ग्याल्पो ल्होसारको अवसरमा हिमाल आरोहीलाई सम्मान गरिने

 फागुन ४, २०७५ शनिबार १४:३९:१० | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा — हिमालयन शेर्पा सांस्कृतिक केन्द्र संखुवासभाले २१४६ औं ग्याल्पो ल्होसारको अवसरमा हिमाल आरोहीहरुलाई सम्मान गर्ने भएका छन् ।

शनिबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गर्दै सांस्कृतिक केन्द्रका अध्यक्ष मिगुर शेर्पाले संखुवासभा जिल्लामा जन्मिएर हिमाल आरोहणमा ख्याति कमाउनु भएका मिङ्मा शेर्पा, डोमा शेर्पा र दिकी शेर्पालाई सम्मान गर्ने जानकारी दिनुभयो । 

उहाँका अनुसार, मिङ्माले विश्वका ८ हजार मिटरमाथिका सबै हिमाल आरोहण गरिसकेका छन् भने शेर्पा जातिको महिला पत्रकार डोमाले सगरमाथा आरोहण गरेकी छिन् । 

त्यसैगरी सगरमाथा आरोहण गर्न सफल भएकी दिकी शेर्पालाई समेत सम्मान गर्न लागिएको हो ।

यहि ७ गते मंगलबार सदरमुकाम खाँदबारीमा नै आयोजना हुने कार्यक्रममा शेर्पा जातिको साँस्कृतिक स्याब्रु नृत्य स्थानीय तहको पालिकास्तरीय प्रतियोगिता समेत हुनेछ । 

जसमा प्रथम पुरस्कार २० हजार र प्रमाणपत्र, दोस्रो १५ हजार र प्रमाणपत्र र तेस्रो पुरस्कार १० हजार प्रमाणपत्र र सान्त्वना  ५ हजार रहेको छ । 

साथै कार्यक्रमा चर्चित गायक मिङ्मा शेर्पा, नेपाली तारा सन्तोष लामा, उमङ्ग लामा, संखुवासभा आइडल आवाज शेर्पा लगायतले विभिन्न गीतहरु समेत गाउने आयोजकले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत ३, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया