फेरि सुरु हुने भयो पलेँटी

 फागुन ६, २०७५ सोमबार १६:४६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालयले सञ्चालन गर्दै आएको लघु–सांगीतिक कार्यक्रम‘पलेँटी शृंखला’ फेब्रुअरी महिनादेखि सुरु हुने भएको छ ।

लामो अन्तरालपछि सुरु हुनथालेको पलेँटीको आन्तरिक तयारी पूरा भइसकेको जानकारी  नेपालयले गराएको छ ।

सन् २००५ बाट थालिएको पलेँटीको मञ्चमा नेपाली आधुनिक गीत, संगीत क्षेत्रका अधिकांश  सर्जकहरू प्रस्तुत भइसकेका छन् । पलेँटीले नेपाली आधुनिक संगीतमा चर्चित र लोकप्रिय रहेर पनि दर्शक, श्रोतासामु एकल प्रस्तुति गर्ने मौका नजुरेका र ओझेलमा रहेका कलाकारहरूलाई प्रस्तुत गर्दै आएको छ ।

अंग्रेजी महिनाको अन्तिम शुक्रबार एक दिन मात्र हुने गरेको पलेँटी कार्यक्रम यसपटक भने महिनाको अन्तिम सप्तान्त– शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन र त्यसपछिका महिनामा दर्शकको प्रतिक्रिया र चासोको आधारमा एक हप्तासम्म आयोजना गर्ने योजना रहेको कुरा नेपालयले जानकारी गराएको छ ।  

‘लामै ग्यापपछि पलेँटी थालिँदै छ । साँच्चैभन्दा जुन कलाकारहरूलाई ध्यानमा राखेर पलेँटी सुरु गरिएको थियो, ती कलाकारहरू प्रायः सबै पलेँटीमा समावेश भइसकेका छन् । यही क्रममा पलेँटी सांगीतिक कार्यक्रम मात्र नरही, कला संगीतका पारखीको भेट्ने बाहना र थलोको रुपमा पनि स्थापित हुँदै गयो । त्यसैले हामीले उहाँहरूकै आग्रहमा पलेँटीको प्रस्तुतिकरणलाई परिमार्जित गरी पुनः सुरु गर्न लागेका हौँ’, पलेँटी संयोजक आभासले भने ।

आउँदो शुक्रबार सुरु हुने यसपालीको पलेँटी महिला गायनमा आधारित हुने भएको छ । त्यसैले यो पलेँटी नेपाली आधुनिक संगीतमा महिला कलाकारको योगदानमा केन्द्रित हुनेछ । कार्यक्रममा नेपाली आधुनिक संगीतमा महिला कलाकारहरूको विगत र वर्तमानको चर्चा गर्दै गीत प्रस्तुत गरिनेछ ।

यसपल्टको विशेष कार्यक्रममा पलेँटी–चेली तथा अहिलेकी चर्चित गायिका मीना निरौलाले दर्जनभन्दा धेरै नेपाली संगीतका प्रतिनिधि महिला स्रस्टाहरुलाई सम्झनेछिन् । साथै कार्यक्रमलाई सुरुवातदेखि नै सञ्चालन गर्दै आएका संगीतका विद्यार्थी एवं संगीतकर्मी आभासले यस कार्यक्रमसँग मिल्दा सन्दर्भलाई संक्षिप्त वाचन गर्नेछन् । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया