डीपीएल: प्लेअफमा पुग्ने टिमकाे लाग्याे टुंगो

 फागुन ६, २०७५ सोमबार १७:५४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

कैलाली – धनगढी प्रिमियर लिग क्रिकेट डीपीएलको प्लेअफमा पुग्ने टिमको टुंगो लागेको छ । जारी प्रतियोगितामा ६ टिम सहभागी भएकोमा समूह चरणको अन्तिम खेल अगावै काठमाण्डाै र सीवाईसी अत्तरिया प्लेअफमा पुगेका छन्  ।

चार टिमले पाँच खेल खेल्दा शीर्ष स्थानमा रहेको काठमाण्डाै गोल्डेन्स र दोस्रो स्थानमा रहेको सीवाईसी अत्तरियाले मंगलबार समूह चरणको अन्तिम खेल खेल्दैछन् ।

यो खेलको नतिजाले तालिकाको शीर्ष स्थानमा प्रभाव पारे पनि प्लेअफ समीकरणमा भने प्रभाव पार्ने छैन । यी दुई टिम नै प्ले अफमा खेल्नेछन् । प्लेअफमा विजयी हुने टिम फाइनलमा पुग्ने छ ।

तर पराजित हुने टिमले तेस्रो र चौथो स्थानकाबीच इलिमिनेटरमा विजयी हुनेसँग फाइनल प्रवेश गर्न प्रतिस्पर्धा गर्नुपर्ने छ । इलिमिनेटर राउण्डमा रुपन्देही र महेन्द्रनगरले प्रतिस्पर्धा गर्नेछन् । अहिले काठमाण्डाै ७ अंकसहित शीर्ष स्थानमा रहेको छ भने दोस्रो स्थानमा रहेको अत्तरियाको ६ अंक छ ।

समान ६ अंक भए पनि रनरेटमा पछि पर्दै रुपन्देहीको तेस्रो तथा महेन्द्रनगर ४ अंकका साथ चौथो स्थानमा रहेको छ । समूह चरणको अन्तिम खेलमा अत्तरियासँग विराटनगर पराजित भएपछि रनरेटमा अघि रहँदै महेन्द्रनगर सुपर फोरमा पुगेको हो ।

पाँचौं स्थानमा रहेको विराटनगरले जारी प्रतियोगितामा एक खेलमा जित निकाल्दा मौसमका कारण दुई खेलमा अंक बाँड्नु परेको थियो । यस्तै लगातार दुई संस्करण जितेको धनगढी भने यस पटक समूह चरणमा एक खेलमा पनि जित निकाल्न सकेन ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया