युरोपा लिग : आर्सनल पराजित, चेल्सीको कठिन जित

 फागुन ३, २०७५ शुक्रबार ७:१९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

युरोपियन फुटबल प्रतियोगिता युरोपा लिगको प्रिक्वाटरफाइनलको पहिलो लेगमा आर्सनल पराजित हुँदा चेल्सीले दुई एकको जित निकालेको छ ।

शुक्रबार बिहान भएको खेलमा आर्सनल बाटे फुटबल क्लबसँग एक शून्यले पराजित भयो । बाटेको घरेलु मैदानमा भएको खेलमा स्तानिस्लोभ ड्रागुनको एकमात्र गोल निर्णायक बन्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिममा ड्रागुनले गोल गर्दै बाटेलाई अग्रता दिलाएका थिए । त्यसपछि आर्सनलले तीन वटा उत्कृष्ट मौका पाएपनि गोल गर्न सकेन र पराजित भयो । 

एक गोलले पछि परेको आर्सनले उल्टो ८५ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो । उसका फ्रान्सेली खेलाडी एलेजान्द्रे लाकाजेटी दोहोरो पहेलो कार्ड पाउदै मैदानबाट बाहिरिए । त्यसपछि आर्सनल खेलमा फर्कन सकेन र हार ब्यहोर्यो । अब दोस्रो लेगमा आर्सनल घरेलु मैदानमा खेल्नेछ ।

अर्को खेलमा चेल्सीले माल्मो फुटबल क्लबलाई दुई एकले हरायो । स्विडीस क्लब माल्मो विरुद्धको जितमा चेल्सीका लागि रोस बार्रक्ले र ओलिभर जिरुडले एक–एक गोल गरे ।

माल्मोको घरेलु मैदानमा भएको खेलमा चेल्सीले ३० औं मिनेटमा अग्रता बनायो । उसका लागि रोसले पेद्रोको पासमा गोल गर्न सफल भए । 

पहिलो हाफमा एक गोलले अगाडि रहेको चेल्सीले ५८ औं मिनेटमा अन्तर दुई शून्यमा पुर्‍यायो । उसका लागि जिरुडले विलियमको पासमा गोल गरे । घरेलु मैदानमा दुई गोलले पछि परेको माल्मोले ८० औं मिनेटमा गोल गर्दै अन्तर कम गरेको थियो । उसका एन्द्रेस क्रिस्टियनले रोजेनबर्गको पासमा गोल गरेका थिए ।

तर त्यसपछि माल्मो घरेलु दर्शकमाझ थप गोल फर्काउन सकेन र पराजित भयो । अब चेल्सीले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया