बेगनासको पानी रुपा तालमा झारेर डेढ सय मेगावाट विद्युत निकालिने, कहाँ पुग्यो अध्ययन ?

 फागुन ६, २०७५ सोमबार १७:१७:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उर्जा तथा जलस्रोत तथा मन्त्रालयले पोखराको बेगनास र रुपातालको पानी उपयोग गरी जलाशययुक्त आयोजना बनाएर बिजुली निकाल्नको लागि अध्ययन तीव्र गतिमा भैरहेको जनाएको छ । 

प्रतिनिधिसभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले सरकारले जलाशय र अर्धजलाशययुक्त आयोजनाको कामलाई प्राथमिकता दिएकाले बेगनासबाट बिजुली निकाल्ने आयोजनालाई पनि महत्व दिएको जानकारी दिनुभयो । 

बेलुका बेगनासको पानी रुपामा, दिउँसो रुपाको पानी बेगनासमा

बेगनास तालको पानीलाई पम्प स्टोरेज प्रणालीबाट बिजुली निकाल्नको लागि अहिले नेपाल विद्युत प्राधिकरणले अध्ययन गरिरहेको छ । २०७४ सालको कात्तिकमा विद्युत विकास विभागबाट नेपाल विद्युत प्राधिकरणले सर्भे लाइसेन्स प्राप्त गरिसकेपछि  १ सय ५० मेगावाट क्षमताको पम्प स्टोरेज परियोजनाको अध्ययन भैरहेको छ । 

प्राधिकरणले बेलुकीको समयमा बेगनासको पानी रुपामा झारेर दैनिक झण्डै ४ घन्टा १  सय ५० मेगावाट बिजुली निकाल्ने योजना बनाएको छ । विशेषगरी साँझको समयमा बिजुलीको अत्याधिक माग हुने भएकाले त्यो समयमा बेगनासको पानीबाट बिजुली निकाल्ने प्राधिकरणको योजना छ । 

‘बेलुकी बेगनासको पानी बिजुली निकाल्नको लागि रुपामा झारिन्छ, दिउँसो भने रुपामा जम्मा भएको पानी फेरि बेगनासमै फर्काउने योजना छ’, मन्त्री पुनले भन्नुभयो । 

नदीको बहावमा आधारित जलविद्युत आयोजनाबाट बर्खामा मनग्य बिजुली उत्पादन हुने तर हिउँदमा भने क्षमताको आधा पनि बिजुली उत्पादन नहुँदा समस्या हुँदै आएको छ । अहिले नदीको बहाव अर्थात रन अफ् द रिभर प्रणालीबाट बर्खामा ११ सय मेगावाट बिजुली उत्पादन भए पनि हिउँदमा ५ सय मेगावाटको हाराहारीमा मात्रै बिजुली उत्पादन हुन्छ ।   हिउँदको सयममा बिजुलीको माग १२ सय मेगावाटसम्म पुग्ने गरेको छ । 

अहिले कुलेखानी ६० मेगावाटको कुलेखानी जलविद्युत आयोजना मात्रै जलाशययुक्त आयोजनाको रुपमा रहेको छ । अब जलाशय र अर्धजलाशययुक्त आयोजनालाई महत्व दिने उर्जा मन्त्रालयले जनाएको छ । 

बेगनासमा बिजुली निकाल्न काम के भैरहेको छ ?

बेगनासको पानी रुपामा झारेर बिजुली निकाल्नको लागि अहिले अध्ययन भैरहेको छ । अहिले आयोजनाको सम्भाव्यता अध्ययनको काम भैरहेको छ । सम्भाव्यता अध्ययनको क्रममा अहिलेसम्म विस्तृत टोपोग्राफिकल अध्ययन सकिएको छ । पानीभित्रको सर्भे जारी छ । यस्तै हाइड्रोजोजिकल अध्ययन पनि भैरहेको छ ।

यस्तै भौगर्भिक अवस्था पत्ता लगाउन पानीमुनि खन्ने काम सकिएको छ । सिभिल डिजाइन र समीक्षाको काम भैरहेको छ । जियो टेक्निकल अनुसन्धान अन्तरगतको अध्ययन पनि भैरहेको मन्त्रालयले जनाएको छ । 

बेगनासको पानी रुपामा झारेर बिजुली निकाल्नको लागि वातावरणीय अध्ययनको पनि काम भैरहेको छ । 

आर्थिक वर्ष २०७६/७७ सम्ममा अध्ययन सम्पन्न गरेर आवश्यक लगानी जुटाउने, र यो आयोजना अघि बढाउने गरी प्राधिकरणले काम गरिरहेको छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया