मजदुरले ज्याला नपाउँदा चीनको तिब्बत जोड्ने सडक निर्माणमा अवरोध

 फागुन २, २०७५ बिहिबार १३:१३:५५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – सदरमुकाम चैनपुरबाट ८५ किलोमिटरको दूरीमा रहेको चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने सडकको निर्माण कार्य रोकिएको छ ।

सडक निर्माणका मजदुरहरुले ज्याला नपाएपछि काम रोकिएको हो । ज्याला नपाएको भन्दै आन्दोलनमा उत्रिएपछि गएको २२ गते सोमबारदेखि सडक पनि अवरुद्ध भएको छ । 

गाउँमा सडक निर्माणको काम सुरु भएपछि एकाघरका दुई÷चार जनासम्मले काम गर्न थाले । काम गरेको साढे दुई महिना बढी भइसक्दा पनि ज्याला नपाएपछि सडक अवरुद्ध गरेको बताएका छन् । तल्कोट गाउँपालिका वडा नम्बर ३ की देवकला देवी बोहराले सडक खण्डमा पुगेर बालुवा, गिट्टी, ढुङ्गा ओसार पोसारलगायतका काम गर्न थाल्नुभयो । काम गरेको ८० दिन पुग्दासमेत उहाँले मजदुरीबापतको ४० हजार रकम पाउनुभएन ।

त्यस्तै तल्कोट गाउँपालिका वडा नम्बर ३ का झण्डै एक सय ३२ जनाले ताक्लोकोट सडक खण्डमा मजदुरी गरेबापतको रकम लिन बाँकी छ । केहि स्थानीय मजदुरले भने आधा रकम पाएको बताएका छन् । अहिले ठेकेदारहरु पनि फरार रहेका छन् । कामदारको रकम नदिई कहाँ गए भनेर आफूहरुलाई थाहा नभएको स्थानीय कामदार नन्दलाल जोशीले बताउनुभयो । जोशीले पनि सडकमा ढुङ्गा फुटालेको तथा मजदुरी गरेबापतको ११ हजार भन्दा बढी पैसा लिन बाँकी रहको बताउनुभयो । 

यहाँका धेरै जस्तो स्थानीय बासिन्दाको १० हजार देखि ४० हजारसम्म गरि झण्डै १६ लाखभन्दा बढी रकम लिन बाँकी देखिएको तल्कोट गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भरत बोहराको भनाई छ । वडा कार्यालयले पहल गर्दा समेत सुनुवाइ नभएपछि यहाँका स्थानीय बासिन्दाले केही दिन अघि वडापालिकामा समेत ताला लगाएको उहाँले बताउनुभयो । 

तल्कोट गाँउपालिका वडा नम्बर ३ भित्र सडक कटानको जिम्मा नागार्जुन कन्टक्सन प्रा.लि.ले पाएको थियो । यता सडक कटानको  जिम्मा पाएका नागार्जुन कन्टक्सन प्रा.लि. ठेकदार दिपकबहादुर सिँहले आफूहरुले दिनु पर्ने सबै मजदुरको पैसा वडाध्यक्षको रोहबरमा  दिइसकेको र विचका केहि व्यक्तिहरुबाट त्यस्तो बेइमान भएको हुन सक्ने बताउनुभयो । 

आफूहरुले मजदुरलाई मार्का पार्ने काम नगरेको र मजदुरलाई नठगेको बताउँदै पेटी ठेगेदार र वडा अध्यक्षको रोहबरमा सम्झौता अनुसारको रकम दिएको बताउनुभयो । यता वडा अध्यक्ष भरतबहादुर बोहराले मजदुरको सबै रकम नआएको र १६ लाख ४३ हजार  रुपैयाँ मात्र प्राप्त रकमले केहि मजदुरले आधा रकम पाएकोे बताउनुभयो । 

यस विषयमा विवाद आएपछि सडकमा डिभिजन कार्यलयका प्रमुख ऐन हादुर सिँह, प्रमुख जिल्ला अधिकारी प्रेमसिँह कुवँर, जिल्ला समन्वय समितिका संयोजक खडकबहादुर खड्का र ठेकेदार ईश्वरीप्रसाद भट्टसहितको टोली यहाँका स्थानीय मजदुरसँग कुरा बुझ्न तल्कोट गाँउपालिका–३ को कार्यालयमा पुगेको  वडाध्यक्ष बोहराले बताउनुभयो । मजदुरसँग टोलीले पेटी ठेकेदारहरुलाई एक महिनाभित्र बोलाएर छलफल गराउने सहमति भएको बोहराको भनाइ छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया