मझुवा खानीका कारण १२ सय परिवार जोखिममा

 फागुन ३, २०७५ शुक्रबार १३:२१:४३ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौंडाको मझुवामा रहेको चुनढुङ्गा खानीको उत्खननका कारण आधा दर्जन गाउँका एक हजार दुई सय परिवार खोखिम मोलेर बस्न बाध्य छन् । चुनढुङ्गा निकाल्नका लागि मजुवाको डाँडामा निरन्तर उत्खननका कारण जाेखिम भएको हो । 

मझुवा डाँडामा पुग्दा खोतल्दै गरेका एक्स्काभेटर, ढुङगा, माटो र ग्राभेल यत्तिकै जथाभावी फालिएको देख्न सकिन्छ । माथि हेर्दा ढुङगा, माटो झरेर हेर्न डर लाग्ने, तल हेर्दा पनि पहिरो झरेको डोब हेर्नै सकिँदैन । तर यस्तै पहरामा नीलो रंगमा देखिने सिमेन्टको चुनढुङगा नौ वटा एक्स्काभेटरले निकाल्दै गरेका छन् । मकवानपुर गढी गाउँपालिका वडा नम्बर ५ मा मजुवा खानीमा हेटौंडा सिमेन्ट उद्योगले चुनढुङगा उत्खनन् गर्दै गर्दाको दृष्य हो यो । 

हेटौंडाको मूख्य बजारबाट करिब १५ किलोमिटर उत्तरपूर्व लागेपछि मझुवा खानी आइपुग्छ ।  खानी जथाभावी रुपमा उत्खनन् गर्दै गर्दा यहाँ विज्ञ र प्राविधिकबिना  एक्स्काभेटर चालक आफै इञ्जिनियर बनेर डाँडा कपेर पहिरो लडाइरहेका थिए । खानीनजिकै रहेका चुहार, नयाँ गाउँ, सोलीथुम, ज्यामिरे, सिमल्टार, कालिवन र धादिङका एक हजार २ सय घरधुरीका बासिन्दाहरु तलबाट डाँडा खोतलेको हेरेर बस्न बाध्य छन् ।

खानीको फेदमा रहेको अमरसिंह प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकको उस्तै जोखिम मोलेर पठनपाठनमा व्यस्त छन् । उहाँहरुको एउटै चिन्ता जथाभावी खानी उत्खनन गरेर डाँडैभरि फालिएको ओभरबटमका कारण वर्षायाममा विद्यालय पनि बगाउला र  पढ्न/पढाउन पाइँदैन भन्ने ठूलो चिन्ता रहेको विद्यालयकी शिक्षिका गीता सञ्जेलले दुःखेसो पोखाउनुभयो । खानीको फेदमा विद्यालय भएकाले खानी चलाउने हो भने विद्यालयलाई अन्यत्र सार्नुको विकल्प नभएको शिक्षिका सञ्जेलले बताउनुभयो ।

यसअघि चुनढुङ्गा व्यवस्थित तरिकाले निकाल्नुपर्छ, ओभरबटमको नियन्त्रण गर्नुपर्छ भनेर विद्यालयको हितका लागि आवाज उठाउँदा बल प्रयोग गरेर आफूलाई हिरासतमा हालिएको बताउनुभयो । हिउँदमा सामान्य पानी पर्दा पनि खानी क्षेत्रमा पहिरो झरेको देखेर शिक्षक र विद्यार्थीहरु अहिले देखि नै उत्तिकै चिन्तामा छन् ।

यता बस्तीका बासिन्दाहरुको आँखा खानीमा उत्खनन गरेर खसिरहेको माटो र त्यसमा धुलोको मुस्लो हेरेर चिन्तामा बस्नु बाध्य रहेको गढी गाउँपालिका–५ ज्यामिरेका स्थानीय भरतप्रसाद फुँयाल बताउनुहुन्छ । 

खानीसँगै रहेको शारदा माध्यमिक विद्यालय, ५ नम्बर वडा कार्यालय, स्वास्थ्य चौकी, विभिन्न संघसंस्था संगै मानव बस्ती बढी जोखिममा रहेको बताउँदै स्थानीय फुयाँल भन्नुहुन्छ–‘गढी गाउँपालिका र यहाँको वडा कार्यालयले एकले अर्कालाई दोष लगाएर खानीबाट जताततै फालिएको ओभरबटम नियन्त्रण गर्नका लागि चासो दिईएन ।

ठूलो बस्तीको बीचमा रहेको मझुवा खानी व्यवस्थित रुपमा सञ्चालन गर्नुको सट्टा जथाभावी प्राविधिकको उपस्थितिबिना खानी उत्खनन् गर्ने र यहाँका डाँडैभरि ओभरबटम फाल्दा थप जोखिम परेको स्थानीय वासिन्दाहरु बताउँछन् ।

पूर्ण सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योगले खानी सञ्चालन गर्दा पहिले स्थानीय वासिन्दा, वडा कार्यालय, गाउँपालिका कार्यालयसँग गरिएका सहमति पालना गरेर मात्र खानी सञ्चालनमा लागि माग गरिएको थियो । तर त्यसको सुनुवाइ नभएको बस्ती संरक्षण समितिका सचिब ईन्द्रजित देवकोटा बताउनुहुन्छ । जिल्ला समन्वय समिति र वडा कार्यालयमा भएका सबै सहमति कार्यन्वयन गर्नका लागि दबाब दिइएको गढी गाउँपाकिला– ५ का अध्यक्ष जितबहादुर घिमिरे बताउनुहुन्छ ।

खानी सञ्चालन गर्नका लागि हेटौंडा सिमेन्ट उद्योग, चुनढुङगा उत्खनन् र ढुवानी गर्ने ठेक्का पाएको ओमसायी कन्स्ट्रक्सनले ओभरबटम व्यवस्थापन गर्नका लागि खानीमै जाली भरेर ग्राभेल निस्कनै नदिने बनि सहमति भएको थियो । यस्तै ज्यामिरेदेखि कालिवन, सिमल्टारसम्म सिमेन्टको क‌ंक्रिट ढला सहितको ठूला चेक ड्याम हाल्ने, स्थानीय क्षेत्रमा स्लाब ढलानको सडक निर्माण गर्ने भनि सहमति भएको थियो ।  

सिमेन्ट उद्योगले प्रभावित क्षेत्रका विद्यालय स्थान्तरण गर्ने, खानी प्रभावित घर, जग्गाको मुहाब्जा दिने लगायतका सहमति भएको हो । तर ज्यामिरेमा स्लाब ढलानको काम भइरहेको बहेक कुनै पनि काम नभएको स्थानीय बासिन्दाहरु बताउँछन् । 

मझुवा खानी सञ्चालन गर्नका लागि पहिले स्थानीय वासिन्दा र गाउँपालिका संग भएका संझौता कार्यान्वयनबाट नभागिने हेटौंडा सिमेन्ट उद्योग सञ्चालक समितिका अध्यक्ष रघुरमण न्यौपाने बताउनुहुन्छ । उद्योगसँग भएका सहमति बिस्तारै कार्यान्वयनमा लगिने उहाँले बताउनुभयो ।

खानीबाट निस्केका ओभरबटम ओमसायी कन्स्ट्रक्सनले नै व्यवस्थापन गर्ने गरी ठेक्का गरिएकोले कन्स्ट्रक्सनले नै व्यवस्थापन गर्नुपर्ने अध्यक्ष न्यौपाने बताउनुहुन्छ ।

यसैगरी चुनढुङगा उत्खनन् र ढुवानी गर्ने ठेक्का पाएको ओमसाई कन्ट्रक्सनका सञ्चालक होमनाथ गौतमले भने ओभरबटम व्यवस्थापनका लागि टिपरबाट ओसारेर गढी गाउँपालिकाको बुङदलमा व्यवस्थापन गर्न थालिएको बताउनुभयो ।   

अन्तिम अपडेट: चैत २९, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया