‘फूल’ दिएर होइन चोखो ‘मन’ दिएर गाँसिएको प्रेम पो दीगो हुन्छ, मिठो हुन्छ !

 फागुन २, २०७५ बिहिबार १८:१३:२६ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ - आज फेब्रुअरी १४, भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस ।

पछिल्लो समय नेपालमै यो दिवस मनाउनेको संख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एक-अर्कामा प्रेम भाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलन छ ।

हरेकको मनमा प्रेम भाव अंकुराएको हुन्छ । मनले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्नु, एकले अर्कोलाई प्रेम गर्नु नराम्रो कदापि होइन । प्रेम मनसँग जोडिएको, भावनासँग जोडिएको विषय हो । तर पछिल्लो समय प्रेम गर्ने नाममा, प्रेम दिवस मनाउने नाममा विभिन्न विकृति भित्रिएको जानकारहरु बताउँछन् । 

प्रेम दिवस मनाउनु गलत होइन तर व्यवस्थित गर्नु जरुरी रहेको गजलकार थकित यात्री बताउनुहुन्छ । ‘हाम्रो पालामा प्रेम दिवस मनाउने भन्ने खासै चलन थिएन । अहिले हाम्रो देशमासमेत यो दिवस मनाउन थालिएको छ । यो मनाउनु गलत होइन’, उहाँ भन्नुहुन्छ, ‘प्रेम दिवसका नाउँमा विभिन्न विकृति पनि भित्रिएका छन् । यसतर्फ सजग हुनुपर्छ । यसलाई व्यवस्थित गर्नु जरुरी छ ।’ 

बाटोमा हिँडेको जो - कोहीलाई हातमा गुलाब थमाउँदैमा सच्चा प्रेम हुन नसक्ने उहाँ बताउनुहुन्छ । ‘प्रेम दिवस भन्दैमा बाटोमा हिँडेको जोकोहीलाई हातमा गुलाब थमाएर प्रेम हुन सक्दैन । प्रेम हुन मनसँग मन मिल्नु जरुरी छ’, उहाँले थप्नुभयो, ‘जिन्दगीको गति र दिशा पत्ता लगाउन सक्ने शक्ति हुन्छ, सच्चा प्रेममा ।’

विगतमा मन पराएको मान्छेलाई चिट्ठीपत्रमार्फत आफ्नो मनको कुरा लेखी पठाउने चलन थियो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मन पराएको मान्छेलाई क्षणभरमै मनको कुरा सुनाउन, भन्न सकिने अवस्था रहेको दोर्दी गाउँपालिका - २, भारतेका यात्रीले बताउनुभयो ।

‘एकअर्कामा प्रेम हुनु जरुरी छ । प्रेमबिना संसार कहाँ चल्छ र !,’ उहाँ भन्नुहुन्छ ।

माया, प्रेम, मिलन विछोडका विषयमा थुप्रै गीत, गजल लेखेका यात्रीले प्रेम दिवसकै अवसरमा एउटा भावना सुनाइहाल्नुभयो,

पहाड पनि हिमाल बन्छ हिउँले ढाकेपछि  
ढुंगा पनि मुटु बन्छ दिलमा राखेपछि ....

सच्चा प्रेमले सदैव भलो चाहन्छ । प्रेमले जीवन जिउन सजिलो बनाउँछ । यो निश्वार्थी हुन्छ । हुनुपर्छ ।

तर पछिल्लो समय भावनात्मक रुपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ ‘फेक लभ’ गर्नेहरुको कमी छैन । यसो हुनु राम्रो होइन ।   

अतः ‘फूल’ विभिन्न ‘उपहार’ दिएर गाँसिएको प्रेमभन्दा चोखो ‘मन’ले गाँसिएको प्रेम पो मिठो हुन्छ । दीगो हुन्छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया