तीव्रगतिकाे रेल 'वन्दे भारत एक्सप्रेस': मोदीले देखाए हरियाे झण्डा, बीचमै रोकियो रेल

 फागुन ४, २०७५ शनिबार १६:३:३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एउटा तीव्रगतिकाे रेलको उद्घाटन गरे । तर शनिबार त्यो रेल बीच बाटाेमै अलपत्र पर्‍याे ।

मोदी सरकारले १ सय ३० किलोमिटर प्रति घण्टाको गतिमा चल्ने वन्दे भारत एक्सप्रेस (टी–१८) लाई आफ्नो सबैभन्दा ठूलो उपलब्धि ठानेकाे थियाे । तर सबैभन्दा छिटो चल्ने मानिएको वन्दे भारत एक्सप्रेसले आफ्नो पहिलो ट्रिपमा नै रोकिनु पर्यो ।

उत्तर प्रदेशको टुंडला नजिकै रेललाई इमर्जेन्सीमा रोक्नु परेको हो । रेलवे अधिकारीका अनुसार रेलको ट्र्याकमा जंगली जनावर आएका कारण ट्रेनलाई रोक्नुपरेको हो । रेल वाराणसीबाट राति फर्किँदै गर्दा बीच बाटोमा जंगली जनावर आयो जसले गर्दा बिहान ५ ३० बजे टुँडलाबाट १८ किलोमिटरको दूरीमा रेललाई रोक्नुपरेको हो ।

वन्दे भारत एक्सप्रेस नयाँ दिल्ली र वाराणसीको बीचमा सोमबार र बिहीबार बाहेक हप्तामा पाँच दिन चल्नेछ । यसको उद्घाटन प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार अर्थात फेब्रुअरी १५ मा हरियो झण्डा देखाएर गरेका थिए । 

वन्दे भारत एक्सप्रेस १७ फेब्रुअरीबाट नियमित चल्नेछ । यो ट्रेन नयाँ दिल्ली रेलवे स्टेसनबाट बिहान ६ बजे छुटेर वाराणासीमा दिउँसोको दुई बजे पुग्नेछ । र वाराणासीबाट दिउँसोको तीन बजे हिँडेर दिल्लीमा राति ११ बजे पुग्नेछ ।

रेल बीचमा कानपुर र इलाहबाद(प्रयागराज) मा रोकिनेछ । वन्दे भारत एक्सप्रेसको दिल्लीबाट वनारससम्मको सामान्य भाडादर १७ सय ६० भारतीय रुपैयाँ छ भने विशिष्ट भाडादर ३ हजार ३ सय १० भारतीय रुपैयाँ छ ।

याे रेललाई विदेशबाट खरिद गरिएको नभइ पूर्णतया भारतमा निर्माण गरिएको भारतकै पहिलो ‘सेमी हाई स्पीड ट्रेन’ हो । यसलाई भारत सरकारको ‘मेक इन इण्डिया प्रोजेक्ट’ अन्तर्गत निर्माण गरिएको कारण नै यसको नाम ट्रेन १८ राखिएको हो । यसलाई इन्टिग्रेल कोच फ्याक्ट्री (आईएससीएफ) चेन्नईले १८ महिना लगाएर यसको डिजाइन तयार पारेको थियो । 


 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया