माघ महिनामा सरकारले बाँड्यो डेढ करोड, अख्तियारका कर्मचारीलाई ५ करोड प्रोत्साहन भत्ता

 फागुन ५, २०७५ आइतबार १३:३३:४५ | उज्यालो सहकर्मी

काठमाण्डौ – सरकारले माघ महिनामा विभिन्न व्यक्तिको उपचार खर्च, सहायता र वैदेशिक भ्रमणमा डेढ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले विभिन्न मन्त्रीको विदेश भ्रमण, उपचार गराइरहेका व्यक्तिको खर्च र आर्थिक सहायताको नाममा माघ महिनामा मात्रै १ करोड ५४ लाख २१ हजार रुपैयाँ वितरण गरेको अर्थ मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार नेकपाका कार्यकर्तासँगको झडपमा गोली लागि ज्यान गुमाएका सर्लाहीका रामविलास महतोको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिएको छ । यस्तै पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचारको लागि २ लाख रुपैयाँ दिइएको छ । 

यस्तै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणको लागि २६ लाख ४१ हजार, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको यूएई भ्रमणको लागि ५ लाख ५६ हजार,  अर्थ मन्त्रालयका कर्मचारीको विदेश भ्रमणमा ३७ लाख ५ हजार, खेलकुदमन्त्री जगत विश्वकर्माको भारत भ्रमणको लागि १ लाख ९० हजार र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको भारत भ्रमणको लागि २ लाख ४२ हजार रुपैयाँ दिइएको छ । 

अर्थ मन्त्रालयका अनुसार गुल्मीका थानेश्वर ज्ञवाली र उदयपुरका खड्क आलेलाई उपचार खर्चको  लागि जनही ५ लाख रुपैयाँ दिइएको छ । यस्तै मदनमणि दीक्षितलाई ७ लाख रुपैयाँ उपचार सहयोग दिइएको छ ।

९ अर्ब ३२ करोड ९७ लाख रुपैयाँ रकमान्तर

सरकारले माघ महिनामा ९ अर्ब रुपैयाँभन्दा धेरै रकमान्तर गरेको छ । सरकारले एउटा प्रयोजनको लागि छुट्याइएको रकम अर्कै प्रयोजनको लागि खर्च गर्न ९ अर्ब २९ करोड ४० लाख रुपैयाँ रकमान्तर गरेको हो । 

अर्थ मन्त्रालयका अनुसार दक्षिण एसियाली पर्यटन विकास पूर्वाधार आयोजनाको शेयरको लागि ४ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । 

यस्तै मध्यपहाडी लोकमार्गको लागि थप २ अर्ब रुपैयाँ छुट्याइएको छ । गोरखकाली रबर उद्योगमा ऋण लगानीका लागि ३० करोड रुपैयाँ दिइएको छ । नेपाल प्रहरीको लागि कार्गेड मोटरसाइकल खरिदको लागि १३ करोड ९७ लाख रुपैयाँ रकमान्तर गरिएको छ ।

यस्तै भरतपुर–रामपुर–मेघौली सडकको लागि ५ करोड ७७ लाख रुपैयाँ रकमान्तर गरिएको छ । यस्तै कालिगण्डकी करिडोरको लागि थप ३५ करोड रुपैयाँ, बागमती सुधार आयोजनाको लागि १८ करोड,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीलाई प्रोत्साहन भत्ताको लागि ५ करोड रुपैयाँ रकमान्तर गरिएको छ ।

मैलुङ–स्याप्रुवेसी– रसुवागढी सडकको मुआब्जाको लागि ५० करोड, हुलाकी राजमार्गका पूल बनाउन ५० करोड, भैपरी आउने विकास कार्यक्रमको लागि १ अर्ब रुपैयाँ रकमान्तर गरिएको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया