अहिले मिडिया नै लोकतन्त्रको लागि खतरा बनिरहेको छ

 माघ २९, २०७५ मंगलबार ११:५७:१४ | बृजेश सिंह
unn.prixa.net

दुई वर्ष पहिले एउटा सानो टिम र ठूलो सपनाका साथ हामीले ‘द वायर हिन्दी’ को सुरुवात गरेका थियौँ ।

अहिलेसम्मको हाम्रो अनुभव कस्तो रह्यो ? हामीले के गर्‍याैँ, के गरेनौँको चर्चा गर्नुभन्दा पनि पहिले ‘द वायर हिन्दी’को सुरुवात कस्तो समयमा भयो भन्ने कुरा थाहा पाउनु जरुरी छ । हामीले कस्तो वातावरणमा काम गरिरहेका छौँ, त्यसको बारेमा कुरा गर्नु अत्यन्तै आवश्यक रहेको छ ।

यो समय मिडिया सरकारी र दरबारी भैरहेको समय हो । यसको पहिचान गोदी मिडिया र भजन मण्डलीका रुपमा भैरहेको छ । हामी अहिले त्यस्तो कालखण्डमा छौँ कि मिडिया स्वयम् नै लोकतन्त्रका लागि खतरा बनेको छ । मिडिया अहिले आम नागरिकको विरुद्ध उभिएको छ । यसले नागरिकविरुद्ध षड्यन्त्र रचिरहेको छ ।

यो समय फेक न्यूज अर्थात नक्कली समाचारको पनि हो । अहिले फेक न्यूजको एउटा तन्त्र नै स्थापित भएको छ ।

समाचार च्यानलमा रातदिन हिन्दू–मुस्लिम र मन्दिर–मस्जिदको विषाक्त बहस चलिरहेको छ । मानिसहरुलाई देशभक्त र देशद्रोहीको प्रमाणपत्र बाँड्ने काम भैरहेको छ ।

मिडियाको एउटा ठूलो हिस्सा आफ्नो कर्तव्य र जिम्मेवारीबाट विमूख भएर समाजमा विष घोल्ने काम गरिरहेको छ । उ नागरिक होइन, दङ्ग्याहारुको भिड तयार गर्न जोडतोडले लागिरहेकाे छ ।

आजभोलि मिडिया नागरिकको हितका लागि संघर्ष गर्नेहरुलाई बिनातथ्य एकै सासमा नक्सली, गद्धार तथा देशद्रोही भनिदिन्छ । सत्ता र सत्ताधारीहरुसँगको अलिङ्गनमा रमाउन अहिले मिडियाले अलिकति पनि लाज मान्दैन । प्रताडित बनाउनेहरुसँग प्रश्न गर्नुको साटो पीडितलाई प्रताडित बनाउन मिडिया उद्धत रहेको छ ।

यो यस्तो कालखण्ड हो, जहाँ सरकार तथा कुनै राजनीतिक पार्टीका प्रवक्ता र एक पत्रकारबीचको भिन्नता समाप्त भएको छ । चौबीसै घण्टा साम्प्रदायिकताको भट्टी जलाएर बसेको छ मिडिया । नागरिकका मुद्दा एकातिर छ भने मिडियामा अरु नै केही चलिरहेको छ ।

यो समय फेक न्यूज अर्थात नक्कली समाचारको पनि हो । अहिले फेक न्यूजको एउटा तन्त्र नै स्थापित भएको छ । ट्रोल्स पनि अवस्था त्यस्तै सिर्जना गएिको छ । फेक न्यूज र ट्रोलिङ अब अपवाद होइन, मुख्यधाराको राजनीतिक परियोजनाको हिस्सा बनिसकेको छ ।

सुन्दै अजीबोगरिब लाग्ने नाम भएका सामाजिक सञ्जाल एकाउण्ट मात्रै होइनन्, मुख्यधाराका सञ्चार माध्यम पनि नक्कली समाचार फैलाउने धन्दामा लागेका छन् । सरकारकै मन्त्रीहरु नक्कली समाचारलाई बढावा दिइरहेका छन् । बलात्कार तथा हत्याको धम्की दिनेहरुलाई सरकारकै मन्त्री तथा प्रधानमन्त्री फलो गर्छन् । 

भारतमा एक वृद्ध पत्रकारको हत्या एक जना व्यक्ति एउटा कुकुरको मृत्युको संज्ञा दिन्छन्, त्यस्ता व्यक्तिलाई समेत प्रधानमन्त्रीले ट्विटरमा पछ्याउँछन् । प्रधानमन्त्री यस्ता व्यक्तिसँग किन र कसरी जोडिए भन्ने प्रश्न त छँदैछ । प्रश्न उठेपछि पनि ती व्यक्तिलाई अनफलो नगरेको कुरा भने लाजमर्दो नै छ । 

सत्य बोल्नुहोस् । कमजोर तथा पीडितको पक्षमा उभिने काम गर्नुस् र सत्तासँग प्रश्न गर्नुस् । हाम्रो लागि त यही नै हो पत्रकारिता ।

प्रधानमन्त्री सामाजिक सञ्जालमा यस्ता मान्छेसँग जोडिएका छन् कि जसले वैचारिक असहमति राख्नेहरुलाई बलात्कार र हत्यासमेतका धम्की दिइरहेका हुन्छन् ।

यस प्रकारका आपराधिक र असामाजिक तत्वहरुलाई १सय ३० करोड जनसंख्या भएको देशको प्रधानमन्त्रीले फलो गर्छन् भने तिनीहरुको मनोबल र दुस्साहस नबढेर के बढ्छ त ? कस्तो प्रवृत्तिलाई सत्ताले बढावा दिन खोजेको हो ?

त्यसैले म भन्छु कि यस्तो समयमा ‘द वायर’ हुनु अति आवश्यक छ ।

मैले सोचे कि यी दुई वर्षमा हामीले विशेष के काम गर्यौँ त ? मलाई लाग्छ हामीले त्यस्तो उल्लेखनीय केही गरेनौँ । हामीले खाली हरेक सञ्चार माध्यम र पत्रकारले गर्नुपर्ने काम गर्‍याैँ। सत्य बोल्नुहोस् । कमजोर तथा पीडितको पक्षमा उभिने काम गर्नुस् र सत्तासँग प्रश्न गर्नुस् । हाम्रो लागि त यही नै हो पत्रकारिता । यी दुई वर्षमा हामीले पनि यही काम गर्‍याैँ ।

गएको दुई वर्षमा ‘द वायर’ हिन्दीले दूरदराजमा रहेका गाउँका कुरा गर्यो । दलित, आदिवासी, पिछडिएका, पीडित, गरिब तथा शोषितका पक्षमा आवाज उठायो । महिला तथा अल्पसंख्यकको कुरा उठायो । किसान तथा विद्यार्थीको कुरा उठायो । हक र अधिकारका कुरा उठायो ।

संविधान र त्यसमाथि भैरहेको आक्रमणका बारेका कुरा उठायो । संस्थाहरुसँग गरिएको खेलवाड, सत्ता र सत्ताबाट लाभान्वित हुनेहरुसँग प्रश्न गर्‍यो ।

मुख्य धाराका मिडियामा ग्राउण्ड रिपोर्ट त देख्न र सुन्न नै छाडियो भन्दा पनि हुन्छ । अनलाइन मिडिया, ‘उप्स मुमेट’, र ‘कस्तो अचम्म’ जस्ता कथा सिर्जना गर्न लागेकोले ग्राउण्ड रिपोर्टका लगि समय नै छैन उनीहरुसँग । 

समाजका विभिन्न तह र तप्कामा रहेका नागरिक, जसका समस्या र आवाज मुख्यधाराका मिडियामा आउँदैनन्, त्यसलाई उठाउने काम गर्‍याैँ हामीले । हामीले विकास, किसान, आदिवासी तथा वञ्चित समुदायका खबर पढिँदैनन् भन्ने मानसिकतालाई तोड्ने प्रयास गर्‍याैँ ।

‘द वायर हिन्दी’का रिपोर्टहरुका बारेमा आएका प्रतिक्रियाले पनि यस्ता समाचार पढ्ने पाठकहरुको पनि ठूलो जमात छ भन्ने कुराको पुष्टि गरेको छ ।

तर यो यात्रा सहज भने रहेन । ‘द वायर’ले आफ्नो जनमूखी पत्रकारिताको मूल्य पनि चुकाइरहेको छ । आज ‘द वायर’ का साथ हजारौँ करोड रुपैयाँ बराबरको मानहानीको मुद्दा लगाइएको छ । हामीलाई डर, धम्की दिँदै रोक्ने प्रयास भैरहेको छ । तर हामीले यी सब चुनौतीका बाबजुद पनि पत्रकारिताको आदर्श र मूल्य मान्यतासँग कहिल्यै सम्झौता गरेका छैनौँ ।

‘द वायर’ यी सबै चुनौतीलाई सामना गर्न सक्नुको मुख्य कारण भनेको देशका आम नागरिक नै हो । जसले आफ्नो थौरै कमाइको एउटा हिस्सा ‘द वायर’का लागि समर्थन गरिरहेका छन् । हाम्रो पत्रकारितालाई निरन्तरता दिइराख्नका लागि आर्थिक सहयोग गरिरहेका छन् ।  पत्रकारितालाई बचाइराख्नका लागि द वायरलाई सहयोग गर्नेहरुको संख्या ठूलो रहेको छ ।

पाठकहरुको समर्थनको कुरा गर्दा मलाई एउटा ईमेलको सम्झना आयो । जो इलाहाबाद(नाम परिवर्तन गरी प्रयागराज बनाइएको छ) का विद्यार्थी थिए । उनले ईमेलमा लेखेका थिए, ‘तपाईँहरु राम्रो काम गर्दै हुनुहुन्छ । म अहिले पढिरहेको छु । जब म जागिर खान्छु, पहिलो महिनाको तलब ‘द वायर’लाई दिनेछु । तपाईँहरु यस्तै काम गर्दै जानुहोला ।’

‘द वायर’ एक युवाको आशा र स्नेहको धागोलाई चुँड्न दिनेछैन । उनको यो आशाले हामीलाई हाम्रो जिम्मेवारीबाट कहिल्यै पनि विचलित हुन दिनेछैन ।

स्वतन्त्र पब्लिक फन्डेड मिडिया अहिले लोकतन्त्रको आवश्यकता बनेको छ । कर्पोरेट तथा सरकारी दबाबमा अहिलेका मिडियाले काम गरिरहेका बेला उत्तरदायी पत्रकारिताको बाटो भनेको पब्लिक फन्डेड मिडिया नै हो ।

सरकार आउँछ, जान्छ । यस्तोमा नेताहरुले पनि निष्पक्ष र इमान्दार मिडिया उनकै हितमा छ भन्ने बुझ्नुपर्छ । विपक्षीमा हुँदा क्रान्तिकारी मिडिया र सत्तामा हुँदा दरबारी मिडिया चाहिन्छ भन्ने मानसिकताबाट नेता र राजनीतिक दल मुक्त हुनुपर्छ । 

जसरी हामीलाई यी दुई वर्ष विश्वास र समर्थन गर्नुभयो, आशा छ आउँदा दिनहरुमा यस्तै सहयोग पाइरहनेछौँ ।

–‘द वायर हिन्दी’ स्थापनाको दुई वर्ष पुगेको अवसरका आयोजित एक कार्यक्रममा कार्यकारी सम्पादक बृजेश सिंहले दिएको मन्तव्यको अनूदित अंश 

अन्तिम अपडेट: असार ३, २०७६

बृजेश सिंह

बृजेश सिंह द वायर हिन्दीका कार्यकारी सम्पादक हुन् । यसभन्दा पहिले उनी तहल्का हिन्दीका कार्यकारी सम्पादक थिए । बृजेश राजनीति, राष्ट्रिय सुरक्षा, मानव अधिकारसमेत अन्य विषयमा कलम चलाउँछन् । 

तपाईको प्रतिक्रिया