‘महिनावारीको रगतलाई पवित्र मान्नुपर्छ’

 माघ २९, २०७५ मंगलबार १६:२६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बम र बारुदको मुस्लोबाट भाग्दाभाग्दै बाँचेको म
सायद, यही शान्ति खोज्न बाँचेको होला
बाटो उस्तै गाह्रो छ
बम छैन, तर बारुदको  धुलो तातो उस्तै छ
अँध्यारो उस्तै, उकाली ओराली पनि 
तर पनि थाकेको छैन
हिँडिरहेको छु, उडिरहेको छु 
तीनै परेवाको जोडीसँगै 
सेता–सेता परेवाको हुलसँगै ।

लेखक तथा सामाजिक कार्यकर्ता राधा पौडेलले आफ्नै पुस्तक ‘अपवित्र रगत’को विमोचन कार्यक्रममा वाचन गरेका पंक्तिहरु हुन् यी । लेखक पौडेलले कवितामा भनेझैँ  निरन्तर महिला अधिकारका पक्षमा आवाज उठाउँदै आएकी छिन् ।

उनले राधा पौडेल फाउण्डेसन नै खोलेर सामाजिक काममा लागेकी छिन् । आफूले ‘मर्यादित महिनावारी’ का लागि पुस्तक लेखेको बताउँदै हल्का समीक्षाका पछि नलाग्न पनि भनिन्, ‘ यो कर्णालीतिर गैरहन्छे । के लेखेकी होली र भन्दै उही पत्रिकामा आएका फाटफुटे समीक्षाका पछि नलागी पढिदिनुहोला ।’ 

पुस्तकमा लेखकको परिचय दिँदै लेखिएको छ, ‘झण्डै चार दशकअघिको मोफसलको परिस्थितिले राधा पौडेललाई नर्स, अभियन्ता, लेखक, उद्यमीभन्दा पहिले एक विद्रोही, जब्बर, अर्घेलो महिला बनाइदियो । भिडहरुमा शदियौँदेखि जकडिएका सवालहरुले उनलाई सिउँडीलेझैँ घोचे । रगताम्मे मात्रै बनाएनन्, सतीसालझैँ हरेक अवस्थाको सामना गर्न पनि सक्षम बनाए ।’

ऋषि पञ्चमीको सम्झना

आफ्नै जीवनमा देखेभोगेका पीडा र मुक्तिको कथालाई लेखक पौडेलले ‘अपवित्र रगत’ मा समेटेकी छिन् । लेखक पौडेल महिनावारीको रगतलाई पवित्र मान्नुपर्ने  र महिनावारी भएकी महिलाको मर्यादा सुनिश्चित गर्नु आवश्यक रहेको बताउँछिन् । 

त्यस्तै पुस्तकका बारेमा बोल्दै पूर्व प्रधानन्यायाधीश तथा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले महिलाको शरीरको अधिकार उनीहरुलाई नै हुने बताउनु भएको छ । 

मदन पुरस्कार विजेता लेखक राधा पौडेलले महिनावारीका विविध पाटाहरुलाई समेटेर लेखेको पुस्तक ‘अपवित्र रगत’ को बारेमा शर्माले भन्नुभयो, 'परिवर्तनलाई हुल चाहिँदैन, परिवर्तनका लागि एक्लो बृहस्पतिले काम गर्छ ।’ लेखक पौडेलले परिवर्तनकारी पुस्तक लेखेको भन्दै शर्माले पुस्तक पढ्दा विद्रोही राधा पौडेललाई देख्न सकिने बताउनुभयो । 

उहाँले पढेर मात्रै परिवर्तन नहुने बताउँदै भन्नुभयो, ‘विश्वविद्यालयको डिग्रीले मात्रै हुँदैन, तपाईंको सोच परिवर्तनकारी छ कि छैन भन्ने कुराले महत्व राख्दछ ।’ छाउ हुनुलाई अभिभावकले सामान्य र प्राकृतिक हो भनेर आफ्ना छोरीहरुलाई जानकारी दिनुपर्ने पनि शर्माले बताउनुभयो ।

फरक प्रसंगमा आफू पनि परिवर्तनकारी व्यक्ति नै भएको बताउँदै शर्माले व्यक्तिगत अनुभव पनि सुनाउनुभयो । उहाँले आफ्नो विवाहको प्रसंग कोट्याउँदै भन्नुभयो, ‘मेरो घरमा मेरोबाहेक अरु सबैको लभ म्यारिज भएको हो । मेरो मात्रै मागी विवाह हो । मेरा ससुरा साह्रै कडा । विवाहका बेला ससुराले भन्नुभयो, ल ज्वाइँसाब खाना खान धोती त फेर्नुपर्यो नि । मैले कहिल्यै धोती फेरेर खाने नगरेको बताएँ । उहाँलाई मैले आँटै गरेर जवाफ फर्काएँ, हजुरले छोरी दिन थालेको कि धोती ?’ 

शर्माले समाजमा केही मान्छेले मात्रै आँट गर्यो भने पनि छाउपडीजस्ता कुरीतिहरु हट्दै जाने बताउनुभयो ।

काठमाण्डौ पब्लिकेशनबाट प्रकाशित पुस्तक ‘अपवित्र रगत’ को मूल्य ३५० रुपैयाँ रहेको छ । 

.

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया