हामीलाई २२ वर्ष प्रतिपक्षमा बसेकाे अनुभव छ, ६ महिना बस्दैमा कांग्रेस यति उकुसमुकुस : सञ्चारमन्त्री बास्कोटा

 फागुन १, २०७५ बुधबार १५:४३:२५ | रासस
unn.prixa.net

सुर्खेत – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सरकार आवधिक हुने भए पनि लोकतन्त्र आवधिक नहुने भएकाले उकुसमुकुस भएर प्रस्तुत नहुन प्रमुख प्रतिपक्षी दललाई आग्रह गर्नुभएको छ । 

सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोर्‍याब) राष्ट्रिय सम्मेलन र साधारणसभाको आज उद्घाटन गर्दै सरकारका प्रवक्ता बास्कोटाले यही फागुन ३ गते सरकार गठन भएको एक वर्ष पुगे पनि नीति तथा कार्यक्रम र बजेट आएको ६ महिना मात्रै भएकोे यस अवधिमा सरकारले थुपै्र राम्रा काम गरे पनि स्थान नपाएको गुनासो गर्नुभयो ।

सरकारले अघि बढाएको सामाजिक सुरक्षा योजनाको दायरामा सञ्चारगृह पनि आउनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल कम्युनिष्ट पार्टीको सरकारलाई कमजोर नदेख्न आग्रह गर्दै उहाँले चार वर्षपछि चुनावमा जानुपर्छ भनेरै कानुन बनाउने र काम गर्ने प्रष्ट पार्नुभयो ।

‘२२ वर्ष प्रतिपक्षमा बसेको अनुभव छ’, कांग्रेसप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, ‘प्रतिपक्षमा ६ महिना बसेकै यति उकुसमुकुस, सरकार आवधिक हो तर डेमोक्रेसी आवधिक होइन, डेमोक्रेसी हामीले पनि लडेर ल्याएको हो, त्यसैले प्रदूषणको राजनीति गर्ने नगरौँ ।’ 

उहाँले छिट्टै फेसबुकलगायत सामाजिक सञ्जालको दर्तासमेत नेपालमै गर्न सकिने व्यवस्था हुन लागेको र नेपालको आफ्नै स्याटलाइट (भू–उपग्रह) सञ्चालनमा ल्याउने तयारी भएको बताउनुभयो । केही महिनापछि स्याटालाइट सञ्चालनसम्बन्धी सम्झौता हुने उहाँको भनाइ थियो । 

मिडिया अझै स्वतन्त्र र निष्पक्ष बन्न नसकेको बताउँदै सञ्चार तथा सुूचना प्रविधिमन्त्री बाँस्कोटाले मिडियालाई प्रतिपक्षी नभई आलोचक बन्न सुझाव दिनुभयो । ‘यदि कुनै मिडियाको मिसन छ भने स्पष्ट भन्न सक्नुपर्छ, होइन भने सरकारले गरेका राम्रा कामका विरुद्ध पनि किन पूर्वाग्रह ?’ उहाँले भन्नुभयो, ‘सरकारको त स्पष्ट मिशन छ शान्ति, लोकतन्त्र, सामाजिक न्याय, विकास र आर्थिक समृद्धि, तर पूर्वाग्रह पालेर लेख्ने मिडियाको मिशन के हो ? जनतालाई स्पष्ट पार्नुपर्छ । लहैलहैमा लागेर जनताको सपनामाथि तुषारापात गर्ने काम कसैले नगरौँ ।’ उहाँले कतिपय मिडियाले पार्टी फुटाउने प्रयत्नसमेत गरेको आरोप लगाउनुुुुभयो । 

उहाँले पत्रकारको न्यूनतम पारिश्रमिक लागू गर्न लागेर सरकारले कुनै गल्ती नगरेको बताउनुभयो । सरकारले मिडिया सञ्चालकको मात्र नभई त्यहाँ कार्यरत पत्रकार÷कामदारको पनि कुरा सुन्ने बताउँदै उहाँले भन्नुभयो, ‘यसमा सरकारले कुनै गल्ती गरेको छैन र ब्याक हुनुपर्ने कुरै छैन ।’ 

मन्त्री बास्कोटाले मूलधारको पत्रकारिताका चार विधा समेटेर एउटै छाता ऐन ल्याउने तयारीमा सरकार रहेको जानकारी दिनुभयो । उहाँले सरकारले प्रेसमैत्री कानुन बनाउनेमा शङ्का नगर्न आग्रह गर्नुभयो । आफ्नो स्वतन्त्रताको माग गर्नेले अरुको स्वतन्त्रताको पनि सम्मान गर्न सक्नुपर्छ भन्दै मन्त्री बास्कोटाले मिडियाले आलोचना गर्न पाउने र प्रश्न गर्न पाउने कुराको कानूनमै सुनिश्चितता गरिने प्रष्ट पार्नुभयो । 

सरकारले सातै प्रदेशको प्रतिनिधित्व हुने गरी मिडिया काउन्सिल गठन तथा सबै प्रदेशमा सञ्चारग्राम निर्माण गर्ने योजना सुनाउनुभयो । यसका लागि प्रतिप्रदेश ५०/५० लाख बजेट विनियोजन भइसकेको उहाँको भनाइ थियो । 

मन्त्री बास्कोटाले ज्येष्ठ पत्रकारको जीवन निर्वाहका लागि रु तीन करोडको कोष स्थापना गरिएको र त्यसलाई १० करोड रुपैयाँ पुर्‍याइने लक्ष्य रहेको बताउनुभयो ।

साथै उहाँले समानुपातिक विज्ञापन प्रणाली लागू गराएरै छाड्ने अठोट व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘यो सञ्चारमाध्यमहरुको वर्षौंदेखिको माग हो, अब विज्ञापन बोर्ड बनाएर सरकारी विज्ञापन सबै मिडियाको वर्गीकरणका आधारमा समानुपातिक हिसाबले वितरण गरिनेछ ।’ 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया