विदेशमा मृत्यु वा अङ्गभङ्ग हुँदा पाइने आर्थिक सहायता स्थानीय तहबाटै

 फागुन १, २०७५ बुधबार ११:४३:१३ | मोहन पौडेल

काठमाण्डौ – सरकारले विदेशमा मृत्यु वा अङ्गभङ्ग हुँदा पीडितका परिवारलाई दिइने आर्थिक सहायता स्थानीय तहबाटै वितरणको तयारी सुरु गरेको छ ।

अहिले आर्थिक सहायता लिन काठमाण्डौमा रहेको बोर्डको सचिवालयमै आउनुपर्ने व्यवस्था रहेकोमा पीडित परिवारलाई अब स्थानीय तहबाटै दिने तयारी गरेको हो ।

यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निर्देशिका तयार पारेको छ । बोर्डले तयार पारेको निर्देशिका अहिले मन्त्रालयमा रहेको भन्दै बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले निर्देशिका छिट्टै मन्त्रीपरिषदबाट स्वीकृत हुने बताउनुभयो ।

यो निर्देशिका पारित भएपछि वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका वा अङ्गभङ्ग भएका व्यक्तिका परिवार आर्थिक सहायता लिन काठमाण्डौ आउनुपर्ने छैन । आर्थिक सहायताका स्थानीय तहबाटै प्रक्रिया सुरु गरेर त्यहीँबाट पाउने गरी निर्देशिका तयार पारिएको श्रेष्ठले बताउनुभयो ।

कस्ता व्यक्तिले पाउँछन् आर्थिक सहायता ?

वैदेशिक रोजगार नियमावलीअनुसार रोजगारीका क्रममा करार अवधिभित्रमा ज्यान गुमाएकाका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ७ लाख रुपैयाँ आर्थिक सहायता पाउँछन् । त्यसका लागि अहिलेसम्म काठमाण्डौ नै आउनुपर्ने व्यवस्था छ । मृत्यु भएको एक वर्षभित्रमा निवेदन दिएमा ज्यान गएका व्यक्तिका परिवारलाई बोर्डले एकै दिनमा चेक दिने व्यवस्था छ ।

चाहिने कागजात

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारले आर्थिक सहायता पाउन विदेशको करार अवधि बाँकी नै रहेको प्रमाणित हुने कागजात, मृतकको राहदानी, बिबाहित भए श्रीमान श्रीमतीको नाता प्रमाणित हुने कागजात, अबिबाहित भए अभिभावकसँग नाता खुल्ने कागजातसहित निवेदन दिनुपर्छ ।

अन्तिम अपडेट: चैत १४, २०८०

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

तपाईको प्रतिक्रिया