ्रमणका क्रममा रुस्दीले एएफपीसँग कुरा गर्दै रुस्दीले भने, ‘म अब लुक्न चाहन्नँ ।’

यी उपन्यासकारको जीवन सन् १९८९ फेब्रुअरी १४ मा सदाका लागि एकाएक परिवर्तन भएको थियो । इरानी धार्मिक नेता खोमेनीले रुस्दीको पुस्तक ‘द सटानिक भर्सेज’ इस्लाम विरोधी भएको जनाउँदै रुस्दीको हत्या गर्न आदेश (फतवा) जारी गरेका थिए ।  

तेहरानले हरेक वर्ष यो फतवा जारी गरिरह्यो । 

रवीन्द्रनाथ टेगोर छिका सर्वाधिक सफल भारतीय लेखक मानिएका रुस्दीले १३ वर्षसम्म कसैले सहजै नचिनुन् भनेर नक्कली नाम राखेका थिए । उनलाई प्रहरीले निरन्तर सुरक्षा दिएको थियो । 

‘म त्यतिखेर ४१ वर्षको थिएँ, अहिले ७१ वर्ष पुगिसकेँ । अहिले परिस्थिति ठीकै देख्छु’, उनले गत सेप्टेम्बरमा भनेका थिए, ‘हामी निकै तीव्र रुपमा परिवर्तन भइरहेको विश्वमा छौँ । र यो निकै पुरानो विषय पनि हो । अहिले अरु धेरै कुराले मानिसलाई व्यग्र बनाउन थालेका छन्, र अरु कुनै व्यक्तिले पनि कसैको हत्या गर्न सक्छ ।’ 

रुस्दीले सन् २००१ को सेप्टेम्बर ११ देखि नक्कली नाम राख्न छाडेका थिए । तेहरानले रुस्दीमाथिको चेतावनी फिर्ता लिएको तीन वर्षपछि उनले नक्कली नाम राख्न छाड्नुभएको हो । 

तर एएफपीलाई पेरिसको एक प्रकाशन गृहमा अन्तर्वार्ता दिँदा पनि कार्यालयको मूल गेटमै सादा पोशाकका प्रहरीको निगरानी थियो । कार्यालयबाहिरको परिसरमा पनि अरु प्रहरीले सुरक्षा दिएका थिए । 

यसअघि, पूर्वी फ्रान्समा आयोजित एक पुस्तक प्रदर्शनीमा सर्वसाधारण श्रोताकै रुपमा उनी सहभागी भएका थिए, तर न्यूयोर्कमा भने उनी विल्कुलै सामान्य जीवनमा रहने गर्छन् । न्यूयोर्कमा उनी झण्डै दुई दशक बसे । ‘म भूमिगत बाटो (सब वे) बाटै यात्रा गर्दछु’, उनले भने । 

‘द सटानिक भर्सेज’ रुस्दीको पाँचौं पुस्तक हो । अहिले उनको १८औं पुस्तक आइसकेको छ । भर्खरौं उनको “दी गोल्डेन हाउस” प्रकाशन भएको छ जुन भारतको मुम्बईका एक व्यक्तिको बारेमा छ । 

दङ्गा, बम आक्रमणको योजना तथा द सटानिक भर्सेज पुस्तकका एक अनुवादकको हत्या एवं अरु दुई जनामाथि गोली र चक्कु प्रहारको दुर्दान्त विगत देखेका रुस्दीले भन्छन्, ‘त्यो अब अतितको भइसक्यो ।’

‘इस्लामको केही कुरै होइन । कसैले पनि त्यसरी सोचेका थिएनन्’, द सटानिक भर्सेज प्रकाशनका दिनहरुको स्मरण गर्दै उनले भने, ‘पश्चिमा मुलुकका मानिसहरु पहिलेभन्दा बढी जानकार देखिएका थिए ।’

त्यति हुँदा पनि, पुस्तकका बारेमा गलत बुझियो । उनी भन्छन्, ‘यो पुस्तक मूलतः लन्डनमा रहेका दक्षिण एसियाली आप्रवासीहरुका बारेमा थियो ।’

रुस्दीका साथी बेलायती–पाकिस्तानी लेखक हनिफ कुरेसी यो पुस्तक लेख्ने दुस्साहस कसैले नगर्ने बताउँदै छाप्ने त अझ कठिन रहेको बताउँछन् । 

कुरेसीले द सटानिक भर्सेजको पाण्डुलिपी पढ्दासमेत आफूले कुनै विवादित विषय नदेखेको स्वीकार गरेका छन् । उनले भनेका छन्, ‘पुस्तकमा अतिवादीहरुलाई उत्तेजित तुल्याउने त्यस्तो केही थिएन । मैले यो पुस्तकमा पागलपन, नवीनता र परिवर्तनका कुरा देखेको छु ।’

तैपनि यो पुस्तकले सिर्जना गरेको रापतापले राजनीतिक इस्लामको उदयलाई प्रश्रय दिएको छ । 

रुस्दी आफैँ पनि दार्शनिक मानिन्छन् । यस्तो पुस्तक लेखेकामा पश्चाताप लागेको छैन भनी सोधिएको प्रश्नमा उनी भन्छन्, ‘मलाई कुनै पछुतो छैन ।’
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया