आफ्नै गिनिज रेकर्ड तोड्ने तयारीमा कामिरिता : अझै पाँच पटक सगरमाथा चढ्ने सपना !

 फागुन ४, २०७५ शनिबार ११:४:९ | सजना तिमल्सिना
unn.prixa.net

‘अहिलेसम्म अरुको रेकर्ड तोड्छु, उनीहरुलाई जित्छु भनेर सगरमाथा चढेको होइन, मेरो शरीरले भ्याएसम्म सगरमाथा चढ्नेछु, पर्यटकलाई चुचुरोमा पुग्न मद्दत गर्नेछु ।’

२३औँ पटक सगरमाथा आरोहणको तयारीमा जुटेका कामिरिता शेर्पा भन्नुहुन्छ, ‘अझै ४–५ पटक सगरमाथा चढ्ने मेरो योजना छ, हेरौं के हुन्छ !’

साइत जुराएर नाम राख्ने हुँदा सोलुखुम्बुको थामे गाउँमै ३–४ जनाको नाम कामिरिता शेर्पा छ । चिन्न सजिलो होस् भनेर तल्लो घरे कामिरिता, माथ्लो घरे कामिरिता, तेर्सो घरे कामिरिता भनेर बोलाउने चलन नै छ । कहिलेकाँही एउटालाई बोलाउँदा अर्को पुग्ने गरेको सम्झना उहाँको छ ।

अहिले भने कामिरिताको पहिचान नै छुट्टै छ । उहाँ २२ पल्ट सगरमाथा चढेपछि भने कोही पनि झुक्किँदैनन् । ‘रेकर्ड राख्ने कामिरिता’ भनेपछि सबैले उहाँलाई चिनिहाल्छन् । उनै कामिरिता अहिले भने २३ औँ पटक सगरमाथाको चुचुरो चुम्ने तयारीमा हुनुहुन्छ । 

पर्यटकलाई बाटो देखाउँदा रेकर्ड बनेको पत्तै भएन 

सोलुखुम्बुको विकट थामे गाउँमा जन्मनुभएका शेर्पा ४९ वर्ष पुग्नुभयो । उहाँले १२–१३ वर्षको उमेरदेखि नै पर्यटकको भारी बोकेर हिमाल चढ्न थाल्नुभयो । त्यसपछि पथप्रदर्शकको काम गर्दागर्दै उहाँले पहिलो पटक २४ वर्षको उमेरमा सन् १९९४ मा सगरमाथाको चुचुरोमा पाइला टेक्नुभयो ।

उहाँ सन् १९९२ मै सगरमाथाको चुचुरोमा जान लाग्नुभएको थियो । तर त्यतिबेला आठ हजार मिटरमाथि नपुगेका व्यक्ति सगरमाथा जान पाउँदैनथे । त्यसपछि १९९३ मा पनि यही कारणले सगरमाथा चढ्न नपाए पनि कामिरिताले १९९४ मा भने सगरमाथाको टुप्पोमा पुग्ने मौका पाउनुभयो ।  

त्यसपछि पथप्रदर्शकको रुपमा पर्यटकलाई चुचुरोमा पुर्‍याउने काम गर्दागर्दै आफ्नो रेकर्ड बनेको उहाँलाई पत्तै भएन । कामिरिता १९९४ को मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभयो । त्यसपछि २२ वटा रेकर्ड बनिसकेका छन् । 

सगरमाथाको चुचुरोमा कामिरिताका पाइला कहिले–कहिले ?

२५ मे, १९९७ 
२५ मे, १९९८ 
१३ मे, १९९९ 
२३ मे, २००० 
२५ मे, २००२  
३० मे, २००३  
२४ मे, २००४  
३० मे, २००५  
२० मे, २००६  
२२ मे, २००७  
२४ मे, २००८ 
५ मे, २००९ (रोप फिक्सिङ टिम) र २३ मे–हाई अल्टिटयूड वर्कर), 
२०१० मा ५ मे र २४ मे
१८ मे, २०१२ 
२०१३ मा १० मे र २२ मे 
२० मे, २०१६ 
२७ मे, २०१७ 
१६ मे, २०१८ 

यसरी उहाँले २२ पटक सगरमाथाको चुचुरोमा पाइला राखिसक्नुभएको छ । 

बुबा गाइडको ‘सरदार’

बुबा र दाइले पथप्रदर्शकको काम गर्ने भएकाले कामीरिता पनि पर्यटकको भारी बोकेर हिमाल चढ्न थाल्नुभयो । कामीरिताका बुबा थामे गाउँमा गाइडको ‘सरदार’ भनेर चिनिनुहुन्थ्यो । ‘कसैले उहाँलाई ‘सरदार पाला’ भन्थे त कसैले ‘सरदार मिङमा छिरिङ’ । ‘सरदार’ भनेको ‘गाइड’ हुन् ।

गाउँका बुढापाका प्राय: सबैजना यही क्षेत्रमा लागेका थिए । त्यहि भएर म पनि यहि क्षेत्रमा लागेँ’, उहाँले भन्नुभयो । 

क्याम्पको रमाइलो 

सरकारले एकपल्ट सगरमाथा आरोहण गर्न ७५ दिनको पर्मिट दिन्छ । त्यसपछि पर्यटक लिएर ३५ देखि ४० दिनसम्म आधार शिविरमा बसेपछि बल्ल सगरमाथातिर लाग्छन् उनीहरु । मौसम सफा भए छिट्टै नभए ढिलो सगरमाथाको टुप्पोमा पुगिने उहाँको भनाइ छ । ‘एकैपल्ट आरोहणमा जाँदैनौँ ।

विदेशीलाई ३०–३५ दिन शिविरमा राखेपछि मात्र आरोहणको तयारी गर्ने हो । उनीहरुलाई हावापानीमा घुलमिल गराउन यसो गरिन्छ । कामिरिता थप्नुहुन्छ, ‘क्याम्पमा बस्दा नाच्ने गाउँने, लगेको ग्यास हिउँमै राखेर खानेकुरा पकाएर खाने गरिन्छ । आधार शिविरमा एक दुई दिन आराम गराएपछि क्याम्प वान जाने अनि क्याम्प वान, क्याम्प टु र क्याम्प थ्रीपछि गर्दै बेसक्याम्पमा ल्याएपछि बल्ल आरोहणमा लैजाने गरिन्छ ।’

क्याम्प दुईसम्म त दालभात नै पकाएर खान सकिन्छ । तर त्यहाँभन्दा माथि पानी हिउँ हुन्छ । तताएर खान मिल्ने खानेकुरा खानुपर्छ । कुनै अलिअलि पकाउँदै पाक्छ भने कुनै चाँहि पानीमा डुबाएर खाने । 

‘हिउँमा बसे पनि त्यहाँ सुतेको बेलामा देख्ने सपना फरक हुँदैन । तराईदेखि हिमालसम्मका सबै कुरा सपनामा पनि देख्छौँ’, उहाँले व्यङ्ग्यात्मक शैलीमा भन्नुभयो ।

बाटोमा शव देख्दा काम छाड्न मन लाग्छ 

हिमाल चढ्ने क्रममा जति माथि गयो त्यत्ति नै कठिन हुन्छ । अक्सिजनको कमी हुन्छ भने चिसो पनि बढ्दै जान्छ । त्यही क्रममा बाटोमा शवहरु पनि देखिन्छन् । त्यो देख्दा उहाँलाई यो काम तत्काल छाडौँ जस्तो लाग्छ । तर फेरि लाग्छ सडक दुर्घटना पनि त भएकै छ नि । सडक दुर्घटना भयो भनेर कसैले गाडी चलाउन छाडेको छ र ? 

‘सगरमाथा चढ्ने बेलाभन्दा पनि झर्ने बेलामा धेरैको ज्यान गएको छ । ओरालोमा आफूलााई थाम्न नसक्दा धेरै दुर्घटना हुन्छ । अनि एक महिनाभन्दा लामो समय क्याम्पमा रमाइलो गरेर सँगै बसेको साथीको शव छाडेर हिँड्नुपर्दा निकै नरमाइलो लाग्छ’, उहाँ थप्नुहुन्छ, ‘पहिले तालिमबिना चढ्दा आरोहणको क्रममा ज्यान गुमाउने धेरै हुन्थे । तर अहिले हिमाल चढ्ने तरिका, स्वास्थ्यको कुरा सबै बुझेर जान्छन् । त्यसैले आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या धेरै कम भएको छ ।’ 

१५ किलोको भारी बोकेर जाने तर फर्कँदा ५० किलो बढी ल्याउने 

सगरमाथा चढ्ने बेलामा आफ्ना लागि आवश्यक खानेकुरा, सुत्नलाई टेण्ड, अक्सिजनलगायतका सामान गरेर झण्डै १५–२० किलो सामान लैजान्छन् । एउटा टिममा १५–२० जना हुन्छन् । एक जनाले कम्तिमा ४ बोतल अक्सिजन बोक्छन् । एउटा साढे तीन किलोको हुन्छ । फर्कने बेलामा आप्mनोसँगै अरुले छाडेको फोहोर पनि लिएर आउँदा ५०–६० किलो फोहोर ल्याउनुपर्छ । 

कमाइ राम्रो 

पहिले सगरमाथाको चुचुरोमा पुग्दा एक पल्टमा एक लाख डेढ लाख रुपैयाँसम्म कमाइ हुन्थ्यो । अहिले १० देखि १२ लाख रुपैयाँसम्म कमाइ हुन्छ । तर पहिलेभन्दा महंगी धेरै भएकाले कामिरितालाई खासै फरक लाग्दैन । उहाँ भन्नुहुन्छ, ‘पहिलो एक डेढ लाख मात्र कमाए पनि त्यहि ठूलो हुन्थ्यो । पहिले एक कप चियाको ३–४ रुपैयाँ पथ्र्यो । अहिले एक सय ३० रुपैयाँ पर्छ । पहिले रासनलगायत सबैकुरा सस्तो थियो । पैसा पनि थोरै थियो । अहिले पैसा धेरै कमाइन्छ । महंगी पनि उस्तै छ । त्यही भएर उस्तैउस्तै हो ।’

छोराछोरीलाई भने पथप्रदर्शक नबनाउने 

आफूले २२ पटक सगरमाथा चढेर कीर्तिमान कायम गरेपनि छोराछोरीलाई भने पथप्रदर्शक नबनाउने कामिरिताको योजना छ । उहाँ भन्नुहुन्छ, ‘थामेमा स्कुल थिएन । घरको आर्थिक अवस्था पनि राम्रो थिएन । पढ्नको लागि नाम्चे वा खुम्जुङ बजार पुग्नुपर्थ्यो । एकोहोरो जान मात्रै तीन घण्टा लाग्ने । त्यसो गर्दा दैनिक कम्तिमा ६ घण्टा स्कुल जान बाटोलाई समय छुट्याउनुपथ्र्यो । घरको काम गरेर जान गाह्रो भएपछि ४ कक्षा सकेपछि स्कुल जान छाडेँ ।’ 

‘आफूले हिमाल चढ्दा गरेको दुःख उनीहरुले पनि नपाउन् । बच्चाको लागि हो आरोहीको काम गरेको । हामीले पढ्न पाएनौँ, दुःख थियो । घरको स्थिति सुधार्न पनि यो पेसामा लाग्यौ । तर अहिले शिक्षाको पहुँच राम्रो छ । अहिले थामेमा स्कुल बनेको छ । कतिले आफ्ना छोराछोरीलाई काठमाण्डौमै ल्याएका छन् । त्यही भएर पनि छोराछोरीलाई राम्रो शिक्षा दिने हो । उनीहरुले भने अनुसार पढाइदिने त्यसपछि अर्कै काममा लाग्छन् । म मात्र होइन अहिले कोही पनि परिवारले आफ्ना छोराछोरीलाई आरोही बन्न दिँदैन ।’ 


 

अन्तिम अपडेट: जेठ २, २०७६

सजना तिमल्सिना

सजना तिमल्सिना उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया