विप्लव नेतृत्वका नेकपा कार्यकर्ताद्वारा प्रहरीमाथि आक्रमण

 बैशाख ३१, २०७५ सोमबार १४:५२:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

डोल्पा, वैशाख ३१ – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ताहरुले प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरेका छन् ।

उनीहरुले नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेकपा डोल्पाका कार्यकर्तालाई लैजान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी सोमबार छुटाएर लगेका हुन् । 

नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत पर्ने त्रिपुराकोट बगरबजारबाट डोल्पा मुड्केचुला गाउँपालिका–९, घर भएका नेकपाका जिल्ला सदस्य सागर शाहीलाई त्रिपुराकोट प्रहरीले पक्राउ गरेर राखेको थियो । 

सोमबार बिहानै त्रिपुराकोट प्रहरी चौकीबाट स्कर्टिङ गरेर सदस्य शाहीलाई जिल्ला प्रहरी कार्यालय दुनैतर्फ लगिंदै थियो । यसै क्रममा ठूलीभेरी नगरपालिका–९, अन्तर्गत पर्ने भेत्तिडाँडोमा नेकपाका जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वमा आएको पाँचजनाको समूहले प्रहरी हवल्दार धनसिं कठायत र प्रहरी जवान जयलाल बस्नेतमाथि आक्रमण गरी छुटाएर लगेको प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले बताउनुभयो ।

आक्रमणबाट प्रहरी हवल्दार कठायत र प्रहरी जवान बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ । 

आक्रमणकारीलाइ छिटोभन्दा छिटो पक्राउ गर्नका लागि त्रिपुराकोट जुफाल, कालागौडा र दुनैबाट ३५ प्रहरी परिचालन गरिएको पनि प्रहरी नायव उपरीक्षक शर्माले जानकारी दिनुभयो ।

बन्दका क्रममा पक्राउ परेका सागर शाहीसहित विवश शाही र दिनेश सिंहलाई भने प्रहरीले आइतबार साँझ नै छोडिसकेको थियो ।
 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया