मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन अमेरिकी राष्ट्रपति ट्रम्पले गरे राष्ट्रिय संकटकालको घोषणा

 फागुन ३, २०७५ शनिबार ५:३९:९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रिय संकटकालको घोषणा गरेका छन् । 

शुक्रबार ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै उनले संकटकाल लगाउँदै मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले ‘पर्खालले काम गर्ने’ पनि बताएका छन् । 

मेक्सिकोबाट भैरहेको आप्रवासीहरुको आगमनलाई रोक्ने ट्रम्पले राष्ट्रपति चुनावको क्याम्पेनमै भनेका थिए । तर डेमोक्र्याट्सहरुले यसलाई ‘शक्तिको दुरुपयोग’ बताउँदै आएका छन् ।

राष्ट्रपति ट्रम्पले राष्ट्रिय संकटकाल लगाउने विषयमा हस्ताक्षर भने गरेका छैनन् । तर कंग्रेसले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने बारेको विधेयक (बिल) पास नगरे ट्रम्पले राष्ट्रिय संकटकालको घोषणा गरेका हुन् ।

डेमोक्र्याट्स पार्टीका उच्च नेताहरुले भने ट्रम्पको कदमलाई अदालतबाट चुनौती दिने बताएका छन् । संकटकाल घोषणासँग्र ट्रम्पले अर्बौँ डलर पैसा आफ्नो पर्खाल बनाउने योजनामा प्रयोग गर्न पाउनेछन् ।

राष्ट्रपति ट्रम्पले के भने ?

ह्वाइट हाउसको रोज गार्डेनमा पत्रकारहरुसँग कुरा गर्दै संकटकाल घोषणासँगै मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झण्डै ८ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने राष्ट्रपति ट्रम्पले बताए । 

‘हामीले हाम्रो दक्षिणी सीमामा रहेको राष्ट्रिय सुरक्षा संकट समाधान गर्दैछौँ’, ट्रम्पले भने । ‘हामीमाथि लागुऔषध कारोबारीको आक्रमण छ, ग्याङहरुको आक्रमण, मानिसहरुको आक्रमण छ । यो हामीलाई कदापि स्वीकार्य छैन । सबैलाई थाहा छ, अब पर्खालले काम गर्छ’, राष्ट्रपति ट्रम्पले भने ।

ट्रम्पले आफूले चालेको कदमलाई पूरा गरेरै छाड्ने बताए पनि उनको संकटकाल घोषणाको मामिला भने अमेरिकी सर्वोच्च अदालसम्म पुग्ने आंकलन गरिएको छ ।

गलत नजिर

बीबीसीका उत्तर अमेरिकी सम्पादक जोन सोपेल ट्रम्पको कदमले गलत नजिर बस्ने बताउँछन् । सोपेल यसलाई एउटा पक्षपातीपूर्ण मुद्दाको रुपमा प्रस्तुत गरिएको बताउँछन् । उनी भन्छन्, ‘पर्खालको एकातिर रिपब्लिकन छ, अर्कोतिर डेमोक्र्याट्स । यसैबीच राष्ट्रपति ट्रम्पले यसलाई झन जटिल मुद्दा बनाएका छन् । सिनेटमा ट्रम्पको कदम नरुचाउने रिपब्लिकनकै पनि थुप्रै सिनेटरहरु छन् ।’

के हो राष्ट्रिय संकटकाल ? 

अमेरिकी संघीय कानुनले राष्ट्रपतिलाई राष्ट्रलाई धम्की आएको, आपतकालीन अवस्था तथा संकटग्रस्त समयमा थुप्रै शक्ति प्रयोग गर्न दिन्छ । 

राष्ट्रिय संकटकाल घोषणा गर्दै राष्ट्रपतिले  समस्याहरु समाधान गर्नका लागि ‘प्रभावकारी रुपमा सरकार चलाउन’ थुप्रै बाटो पाउनेछन् । राष्ट्रपतिलाई सम्पत्ति कब्जा गर्ने, स्रोत साधन जुटाउनेदेखि विदेशमा सेना खटाउनेसम्मको अधिकार राष्ट्रिय संकटकालबाट प्राप्त हुन्छ ।

राष्ट्रिय संकटकाल घोषणा गर्दै राष्ट्रपति ट्रम्पले संघीय कोषलाई  पर्खाल लगाउने काममा लगाउन सक्नेछन् । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया