भूमिका थारु : फ्रान्सेलीको नजरमा परिन्, ‘पिँजडाकी चरी’ बनिन् !

 फागुन ४, २०७५ शनिबार १२:४४:१६ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाण्डाै – यदि शान्ता चौधरी पहिलो संविधानसभाकी सदस्य बनेकी थिइनन् भने कमलरीका पीडाहरु अझै ‘गुमराहमै’ हुन्थे होला । आफूले भोगेका कुरा तत्कालीन संविधानसभामा शान्ताले नबोलेकी भए नेपालको संविधान थारु समुदायका लागि मुक्तिको बाटो हुँदैनथ्यो होला ।

शान्ता चौधरीले कमलरीदेखि संविधानसभा सदस्य बन्दासम्मको अनुभव समेटेर  ‘कमलरीदेखि सभासदसम्म’ पुस्तक लेखिन् । थारु समुदायको वर्षाैंदेखिको ‘दासता’ उन्मूलनमा आम नेपालीको समर्थन जुटाइन् । हुन त त्यसअगाडि पनि कुरा नउठेको होइन । नलेखिएको होइन । आन्दोलन नचर्केको होइन । तर उनको आत्मकथापछि नै सबै नेपालीले ‘कमलरीको समस्या’ नजिकबाट नियालेका हुन् ।

पुस्तक बजारमा आएपछि शान्ताको संघर्षशील जीवन खुल्ला किताब बन्यो । सबैले सेलिब्रेटी सभासद भन्न थाले । विभिन्न कार्यक्रमबाट निम्ता आउन थाल्यो । सामाजिक सञ्जालमा उनको खोजी बढ्यो । मिडियामा उनका थुप्रै ‘स्टोरी’ बने । जसबाट शान्ता चौधरी आज पनि ‘सेलिब्रेटी सांसद’ बनिरहन सफल भएकी छिन् ।
कमलरीबाट सभासद हुँदै अहिले पनि सांसद रहेकी शान्ता चौधरीले कमलरीको समस्या झेलिन् । नजिकबाट भोगिन् । जमिनदारको ‘दास’ बनिन् । पढ्नबाट बञ्चित भइन् । त्यसको परिणामस्वरुप शान्तालाई कमलरीबाट विद्रोही बनायो । राजनीतिको बाटोमा हिँडायो । आज देशको नीति निर्माण तहको एक साक्षीका रुपमा आम नेपालीका माझमा उभ्यायो ।

यो शान्ता चौधरीको भोगाइ हाे । तर दुःखका साथ भन्नुपर्छ, पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलालीमा अझै पनि कमलरी समस्या यथावत छ । थारु समुदायमाथि पहिलेको जस्तो किनबेच, मोलतोल र दासी व्यवहार नदेखाए पनि कमलरी समस्या समाधान भइसकेको छैन । 

शान्ता चौधरी कमलरीमुक्त सांसद हुन् । तर मुक्त कमलरी नै भए पनि थारु समुदायका धेरै युवा युवती साहु, जमिनदारकहाँ अहिले पनि काम गर्न बाध्य छन् । उनीहरु जीविकाका लागि त्यसरी काम गर्छन् । तर यसले नयाँ पुस्तालाई झस्काउँछ । भावुक बनाउँछ । भक्कानो छाडेर रुन बाध्य गराउँछ । अनि विभिन्न सिर्जनामार्फत पीडा बनेर पोखिन्छ । 

शान्ताको संघर्ष, भूमिकाको ‘भूमिका’ !

यसैको एउटा पर्याय हुन्, भूमिका थारु । जसले आफ्ना पुर्खा र कतिपय साथीहरुले भोगेको कुरा समेटर कविता लेखिन् । एउटा महोत्सवमा वाचन गरिन् । त्यही कविताबाट धेरैको मन जितिन् । कतिलाई भावुक बनाइन् । र आज रंगमञ्चको स्टेज ओगट्न सफल भएकी छन् । 

सर्वनाम थिएटरमा माघ १८ गतेदेखि मञ्चन भइरहेको ‘पिँजडाकी चरी’ नाटकमा भूमिकाले ‘मूख्य भूमिका’मा रहेर अभिनय गरिरहेकी छिन् । यो उनकै लेखन हो । थारु समुदायको पुर्खाको भोगाई हो । 

फ्रान्सेलीको नजरमा परिन् !

तीन वर्षअघि काठमाण्डौमा आयोजित एक कविता महोत्सवमा भूमिकाले ‘कमलरी’ शीर्षकमा कविता वाचन गरेकी थिइन् । उनको कविता र वाचन शैली धेरैले रुचाए । त्योभन्दा बढीे उनको कविताभित्रका ‘मर्मस्पर्शी’ शब्दले मन चसक्क घोच्यो । कमलरीका पीडाले सोच्न बाध्य बनायो । जतिबेला उनी ११ कक्षामा पढ्थिन् ।

उनको त्यो कविता सुनेर केही व्यक्ति भूमिकालाई थारु भाषा र संस्कृतिकी आशालाग्दी युवा कवि भन्न भ्याए । बुवा (कृष्णराज सर्वहारी– लेखक, साहित्यकार र पत्रकार) को साहित्यिक ‘जिन’ देखाएपछि भूमिकाको चर्चा पनि चुलिन थाल्यो । 

त्यसअघिदेखि नै उनी नाटक पनि सिकिरहेकी थिइन् । वरिष्ठ नाट्यकर्मी अशेष मल्लको सर्वनाम थिएटरमा १२ औँ ब्याचको विद्यार्थी बनेकी थिइन् । उनको अभिनय कला र लगनशिलताबाट नाटककार मल्ल पनि प्रभावित थिए ।

ठीक त्यसैबेला फ्रान्सेली युवा नाटककार म्याक्सिम सिसड नेपाल भ्रमणमा थिए । उनी काठमाण्डौमा मल्ललगायत केही नाटककारसँग नजिक रहेर नेपाली थिएटरमा नाटक मञ्चन गर्ने सोच बनाइरहेका थिए । तर कथा भेटिसकेका थिएनन् ।

नयाँ कथाको खोजीमा रहेका म्याक्सिम भूमिकाको कविताबाट प्रभावित भए । सर्वनाम थिएटरमा ‘गेष्ट ट्रेनर’का रुपमा आएका म्याक्सिमलाई नाटककार मल्लले नै भूमिकाको अभिनय शोख र कविताबारे धेरथोर जानकारी गराएका थिए । 

म्याक्सिमले भूमिकासँग थप जिज्ञासा राखेर कम्लहरीका बारेमा सोधखोज गरे । अब्राहम लिंकनले अमेरिकाबाट ‘दास प्रथा’ उन्मुलन गरे पनि नेपालमा कायमै ‘कमलरी प्रथा’बाट म्याक्सिम झस्किए ।  

अनि ‘पिँजडाकी चरी’ बनिन्

पढ्ने रहर मार्नुपर्ने । पढ्छु भन्दा साहुले बाँधेर कुट्ने । आफ्ना सबै चाहनालाई तिलाञ्जली दिएर साहुकै घरमा बन्धक बस्नुपर्ने । एउटा मानिस भए पनि दास सरहकै जीवन बाँच्नुपर्ने । पिँजडाको चरीजस्तै थारु समुदायका कमलरीको पीडाले म्याक्सिम सोच्न बाध्य भए । अनि यसैलाई रंगमञ्चमा उतार्ने निर्णय गरे । नाटकको शीर्षक जुराए, ‘पिँजडाकी चरी’ । 

यति योजना बनाएर फेरि पेरिस फर्केका म्याक्सिम अंग्रेजी नयाँ वर्ष २०१९ मा काठमाण्डौमा पाइला टेकेका हुन् । उनको उद्देश्य विशुद्ध नाटक थियो । नेपाली कथामा नेपाली कलाकारलाई नै रंगमञ्चमा उतारेर आफ्नो खुबी देखाउन चाहन्थे ।

यसका लागि भूमिकालाई मुख्य कलाकार बनाएर उनले सर्वनाममा एक महिना रिहर्सल गराए । नाटकमा ‘सुक्ली’ को पात्रमा देखिने भूमिकालाई मनोज महर्जन, सुनिता बाँडे, पाश्लाक्पा शेर्पाले साथ दिएका छन् । 

उनीहरु जम्मा चार जनाले १२ जनाभन्दा बढी पात्रको भूमिका निर्वाह गर्नुपर्ने चुनौती छ । नाटकभरिमा एक जना अलग–अलग भूमिकाका तीन पटकसम्म देखा पर्छन् । 

पुर्खाको कहालीलाग्दो व्यथा, नयाँ पुस्ताका लागि कथा !

नाटकमा आफ्नै सम्पत्ति हडपेर आफैलाई दास बनाउने जमिनदारको थिचोमिचो सहन बाध्य भूमिकामा देखिएकी भूमिकालाई अहिलेसम्म कमलरीको अनुभव छैन । उनले आफ्ना पुर्खाबाट मात्रै यो कथाव्यथा सुन्दै आएकी छन । तर जब पुर्खाको बाध्यता र पीडा सुन्दै जान्छिन्, उनी आफूलाई सम्हाल्न सक्दिनन् ।

‘म अहिलेसम्म कमलरी बसेकी छैन । कमलरी कस्तो हुन्छ ? भन्ने पनि देखेकी छैन’ ललितकला क्याम्पसमा फाइन आट्र्स विषयमा स्नातक तहमा अध्ययनरत भूमिका भन्छिन्, ‘जब उहाँहरुकोे कथा सुन्छु । पीडाले छाती गह्रुँगो हुन्छ । आफूले नभोगे पनि कमलरीको कथा बोल्ने नाटकमा अभिनय गर्न पाउँदा गर्व गर्छु ।’

भूमिकाले यसबाहेक ‘भुरभुरा रहर’, ‘करोट’, लगायतका नाटकमा पनि अभिनय गरिसकेकी छन् । उनले दुई वर्षअघि सुशील चौधरीले लेखेको नाटक ‘भुरभुरा रहर’बाट औपचारिक अभिनय सुरु गरेकी हुन् । 

भूमिकालाई नाटक लेखक तथा समाजसेवी चौधरीले नै नाटकमा अभिनय गर्न प्रेरित गरेका हुन् । 

‘१२ कक्षा पढ्दै थिएँ । सुशील अंकलले पहिलो पटक नाटक खेल्न सुझाउनुभयो । थारु समुदायकै परिवेशको नाटक खेल्न उहाँले भनेपछि नाइँ भन्न सकिनँ । स्कुल छुट्टी भएपछि दैनिक सर्वनाममा नाटक सिक्न थालेँ । त्यतिबेला सोचेकी थिइनँ, म पनि नाटकमा अभिनय गर्न सक्छु भनेर’, आफ्नो रंगमञ्च यात्रा यसरी सुनाइन् भूमिकाले ।

एउटा नाटक खेलेपछि सर्वनामकै विद्यार्थी भएर नाटक सिकेकी भूमिकाले म्याक्सिमसँग भेट्ने अवसर प्राप्त गरेकी हुन् । भूमिकाका लागि नाटककार अशेष मल्लले अभिभावकीय भूमिका देखाए । जसकारण फ्रान्सको प्रसिद्ध थिएटर डेलाका प्रमुख म्याक्सिमले आफ्नो नाटकको लिड रोलमा भूमिकालाई रोजे । 

थारु समुदायबाट रंगमञ्चमा बामे सर्दै गरेकी भूमिकाको ‘भूमिका’ चर्चायोग्य छ । तर उनको गन्तव्य भने निश्चित छैन । रुचि नाटकमै भए पनि आफूलाई केही फरक र चुनौतीपूर्ण काममा चिनाउने रहर पालेकी भूमिका सधै नयाँ तर फरक काम गर्ने बताउँछिन् ।

‘म नाटककार नै बन्छु । तर एउटा कलाकार मात्रै बन्ने मेरो अन्तिम उद्देश्य होइन’, थारु समुदायको संस्कृति संरक्षण र पहिचानमा कटिबद्ध भूमिका अगाडि भन्छिन्, ‘हेरौँ समयले कता डो¥याउँछ ?’

अन्तिम अपडेट: भदौ २८, २०७६

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। 

तपाईको प्रतिक्रिया