प्रचण्डले शहीदहरुकाे सपनामाथि होली खेले : नेकपा विप्लव समूह

 फागुन १, २०७५ बुधबार १४:५४:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदहरुको सपनामाथि होली खेलिरहेको आरोप लगाएको छ ।

जनयुद्ध दिवसको अवसर पारेर बुधबार काठमाण्डाैमा आयोजित एक कार्यक्रममा बोल्दै चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी उपाध्यायले यस्ताे आराेप लगाउनुभएकाे हाे ।

उहाँले जनयुद्ध सुरु गर्दाको उद्देश्य, शहीदहरुको बलिदान र नेपाली जनताको त्याग र समर्पणमाथि दाहालले तुषारापात गरिरहेको आरोप लगाउनुभयाे ।  संसदीय राजनीतिको फोहोरी खेलविरुद्ध सुरु गरिएको जनयुद्धलाई धोका दिनेहरुले १५ हजारभन्दा बढी जनयुद्धका शहीदहरुको अपमान गरेको दाबी गर्दै त्यसका विरुद्ध आन्दोलनमा आउन पनि उहाँले सबैलाई आह्वान गर्नुभयो ।

उपाध्यायले जनताको जनवादी व्यवस्था ल्याउने उद्देश्यका साथ पार्टीले जनवादी आन्दोलनको सुरु गर्नु परेको दाबी पनि गर्नुभयो ।

चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा र्‍यालीसहितको प्रर्दशन गरेको हो । प्रर्दशनमा सहभागी भएकाहरुले जनताको शासन व्यवस्था स्थापनाका लागि पार्टीको अभियानमा साथ दिन अपिल गर्दै नाराबाजी गरेका थिए । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया