राजनीति सङ्लो नभएकैले सुन पचाएर तामा बनाएका छन्, हवाई जहाज खाइदिएका छन् : भट्टराई

 माघ २९, २०७५ मंगलबार १९:३७:४६ | किरण लोहनी
unn.prixa.net

गोरखा – नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले बुढीगण्डकी परियोजनामा मुख्य पार्टीका तीन शीर्ष नेताले कमिसन खाएको आरोप लगाउनुभएको छ । 

नयाँ शक्ति पार्टीले सुरु गरेको जनसम्वाद यात्राका क्रममा मंगलबार गोरखाको आरुघाटमा आयोजित अन्तरक्रियामा बोल्दै उहाँले भन्नुभयो, ‘बुढीगण्डकी कमिसनखोरहरुको चक्करमा परेको छ ।’  बुढीगण्डकी आयोजना नेपालीले नै बनाउनुपर्नेमा जोड दिँदै उहाँले भिजन नभएका नेताहरुले ठाउँ–ठाउँमा भ्यू टावर बनाएर बूढीगण्डकीलाई भने पछाडि धकेलिरहेको बताउनुभयो ।

सत्तामा पुगेपछि मानिसमा पाशविक प्रवृत्ति बढ्ने भन्दै उहाँले व्यक्तिको नाम नलिकइकन केही नेतामा पाशविक प्रवृत्ति बढेको बताउनुभयो । ‘सत्ताको रापताप पाएपछि हिजो त्याग गरेका नेताहरुले नै राज्यलाई दुहुनो गाई बनाउन थालेका छन्’, उहाँले भन्नुभयो ‘जनताको सेवा गर्छु भनेर राजनीतिमा छिर्नेहरु रातारात अभिजात वर्गमा रुपान्तरण भएका छन्, राज्यलाई योगदान गर्नेभन्दा उनीहरु राज्यको दोहन गर्नतिर लागेका छन् ।’  

जनसम्वादकै क्रममा मंगलबार घ्याम्पेसाल र चोरकाटेमा भएको कार्यक्रममा उहाँले राजनीति सङ्लो नभएसम्म देशका अरु पक्ष राम्रो नहुने बताउनुभयो । देशका अरु सबै नीतिको स्रोत राजनीति हो भन्दै उहाँले तर मूल नीति नै दूषित बनेको बताउनुभयो । त्यसकै कारण देशमा ठूला–ठूला काण्डहरु भैरहेको भट्टराईको भनाईछ । ‘सुन पचाएर तामा बनाएका छन्, हवाइजहाज खाइदिएका छन्’, उहाँले भन्नुभयो । पार्टीका नेताहरुले गडबडी गर्दा नेता कार्यकर्ताले उनीहरुलाई निरन्तर खबरदारी गर्नुपर्नेमा उहाँको जोड छ । 

जनसम्वाद यात्राको महत्वमाथि बोल्दै उहाँले यसअघि पृथ्वीनारायण शाहले गरेको एकीकरण प्रशासनिक र फौजी एकीकरण मात्रै भएको बताउनुभयो । नयाँ शक्तिले यात्रा गरेको मध्यपहाडी लोकमार्ग नेपालको भौगोलिक र राष्ट्रिय एकीकरण मार्ग बन्ने उहाँको विश्वास छ । उहाँले मध्यपहाडी लोकमार्ग आसपास ७ जातिहरुको घना बसोबास रहेको र यो लोकमार्गले उनीहरुबीचको आवतजावत र संसर्ग बढ्ने विश्वास व्यक्त गर्नुभयो । 

प्राकृतिक रुपले संसारमै धनी देश भएर पनि गरिब भएर बाँच्नुपर्ने बिडम्बनापूर्ण अवस्थाबाट मुक्त गर्न नयाँ शक्तिले नयाँ युगको नेतृत्व गर्न सक्ने पार्टी निर्माण सुरु गरेको उहाँले बताउनुभयो । यो एजेन्डा बिस्तारै सबैले स्वीकार्दै गएको भट्टराईको दाबी छ ।

चोरकाटेमा भएको कार्यक्रममा भट्टराईलाई सिरानचोक गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दाले विभिन्न जिज्ञासा र गुनासो राखेका थिए । सिरानचोक–४, का अध्यक्ष दीपक हमाल, ५ का अध्यक्ष सन्तोष गुरुङ, वडा नम्बर ६ का अध्यक्ष नारायण दानी र पालुङटार नगरपालीका १ का अध्यक्ष कृष्णबहादुर परियारले  स्थानीय सरकारले अधिकार नपाएको गुनासो गरेका छन् । 

उनीहरुले चोरकाटेबाट भच्चेक सडक, सातदोबाटो पालुङटार सडक, विभिन्न खानेपानी आयोजना लगायतको काम छिटो सक्ने वातावरण बनाउन भट्टराईको ध्यानाकर्षण गराएका छन् । 

कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टीका संयोजक एवम् गोरखा क्षेत्र नम्बर २ का सांसद भट्टराईले साना–साना विकासका आयोजना स्थानीय स्रोत साधनबाटै बनाउन सुझाव दिनुभयो । 

यात्राका क्रममा जनप्रतिनिधि र नागरिकले दिएका प्रतिक्रियालाई संसदमा राख्ने उहाँले बताउनुभयो । यात्राको प्रतिवेदन नै बनाएर संघीय र प्रदेश सरकार, राष्ट्रिय योजना आयोगलगायत निकायलाई दिने उहाँको भनाई छ । 

एक महिने यात्राका क्रममा भट्टराईसहितको टोली हिजो गोरखा आइपुगेको हो । भोलि पालुङटारमा जनसम्वाद गर्दै टोली लमजुङ जाने भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १४, २०८०

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया