चर्काचर्की बैठकपछि अर्थमन्त्रीले भने : अहिल्यै उग्र नबनौँ, ब्याजदर घट्छ

 फागुन ६, २०७५ सोमबार १८:४४:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बैंकहरुले बिस्तारै ब्याजदर घटाउँदै लैजाउने बताउनुभएको छ ।

बैंकर्स, राष्ट्र बैंक र उद्योगी व्यापारीबीच अर्थ मन्त्रालयमा भएको छलफलमा तनाव उत्पन्न भएपछि अर्थमन्त्री खतिवडाले कोही पनि आवेगमा आएर समस्या समाधान नहुने र सबैकुरा छलफलबाटै समाधान हुने बताउनुभएको हो । 

उहाँले बैंकहरुले आफू मात्रै मोटाउने गरी ब्याजदर बढाउन नहुने र उद्योगी व्यापारीले पनि आफूले चाहेअनुसार ब्याजदर घटाउनुपर्ने अडान छाड्नुपर्ने बताउनुभएको हो । ‘विशेषगरी बैंकरहरु ब्याजदरमा गम्भीर हुनुप¥यो, कोही पनि उग्र बनेर काम छैन, यसलाई जति लम्बायौँ, उति समस्या बढ्दै जान्छ’, अर्थमन्त्रीलाई उद्धृत गर्दै एक व्यापारीले उज्यालोलाई जानकारी दिए । 

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भैरहेकाले बैठकपछि ब्याजदरको बारेमा ठोस निर्णय आउने अपेक्षा रहेको उद्योगी व्यापारीले बताएका छन् । छलफलमा नेपाल बैंकर्स संघका अध्यक्ष निक्षेपको ब्याज घटिरहेको र कर्जाको पनि ब्याज बिस्तारै घट्ने बताउनुभएको थियो । 

व्यापारी र बैंकर्सबीच झण्डै हात हालाहाल

यसअघि बैंकहरुले ब्याजदर घटाउने कि नघटाउने भन्ने विषयमा बैंकर्स र उद्योगी व्यापारीबीच अर्थ मन्त्रालयमै चर्काचर्की भएको थियो । 

अर्थमन्त्री डाक्टर युवराज खतिवडा, गभर्नर चिरिञ्जीवी नेपालसहित मन्त्रालयमा भएको छलफलमा बैंकर्सले उद्योगी व्यापारीलाई स्वार्थको आधारमा ब्यादर घटाउन भनेको आरोप लगाएपछि व्यापारीले त्यसको विरोध गरेका थिए । 

अर्थसचिव राजन खनालले स्थिति शान्त बनाएपछि भएको छलफलमा ब्याजदर घटाउन सकिने ठाउँमा सोच्न सकिने बैंकर्सले प्रतिवद्धता जनाएको मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले जानकारी दिनुभयो ।

‘उहाँहरुले आरोप लगाएपछि हामीले विरोध गर्‍यौँ, उहाँहरु झन उग्र हुनुभयो, झण्डै हात हाहालको स्थिति आयो, तर अर्थसचिवज्यूले वातावरण शान्त बनाउनुभयो’, शारडाले उज्यालो अनलाइनसँग भन्नुभयो । 

बैंकहरुले चर्को ब्याजदर नघटाउँदा उद्योग व्यापारमा समस्या परेको भन्दै उद्योगी व्यापारी आन्दोलनमा छन् । उनीहरुले गएको शनिबार प्रधानमन्त्रीसँग पनि छलफल गरेका थिए । छलफलमा प्रधानमन्त्री ओलीले तत्कालै ब्याजदर घटाउन अर्थमन्त्री र गभर्नर चिरिञ्जिवी नेपाललाई  निर्देशन दिँदै ब्याजदर नघटे आफूले हस्तक्षेप गर्ने चेतावनी दिनुभएको थियो ।

उद्योगी व्यापारीले ब्याजदर घटाउन माग गर्दै आन्दोलन गरे पनि बैंकरहरुले भने अहिले ब्याजदर घटाउन सक्ने अवस्था नरहेको बताउँदै आएका छन् ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया