बजेटका ७ महिना : विकास खर्चमा सरकार ‘असफल’

 फागुन १, २०७५ बुधबार ११:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकार विकास बजेट खर्च बढाउन असफल भएको छ । बजेट सार्वजनिक भएको सात महिनासम्म पनि सरकारले जम्मा साढे २२ प्रतिशत मात्रै विकास खर्च गरेको छ । यो आर्थिक वर्षको लागि ३ खर्ब १३ अर्ब ९९ करोड रुपैयाँ पूँजीगत अर्थात विकास बजेट छुट्याएकोमा माघको अन्त्यसम्ममा जम्मा साढे २२ प्रतिशत अर्थात ७० अर्ब ६६ करोड रुपैयाँ खर्च भएको छ । 

यस्तै ८ खर्ब ४५ अर्ब ४४ करोड रुपैयाँ चालु खर्च छट्याएकोमा ७ महिनामा ४१ दशमलव ५३ प्रतिशत अर्थात ३ खर्ब ५१ अर्ब रुपैयाँ खर्च भएको छ । 

यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ खर्ब ७१ करोड रुपैयाँ छुट्याइएकोमा ७ महिनामा २० दशमलव ६४ प्रतिशत अर्थात ३२ अर्ब १३ करोड रुपैयाँ खर्च भएको छ । 

सरकारले बजेट खर्च सुधार्नको लागि जेठ १५ गते नै बजेट ल्याउने चलन सुरु गरे पनि विकास बजेट खर्चको अवस्था सुध्रन सकेको छैन  । यस्तै बजेट खर्च बढाउनकै लागि सार्वजनिक खरिद ऐन सुधार गरिएको सरकारको दावी भए पनि चालु आर्थिक वर्षको ७ महिनाले सरकारको दावीलाई पत्याउने अवस्था देखाएको छैन ।

सात महिनाको खर्च हेर्दा सरकार विकास बजेट खर्चमा असफल देखिएको अर्थविद्हरुले दावी गरेका छन् । ‘सात महिनामा २२ प्रतिशत विकास बजेट खर्च भनेको सरकारको लागि राम्रो संकेत होइन, खर्चको यो अनुपात बढाउन नसकेमा सरकारका धेरै लक्ष्य पूरा नहुन सक्छन्’ पूर्व अर्थ सचिव शान्तराज सुवेदीले उज्यालोसँग भन्नुभयो । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया