हरेक नागरिकलाई विद्युतको शेयर दिने कार्यक्रम 'जनताको जलविद्युत् आयोजना' सुरु

 फागुन २, २०७५ बिहिबार १६:४३:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालको पानी जनताको लगानी हरेक नेपाली विद्युत्को शेयरधनी भन्ने नाराका साथ सरकारले जनताको जलविद्युत् आयोजना कार्यक्रम सुरु गरेको ।

उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयले बिहीबार राजधानीको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम गरी जनताको जलविद्युत आयोजना कार्यक्रमको शुभारम्भ गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्दे प्रधानमन्त्री केपी शर्मा ओलीले गतिशील क्षेत्रमा लगानी बढाउन सबैलाई आह्वान गर्नुभयो । नेपालले जलविद्युत्को क्षेत्रमा प्रचुर सम्भावना बोकेकाले यस क्षेत्रमा लगानी वृद्धि गरि आफूलाई सम्पन्नशाली बनाउन पनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ऊर्जा वर्ष घोषणा गर्ने लक्ष्यसहित सरकारले लिएको नीतिअनुसार जनताको जलविद्युत् आयोजनाको शुभारम्भ गरिएको बताउनुभयो । 

स्वदेशी लगानीमै नेपालभित्र ३ हजार मेगावाटभन्दा बढी जलविद्युत आयोजना सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रमअनुसार जनताको जलविद्युत् आयोजनामा सार्वजनिक गरिएको हो । ‘नेपालको पानी, जनताको लगानीः हरेक नेपाली जलविद्युतको शेयरधनी’ भन्ने मूल नाराका साथ सुरु गरिएको आयोजना अन्तर्गत सरकारले ३ हजार ७ सय ७९  मेगावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ ।

आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर  र प्रभावित क्षेत्रका जनताको १० प्रतिशत शेयर रहने गरी कानुनी व्यवस्था मिलाइएको छ । आयोजनाअन्तर्गत ३ हजार ७ सय ८९ मेगावाट क्षमताको १९ वटा जलविद्युत आयोजना निर्माणका लागि झण्डै ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रमअन्तर्गत यस आयोजनाका लागि झण्डै ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

जनताको लगानीमा बनाइने आयोजना कुन–कुन ?

किमाथांका अरुण           ४८२ मेगावाट
अपर अरुण                   ७२५ मेगावाट
इखुवा                          ३० मेगावाट
अरुण ४                       ३७२ मेगावाट
धुन्सा खोला                 ७२ मेगावाट
सिम्बुवा खोला              ७० मेगावाट
तामाकोसी ५                ९९६ मेगावाट
त्रिशूली ३ बी                 ३७ मेगावाट
बूढीगण्डकी ग्वारखोला   ६० मेगावाट
बूढीगन्डकी प्रोक १        १०० मेगावाट
बूढीगन्डकी प्रोक २       २४० मेगावाट
बूढीगन्डकी क             ७५ मेगावाट
भेरी बबई डाइभर्सन      ४८ मेगावाट
फुकोट कर्णाली             ४९२ मेगावाट
जगदुल्ला १                ९२ मेगावाट
जगदुल्ला २                 ६५ मेगावाट
चैनपुर सेती                २१० मेगावाट
सेती नदी ३                 १६३ मेगावाट
अपर सेती                  ५० मेगावाट

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया