युरोपियन च्याम्पियन्स लिग : चोटले सताएको पीएसजी, फर्ममा रहेको म्यानचेस्टर युनाइटेड

 माघ २९, २०७५ मंगलबार ७:०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनलका खेलहरु मंगलबारदेखि सुरु हुँदैछन् । जसमा मंगलबार दुई जाइन्ट क्लब पेरीस सेन्ट जर्मेन र म्यानचेस्टर युनाइटेड खेल्दैछन् । अर्को खेल रोमा र एफसी पोर्तोबीच हुनेछ ।

इंग्ल्याण्डको वल्र्ड ट्राफोर्डमा खेल्ने तयारीमा रहेको पीएसजीलाई खेलाडीको चोटले सताएको छ । स्टार खेलाडी नेइमार, थोमस मुनियर र इडिन्सन काभानी चोटका कारण टिममा हुने छैनन् । पछिल्लो पटक काभानी हिपको चोटका कारण बाहिर भएका छन् । आफ्ना मुख्य खेलाडी बिना नै इंग्ल्याण्ड पुगेको पीएसजी विरुद्ध घरेलु टिम भने आफ्नो प्रिमियर लिगको फर्मलाई कायम राख्न चाहन्छ । 

पछिल्ला ११ खेलमा अपराजित रहेको युनाइटेड सन् २०१४ पछि क्वार्टरफाइनलमा पुग्ने लक्ष्यमा रहेको छ । मंगलबारको खेलमा प्रशिक्षक गुनरले मार्कुस रासफोर्ड, एलेक्सिस सान्चेज र जेसी लिंगार्डलाई टिममा राख्ने संभावना रहेको छ । तीनै खेलाडीलाई फुलहाम विरुद्धको खेलमा बेन्चमा राखिएको थियो । तीन पटकका च्याम्पियन युनाईटेडले पछिल्ला नौ नकआउट खेलमा एकमात्र जितेको छ । त्यो पनि डेविड मोयजको प्रशिक्षणमा ५ वर्ष अगाडि हात पारेको थियो । म्यानचेस्टर युनाइटेड र पीएसजी च्याम्पियन्स लिगमा पहिलो पटक खेल्न लागेका हुन् ।

युरोपियन प्रतियोगितामा म्यानचेस्टर युनाइटेडलाई उसको मैदानमा कुनै पनि टिमले हराउन सकेको छैन । यता पीएसजीले पछिल्ला १० अवे खेलमा एकमा मात्र जित निकालेको छ । 

च्याम्पियन्स लिगको समूह चरणमा पीएसजीले सबैभन्दा धेरै १७ गोल गरेको थियो । नयाँ प्रशिक्षक गुनरको रणनीतिमा खरो उत्रिएको म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिगमा भने समूह चरणमा सात गोलमा चार गोल ८५ मिनेटपछि गरेको छ । मंगलबार नै इटालियन क्लब रोमा र एफसी पोर्तोबीच प्रतिस्पर्धा हुनेछ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया