गोरे दाइ अब त नेपालमै केही गर्ने कि ?

 असार ८, २०७५ शुक्रवार १३:३१:३४

विजय भुसाल 

नुवाकोट – १२ वर्षअघि नुवाकोटका गोरे लामा काठमाडांैको एक अस्पतालमा एम्बुलेन्स चलाउने काम गर्नुहुन्थ्यो । गाडी चलाउने सीप जानेकाले धेरै वर्ष ट्याक्सी पनि चलाउनु भएको थियो ।

महिनाको ८ हजार तलब र ओभरटाइम गर्दा महिनामा १५ देखि १८ हजार रुपैयाँ कमाउनुहुन्थ्यो । त्यही तलबले घर खर्च चलाइरहेका गोरेले श्रीमती बसन्ती लामाको पत्थरीको उपचारमा खर्च पनि जुटाउनुपर्यो । 

श्रीमतीलाई अस्पताल पु¥याएर उहाँ अस्पतालको ढोका नजिकैको रुखको छहारीमा बसिरहनुभएको थियो । त्यही गोरेको भेट अर्का बिरामी कुरुवासँग भयो । उनले गोरेसँग कुराकानी गर्न थाले । काठमाडौंका बासिन्दा भएको बताउने उनले आफू म्यानपावरमा काम गर्ने बताए गोरेलाई । अर्थात उनी एजेण्ट थिए ।

आफ्नो काम बताएका उनले गोरेको काम र कमाईका कुरा झिके । गोरेले जे थियो, त्यही बताउनुभयो । त्यो सुनेपछि ती व्यक्तिले गोरेलाई विदेशको लोभ देखाए । ‘तपाईंको जस्तो सीप भएकोले त विदेशमा महिनाको १ लाख रुपैयाँसम्म तलब पाउँछन्, ओभरटाइमको पनि छुट्टै पैसा कमाइन्छ, कम्पनी राम्रो हुन्छन् र सुविधै सुविधा हुन्छ, के यति थोरै तलवमा काम गर्नु भएको भन्यो’ गोरे सुनाउनुहुन्छ । 

एजेन्टले विदेशका बारेमा बढाएर गफ दिएको गोरेले पत्तै पाउनुभएन । उसका कुरा सुनेपछि गोरेको मन नै बदलियो । केहीबेर अघिसम्म विदेशको सोच नै नभएका गोरेले स्वदेशमा भन्दा विदेशमा कमाइने रहेछ भन्ने सोच्न थाल्नुभयो । 

तर उहाँको पढाइ थिएन । त्यसैले ती व्यक्तिसँग उहाँले ‘म जस्तो २ कक्षा मात्र पढेको मान्छे पनि विदेश जान मिल्छ र दाजु ?’ भनेर सोध्नुभयो । गोरेका कुराले एजेण्टले उहाँ विदेश जाने निधो पाइसकेका थिए । 

उनले गोरेलाई  किन नमिल्नु, कस्तो कस्तो केही नपढेको र केही सीप नजानेको मान्छे त विदेशगइरहेका छन, झन तपाईसँग त सीप पनि छ, मज्जाले मिल्छ भन्दै केही सहयोग चाहिएमा फोन गर्नु भन्दै भिजिटिङ कार्ड हातमा हाल्दिए । उनका कुरा सुनेदेखि गोरेले वैदेशिक रोजगारमा जाने मात्र सोच्न थाल्नुभयो । 

‘त्यसपछि त म विदेशको तलब अनि त्यहाँ गएपछि बचाउन सकिने पैसका बारेमा मात्रै सोच्न थालें’ गोरेले भन्नुभयो । केही दिनपछि गोरे मोभिरा ओभरसिसमा पुग्नुभयो । म्यानपावरले उहाँलाई साउदी १५ सय रियाल तलब हुने काम रहेको भन्दै एकलाख १५ हजार रुपैयाँ लाग्ने बतायो ।

गाडी चलाइरहेका गोरेलाई म्यानपावरले साउदीमा ट्याक्सी चलाउने काम हो भन्दै ओभरटाइम पनि हुने बतायो । म्यानपावरले भनेको तलब गोरेलाई यहाँको कमाई भन्दा धेरै लाग्नु स्वभाविक थियो । त्यसैले उहाँ साउदी उड्नुभयो । 

साउदी पुगेपछि म्यानपावरले भनेको काम पाउनुभएन । ट्रक चलाउने काम पाएका गोरेले यहाँ भनिएको १५ सय रियालको आधाभन्दा पनि कम ७ सय रियाल मात्रै तलब पाउनुभयो ।

भनेको काम र तलब नभएपनि गोरेलाई जाँदा खर्च भएको पैसा र श्रीमतीको उपचारका लागि खर्च जुटाउनु थियो । त्यसैले काम थाल्नुभयो । काम चल्दै थियो । तर एकदिन गोरेले चलाएको ट्रक दुर्घटनामा प¥यो । ‘साउदीको जुवेलमा सामान पु¥याएर दमाम भन्ने ठाउँतिर जादै थिएँ । पानी परिरहेको अर्को ट्रकले मैले चलाएको ट्रकलाई ठक्कर दियो’ गोरेले दुर्घटना भएको दिन सम्झिनुभयो ।  

ट्रकमा क्षति भएपनि उहाँलाई केही भएन । आफू बाँचेकोमा खुशी भएका गोरेलाई कम्पनीले जरिवाना गराउँछ भन्ने चिन्ताले सतायो । त्योभन्दा अघि दुर्घटनामा परेका उहाँका साथीहरुलाई कम्पनीले जरिवाना तिराएको थियो । 

गोरेले जे सोच्नुभएको थियो त्यही भयो । उहाँलाई कम्पनीले १४ हजार रियाल जरिवाना माग्यो । कम्पनीले तोकेको जरिवाना तिर्न सक्ने अवस्था थिएन । त्यसैले कम्पनीले उहाँको तलबबाट कटाउन थाल्यो । २८ महिनामा कम्पनी १४ हजार रियाल जरिवाना बुझाएर उहाँ घर फर्किनुभयो ।

त्यतिञ्जेलमा उहाँले जाँदा लागेको ऋण तिरेर एक लाख रुपैयाँ बचाउनुभएको थियो । गोरे भन्नुहुन्छ ‘२८ महिनाको उपलब्धी त्यही एक लाख भयो ।’ साउदीबाट ल्याएको एक लाख रुपैयाँले गोरेले श्रीमतीको पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्नुभयो ।

गोरेलाई विदेश गएर श्रीमतीको उपचार गर्न सक्नु ठूलो उपलब्धी हो भन्ने लागेपनि नेपालमै एम्बुलेन्स चलाएको भएपनि २८ महिनामा १ लाख भन्दा धेरै कमाइन्थ्यो भन्ने पनि लाग्थ्यो । विदेशमा भन्दा नेपालमै कमाइन्थ्यो भन्ने लाग्दा लाग्दै पनि गोरे फेरि विदेश नै जाने निष्कर्षमा पुग्नुभयो । 

माउण्टेन ओभरसिजलाई १ लाख २५ हजार रुपैयाँ बुझाएर उहाँ बहराइन जानुभयो । साउदीमा भनेको भन्दा आधा तलब पाएका गोरेले ७ महिना काम गर्दा दुई महिनाको मात्रै तलब पाउनुभयो ।

भनिएको तलब नपाएको भन्दै उहाँसँगै त्यहाँ काम गर्ने कामदारले हड्ताल गरे । दुई महिना काम नगरी बसेर अदालतमा मुद्धा लडे । मुद्धा कम्पनीले नै जित्यो । मुद्धा जितेपछि कम्पनीले कामदारलाई जरिवाना तिरायो । ‘त्यतिबेला मलाई दुःख पाउन लेखेपछि जुन देश गए पनि नहुँदो रहेछ भन्ने लाग्यो’ गोरेले भन्नुभयो । 

त्यति मात्रै होइन एक पटक सामान पु¥याउन जाँदा उहाँ लुटिनु पनि भयो । लुगाको झोलासँगै गाडीको कर तिर्न दिएको तीन हजार रियाल पनि हराएपछि तीन दिन भोकै बस्नुपर्दाको पीडा पनि गोरेले बिसिर्नुभएको छैन ।

भुक्तमान खेपेर बहराइनबाट फर्किंदा गोरे अब विदेश नजाने भन्दै फर्किनुभएको थियो । तर उहाँको मन अडिएको छैन । उहाँ अहिले अर्को कुनै देश जान पाए राम्रो काम र कमाइ हुन्थ्यो कि भनेर म्यानपावर धाउँदै हुनुहुन्छ । 

विदेशको दुःख देख्नु मात्रै भएको छैन भोग्नु पनि भएको छ गोरेले । तर पनि घरको बाध्यता भन्दै फेरि पनि विदेश नै जाने तयारीमा हुनुहुन्छ । यी गोरे दाइ अब त नेपालमै केही गर्दा हुन्न र ?

अन्तिम अपडेट: साउन १९, २०७५

तपाईको प्रतिक्रिया