अष्ट्रेलियामा नश्लभेदी व्यवहार, अपत्यारिलो तर नमिठो यथार्थ

 फागुन १, २०७५ बुधबार २०:३७:४६ | साेहम सुबेदी
unn.prixa.net

मनमोहक मेलबर्न

अष्ट्रेलिया - सन् २०१८ अक्टोबर अन्तिम साता एउटा घमाइलो दिन। भिक्टोरिया राज्यको क्रेगिबर्नबाट मेलबर्न सिटी जाने रेलको डिब्बा यात्रुले भरिभराउ छ । कार्यालय समय जागिरेहरु सुटमा, विद्यार्थीहरु ड्रेसमा र अरु साधारण पाेशाकमा छन् ।

युवतीहरु आफ्नै सुरमा मेकअप मिलाउँदै छन् । उभिएका र बसेका अधिकांशले कानमा हेडफोन घुसारेका छन् । निहुरिएर आफ्नै मोवाइल हेरिरहेका छन् । केही पाका मान्छे किताबमा घोप्टिएका छन् । लाग्छ त्यहाँ कसैलाई कसैको वास्ता छैन ! यस्तैमा एक अधबैंशे गोरी महिला अँग्रेजीमा गालीका शब्द वर्षाउँदै चिच्याउन थालिन्...“ह्वाट द फ... यु आर इन दिस सिट ?

अशोभनीय र अपमानित शब्दले सबै झस्किए । हेपाहा भनाईको सिलसिला चलिरह्यो । “आई नो द्याट यु आर इण्डियन, ह्वाट इज योर भिसा स्टाटस? (मलाई थाहा छ तँ भारतबाट आएकी होस्, तेरो भिसा कुन हो ?)” तँलाई सिध्याइदिन्छु भन्ने आशयले ती महिलाले सोधिन् । लाग्थ्यो अष्ट्रेलियाको भिसा दिने उनै हुन् ।

कुरा त्यतिमा मात्रै सकिएन । ती महिलाले फोन निकालेर तेर्स्याइन् । म तँलाई डिपोट अर्थात् तेरै देश फर्काउँछु भनेर भिडियो खिच्न थालिन् । दक्षिण एशियाली युवतीको आँखाबाट आँसु बग्न थाल्यो । डरले लुगलुग काँपिन् । “सरी आई वाज नट द्याट इन्टेन्सन, फरगीभ मी ! (माफ गर्नुहोला, मेरो त्यस्तो उदेश्य थिएन, मलाई क्षमा गर्नुहोस् ।)” आँसु पुछ्दै भनिन् ।

रेलको डिब्बामा आधाजसो प्रवासी थिए । सबै घोसेमुन्टो लगाएर आफ्नै सुरमा बसे । कालो वर्णकी ती केटी माफी माग्दै, रुँदै बसेको सिटबाट उठिन् । अरु मान्छेतिर हेरिन् । तारन्तार आँसु पुछिरहिन् । तर “गोरी” महिलाको गालीको सिलसिला चलिरह्यो ।

लगभग दश मिनेट सम्झी–सम्झी गाली गरेपछि सँगैको सिटमा बसेकी रैथाने जस्ती देखिने महिलालाई पनि झ्वाँक चलेछ । सोधिन् “ह्वाट वाज हर मिस्टेक ? (उनको गल्ती के हो ?)” यो प्रश्नले महिला झन चिढिइन् । अब दुवै रैथाने महिलाबीच बाझाबाझ शुरु भयो । “ए तँलाई त्यो एशिएन केटीको माया लाग्यो? तेरो आफन्त पर्छे कि क्या हो?”

रैथाने महिलाबीच बाझाबाझ चलेपछि डिब्बाका सबैको ध्यान पुरै आकर्षित भयो । पछिल्लो ढोकामा उभिएका एक भलाद्मी चिच्याए “ओई तिमीहरु चुपो लाग्छौँ कि म सेक्युरिटिलाई खबर गरौँ ?” गोराले कड्केर त्यसो भनेपछि दुवै महिलाको ठूलो स्वर मन्द त भयो, तर भनाभन रोकिएन ।

लगभग २० मिनेट पछिको स्टेशनमा ओर्लिँदासम्म पनि छालाको रङ फरक भएकी केटीको आँसु रोकिएको थिएन । पराई धर्तीमा नगरेको गल्तीका लागि तिनी निरीह हुँदै रेलबाट ओर्लिइन् ।

रेलमा आमनेसामने ३–३ जना बस्ने सिटमा एकतर्फ रैथाने मूलकी आमा र अर्कोतर्फ मोटो जिउकी छोरी बसेका थिए । तीन जनाको सिटमा दुई जना बराबरको ठाउँ ओगटेर छोरी बसेकी थिइन् । सिटको बाँकी ठाउँमा छोरीको मसिनो हाते ब्याग थियो । हतारहतार रेल चढेकी श्याम वर्णकी दक्षिण एसियाली केटी हातेब्याग सारेर आफ्नी छोरीसँगै बसेको ती रैथाने “गोरी” आमालाई पटक्कै मन परेन । त्यसपछि भिडियो खिचेर तँलाई डिपोर्ट गराईदिन्छु भन्नेसम्मको दुर्व्यवहार गरिन् ।

एसियाली नश्लको गहुँगोरो वर्णको भएकै आधारमा सार्वजनिक यातायातमा सबैका अघिल्तिर  हेपिनुपरेको एउटा प्रतिनिधि घटना हो यो । त्यसबाहेक पनि काम वा अवसरहरुमा रैथाने र आप्रवासीका लागि दुईथरी व्यवहार देख्न पाईन्छ ।

थप प्रसँगहरु

अष्ट्रेलियाका सिड्नी, मेलबर्न, क्यानबेरा लगायतका हरेक शहरमा “गोरा” रैथानेहरु आप्रवासीको बस्तीमा मिसिएर बस्न चाहँदैनन् । सिड्नीमा कुन बस्ती चिनियाँहरुको हो । कहाँ बहुल नेपाली बस्छन् । कहाँ भारतीय छन् सबैलाई कण्ठै छ । यतिसम्म कि, गोराहरुको टोल बस्तीमा कुनै एसियनले घर किन्यो, टोलमा एशियनको घर संख्या बढ्दै गयो भने गोराहरु अन्तै घर किनेर सर्न थाल्छन् ।

सिड्नीको मिन्टोमा दुई वर्षअघि घर किनेर बस्नुभएका सुरेश रेग्मी भन्नुहुन्छ, “म आउँदा यो चोकमा मबाहेक सबै गोराहरु थिए । तर दुई वर्षमा यो टोलमा नेपालीलगायत, दक्षिण एसियाली मात्रै छौँ । गोराहरु अन्तै बसाइँ सरे  ।” यस्तो प्रसँग सुनाउने सिड्नी मेलबर्न, ब्रिसबेन, एडिलेडमा धेरै नेपाली भेटिन्छन् ।

एकसय नौ देशमा ४६ सय होटल भएको अकर चेनका अष्ट्रेलियामा मात्रै २०० होटलमा १२ हजार कर्मचारी काम गर्छन् । होटलको हाउसकिपिङ् (कोठा सफा गर्ने) किचन ह्याण्ड (भाँडा माझ्ने), शौचालय सफा गर्ने लगायतका काममा आप्रवासी कामदार भेटिन्छन् । भारतीय, कोरियन वा नेपालीले अष्ट्रेलिया जानेबित्तिकै पाउने र गर्ने काम यस्तै हुन् ।

धेरै श्रम पर्ने अदक्ष काम पाउन पनि चिनेको मान्छेको सिफारिस आवश्यक पर्छ । क्यानबेराको अकर चेनकै एक होटलमा हाउसकिपिङ सुपरभाईजर काम गर्ने चितवनका अजय ढुंगानाको अनुभव छ, हाउसकिपिङको पनि व्यवस्थापकमा चाहिँ रैथानेलाई नै राखिन्छ । ढुंगाना भन्नुहुन्छ “सजिलो, कम श्रम पर्ने र कार्यालयमा बसेर कम्प्युटरमा काम गर्ने पदमा गोरा होस् भन्ने उनीहरुको चाहना प्रष्टै देखिन्छ ।”

अष्ट्रेलिया देश कसकाे ?

अष्ट्रेलिया युरोपियन मूलका गोराहरुको पुर्ख्याैली देश होइन । बेलायती साम्राज्य विस्तारको सिलसिलासँगै अष्ट्रेलिया महादेश बेलायतले नियन्त्रणमा लिएको हो ।

अहिले पनि अष्ट्रेलियाको सरकार बेलायती रानीको सेरेमोनियल नेतृत्व र जननिर्वाचित प्रधानमन्त्रीको कार्यकारी नेतृत्वमा चलिरहेको छ । बेलायती मोडेलको प्रशासनिक व्यवस्था छ ।

सन् १७८८ मा बेलायतले अधिनमा लिएदेखिको झण्डै दुईसय वर्ष अष्ट्रेलियाको राज्य, कानुनी, प्रसासनिक र सामाजिक व्यवस्था नश्लमा आधारित थियो । सन् ६० को दशक अघिसम्म अष्ट्रेलिया ब्रिटिस दास उपनिवेश थियो । दासको व्यवहार गरिएका आदिवासीहरुलाई खानाको भरमा काम लगाइन्थ्यो । सीमित शिक्षा मात्रै दिइने र बिहे गर्न पनि सरकारको स्वीकृति लिनुपर्नेसम्मको व्यवस्था थियो । सन् १९६७ भन्दा अघिसम्म अष्ट्रेलियाका “काला” आदिवासी जातीको जनगणनासमेत हुँदैनथ्यो ।

बेलायतले अष्ट्रेलियालाई राज्यविरुद्धको अपराध गर्नेहरुलाई थुन्ने कारागारको रुपमा उपयोग गरेको इतिहास छ । त्यसका अवशेष अष्ट्रेलियाका विभिन्न राज्यहरुमा छन् । तास्मानियामा पुरानो जेल, कैदी बन्दीहरुप्रति हुने व्यवहार र अन्य थुप्रै यातनाका अवशेषहरु देख्न पाइन्छ । युरोपका नागरिकको सुनियोजित बसाइँसराइँपछि “काला” वर्णका आदिवासीहरुको देश विस्तारै “गोरो” वर्णका युरोपियनको अधिनमा पुग्यो ।

बेलायतले अष्ट्रेलिया नियन्त्रणमा लिँदै गर्दा त्यहाँ आधुनिक राज्य प्रणाली थिएन । आदिवासीहरु स–साना कबिलामा बस्थे । आदिवासीसँग कुनै सन्धि हुन सकेन । बिस्तारै आफ्नो भूमि र स्रोतहरु गुमाउँदै गएपछि आदिवासीहरुले युरोपियनलाई शत्रुतापूर्ण व्यवहार गरे । गोराहरुले पनि बर्बर दमन गरे । फलश्वरुप आदिवासीका भालाले बेलायती बन्दुकको सामना गर्न सकेन ।

बेलायतले नियन्त्रणमा लिन थालेको एकसय १३ वर्षपछि सन् १९०१ मा अष्ट्रेलिया महादेशमा राष्ट्रमण्डल सरकार गठन भयो । त्यसपछि पनि दशकौँसम्म यहाँको आदिवासीले नागरिकको दर्जा पाएनन् । 

सभ्य र आधुनिक अष्ट्रेलियाको आरम्भ

अहिलेको अष्ट्रेलिया मानवीय समवेदनासहित पुरै फेरिएको सभ्य, विकसित आधुनिक राष्ट्रमण्डल राज्य हो । कानुन र व्यवहार दुवैमा मानवअधिकारका विश्वव्यापी मान्यता अनुसरण गरिन्छ । समतामूलक सामाजिक व्यवस्था, न्याय व्यवस्था छ । पूर्ण सामाजिक सुरक्षाको ग्यारेन्टी छ । यति हुँदाहुँदै पनि मनको कुनामा नश्लभेदको जरो बाँकी नै छ ।

अष्ट्रेलियामा मे २६ तारिखलाई आदिवासीप्रति गरिएको बर्बर दुर्व्यवहारका लागि क्षमा माग्ने दिवसको रुपमा मनाइन्छ । सन् १९९८ देखि यो दिवस मनाउन थालिएको हो । अमेरिकी इतिहासकार जोन क्रिस्टोफर टोर्पीको भनाईमा २० औँ शताब्दिको ६० वर्ष आदिवासी जनजातीका बच्चाहरुलाई सरकारले कानुन बनाएर परिवारबाट छुट्याएको थियो ।

“काला” आदिवासी र “गोरा” को संसर्गबाट जन्मिएका मिश्रित नश्लका बच्चालाई उनीहरुका आमा र परिवारबाट छुट्याइएको थियो । आदिवासीहरु सबै मर्छन् वा मारिन्छन् भन्ने अनुमानका साथ आफ्नो मिसिएको नश्ललाई उनीहरुको समूहबाट छुट्याइएको थियो ।

आदिवासी जनजातिका एक पुस्ताका बच्चाहरुलाई सरकारले नै चोरेको हुनाले त्यसलाई “स्टोलन जेनेरेसन–चोरिएको पुस्ता” भन्ने गरिन्छ । राज्यले सुनियोजित रुपमा गरेको यस्तो गैरमानवीय कृयाकलापका लागि अष्ट्रेलियामा क्षमा दिवस चलेको हो । सन् २००८ फेबु्रअर १३ तारिखको दिन तत्कालीन प्रधानमन्त्री केभिन रुडले अष्ट्रेलियाको संसदमा आदिवासीहरुसँग माफी मागेका थिए । उनले भनेका थिए, “म हाम्रो गौरबपूर्ण संस्कृति बसाल्न हामीले गरेको गिरावटी कामको लागि इमान्दारीका साथ पीडितसँग माफी माग्न चाहन्छु ।”

पछिल्ला वर्षहरुमा अष्ट्रेलियाले राज्यको दुर्व्यवहारका कारण मूलधारबाट विस्थापित भएका आदिवासीलाई पुन:स्थापित गर्न र समतामूलक समाज निर्माण गर्न क्षतिपूर्तिका विभिन्न उपाय अपनाइरहेको छ । अष्ट्रेलियन संसदका अनुसार दुर्व्यवहारलाई निषेध गरिएका ५० भन्दा धेरै कानुन तथा कानुनी दस्तावेजहरु उपलब्ध छन् । नश्ल, धर्म, राष्ट्रियता, राजनीतिक समूह, लिङग, लैङिगकता, डिस्याब्लिटी वा कुनै पनि कारणले कसैप्रति पनि कहीँ पनि दुर्व्यवहार हुनुहुन्न भन्ने अष्ट्रेलिया सरकारको मान्यता र त्यसै अनुसारको नीति छ ।

अहिलेको अष्ट्रेलियामा नश्लभेदी व्यवहार

छालाको रङको आधारमा गरिने मानवअधिकार बिरुद्धको हरेक कृयाकलाप अष्ट्रेलियामा बर्जित छ । “मानवअधिकारः हरेक ठाउँमा, प्रत्येक दिन, हरेक व्यक्तिका लागि” भन्ने लक्षका साथ अष्ट्रेलियाको मानव अधिकार आयोगले काम गरिरहेको छ । मानवअधिकारका मूल्य मान्यताहरु हरेक नागरिकको दैनिक जीवनमा लागू गर्ने अष्ट्रेलिया सरकारको लक्ष छ । अधिकार र कर्तव्य विपरीत काम गर्नेले कानुनी कारबाहीको भागीदार बन्नुपर्छ ।

मानवअधिकार आयोगले सन् २०१६–१७ मा दुर्व्यवहारका १९ सय ३९ वटा  घटना दर्ता गरेको छ । त्योमध्ये ४ सय ९ वटा घटना नश्लभेदसँग सम्बन्धित छ । अष्ट्रेलियाको कानुनले समुदायमा कुनै पनि नश्लवादलाई ठाउँ दिँदैन । छालाको रङको आधारमा गरिने भेदभावलाई असहिष्णु व्यवहार मानिन्छ । घरभित्र वा बाहिर हुने यसप्रकारको व्यवहार दण्डनीय मानिन्छ ।

मानवअधिकार आयोगकै वेभसाईटमा नश्लभेदी दुर्व्यवहार सहनु परेका भोगाईहरु संग्रहित छन् । अष्ट्रेलियामा यहाँका आदिवासी “अबोरिजिनल” हरुले सबैभन्दा धेरै दुर्व्यवहार भोगेका छन् । त्यससँगै प्रवासी र शरणर्थीहरुले त्यस्तो व्यवहार भोगिरहेका छन् । आयोगका अनुसार “प्रवासी र शरणार्थीहरु जो हालसालै अष्ट्रेलिया आएका छन् अझ विशेष गरी तिनीहरु जसको रङ, भाषा र लुगामा फरक छ, उनीहरुले नश्लभेदी दुर्व्यवहार भोग्नु पर्नसक्छ ।” तर सबैले त्यस्तो दुर्व्यवहार भने भोग्नु पर्दैन ।

सन् २०१६ को जनगणना अनुसार, अष्ट्रेलियामा १९० देशमा जन्मेका ३०० भन्दा बढी वंश परम्पराका नागरिक बस्छन् । घरभित्र ३०० भन्दा धेरै भाषाहरु बोलिन्छ । आधाभन्दा बढी जनसंख्या अष्ट्रेलिया आएको पहिलो वा दोस्रो पुस्ता मात्रै भयो । तर पनि युरोपियन अंग्रेज “गोरा” हरुको बाहुल्य छ र उनीहरुलाई आफूभन्दा फरक रङका व्यक्तिप्रति दुर्व्यवहार गरेको आरोप लाग्ने गर्छ ।

व्यवहार जे होस् तर पीआर होस्

सार्वजनिक स्थलहरुमा सामान्यतया मानिसहरु एकअर्काको कुनै कुरामा चासो राख्दैनन् । ट्रेन वा बसमा आँखा जुध्नेगरी एक अर्काको मुहार हेर्दैनन् । आँखा जुध्यो वा अर्काको ध्यान खिचिने गरी केही हुन गयो भने खुलेर सरी भन्दै माफी पनि माग्छन् । कुरा गर्दा असाध्यै आत्मीय भाव देखाउँछन् । अष्ट्रेलियाका अधिकांश मानिस यस्तै भेटिन्छन् ।

सामाजिक सुरक्षा र शिक्षा राम्रो भएको देशमा कमाइ र बचत राम्रो भएको प्रवासी मान्छे सन्तुष्ट भएर बाँच्न सक्छन् । तर मानिसले पर्दा अघि र पर्दा पछाडि गर्ने व्यवहारमा आकाश जमिनको फरक हुन सक्छ । छालाको रङ् फरक हुनेले फरक व्यवहार भोग्न सक्छ ।

अग्रेजी भाषाको फरक उच्चारण, छालाको भिन्न रङ, भिन्न तरिकाको लुगा र खानेकुराले अष्ट्रेलियामा दोस्रो दर्जाको व्यवहार हुन सक्छ । नेपाली र भारतीय तरकारीमा हालिने मसलाको गन्धले पनि फरक व्यवहारमा पार्न सक्छ । नेपाल अविकसित देश हो भन्ने साेचले भिन्न व्यवहार हुनसक्छ ।

भर्खर अष्ट्रेलिया आएको व्यक्तिले पहिला आफू यहाँको समुदाय सुहाउँदो कथित “सभ्य” हुन कोशिस गर्छ । जस्तोसुकै व्यवहार होस् पहिला स्थायी बसोबासको अनुमति पीआर पाईयोस् भन्ने चाहना राख्छ । अष्ट्रेलियाको नागरिक भैसकेपछि दुर्व्यवहारको विरुद्धमा तत्कालै आवाज उठाउन सक्ने हुन्छन् ।

कानुनी उपचार खोज्ने हिम्मत पलाउँछ । तर त्यति हुँदासम्म व्यक्ति अष्ट्रेलियाको रहनसहनमा पुरै भिजिसकेको हुन्छ ।

अन्तिम अपडेट: जेठ ४, २०७६

साेहम सुबेदी

दुई दशकदेखि विद्युतीय सञ्चारमाध्यममा सकृय सुवेदी अष्ट्रेलियाबाट  उज्यालो अनलाइनका  सामग्री तयार पार्नुहुन्छ। 

तपाईको प्रतिक्रिया