सुदूरश्चिममा रेडियोको महत्व घट्नुको साटो बढेको छ : मुख्यमन्त्री भट्ट

 फागुन १, २०७५ बुधबार १६:३९:१४ | निर्मला खडायत
unn.prixa.net

कैलाली – भौगोलिक रुपमा विकट रहेको सुदूरपश्चिम प्रदेशमा रेडियो नै सर्वसाधारणका लागि सञ्चारको प्रभावकारी माध्यम बनेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभयो । 

८ औँ विश्व रेडियो दिवसका अवसरमा बोल्दै उहाँले समय परिवर्तनसँगै नयाँ प्रविधिको आवागमन भए पनि रेडियोको महत्व घट्नुको साटो बढेको बताउनुभयो ।नागरिक स्वतन्त्रताका लागि रेडियोले महत्वपूर्ण भूमिका खेल्दै आएकोले संघीयता कार्यान्वयन र सफल पार्नमा पनि रेडियोको स्थान पहिलो नम्बरमा रहेको भन्दै पत्रकारहरुले यसको गुणात्मक सुधारमा पनि ध्यान दिनुपर्ने भट्टले सुझाव दिनुभयो ।

८ औँ विश्व रेडियो दिवसको अवसरमा आयोजित ‘संघियता संस्थागतका लागि स्वतन्त्र रेडियोको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारका तर्फबाट रेडियोका लागि गर्नुपर्ने सहयोग सदैव रहने प्रतिबद्धता समेत जनाउनुभयो । 

यस्तै कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले अन्यायमा परेकाहरुको हकहितका लागि बोल्न सञ्चारको महत्वपूर्ण भूमिका हुने भएकाले यस क्षेत्रलाई बलियो र प्रभावकारी बनाउन सबैले लाग्नुपर्ने बताउनुभयो ।

उहाँले प्रदेशको सञ्चार नीति बनाउँदा पत्रकार महासंघका प्रतिनिधि र पत्रकारहरुसँग बसेर सञ्चारकर्मीका समस्याहरु सम्बोधन हुने खालका निति बनाउने समेत प्रतिबद्धता जनाउनुभयो ।  

कार्यक्रममा विभिन्न रेडियो तथा सञ्चारगृहमा कार्यरत पत्रकार, प्रदेश सभा सदस्य रण बहादुर रावल, धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडलगायत विभिन्न गाउँपालिका तथा नगरपालिकाका प्रमुख उपप्रमुखहरुको सहभागिता रहेको थियो । 
 

अन्तिम अपडेट: चैत १६, २०८०

निर्मला खडायत

खडायत कैलालीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया